
पशुपतिनाथ एवं शैव धर्मका विविध आयामलाई समेटेर ‘पाशुपत विश्वकोश’ पुस्तक सार्वजनिक गरिएको छ।
हनुमानढोका दरबार संग्रहालय विकास समितिले सोमबार आयोजना गरेको पुस्तक विमोचन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली र पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानांगलगायतले पुस्तक विमोचन गरेका हुन्। प्रा.डा. सोमप्रसाद खतिवडा र डा. प्रदीप ढकालले लेखेको पुस्तक मकालु ग्रुप अफ कम्पनी प्रालिले प्रकाशन गरेको हो।
पुस्तक विमोचन समारोहमा सचिव मैनालीले विश्वका वैदिक सनातनी हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ र यसवरपरका तीर्थस्थलका बारेमा समेटेर पुस्तक प्रकाशन भएकाले यसको अध्ययनबाट सबै लाभान्वित हुने बताए। पशुपति क्षेत्रप्रति भारतलगायत विश्वभर रहेका हिन्दु धर्मावलम्बीको चासो भएकाले यस्ता कृतिले अध्ययन अनुसन्धानका लागि सहयोग गर्ने उनको भनाइ छ।
विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी, धर्म, संस्कृतिका क्षेत्रमा काम गर्नेका लागि पुस्तक उपयोगी रहेको सचिव मैनालीले बताए। पुरातत्व विभागका महानिर्देशक प्रधानांगले शैव धर्मसँग सम्बन्धित विभिन्न विषय पुस्तकमा समावेश गरिएको जानकारी दिए। आगामी दिनमा धर्म, संस्कृतिका क्षेत्रमा अध्ययन, अनुसन्धान गर्न चाहनेका लागि पुस्तक उपयोगी हुने उनको भनाइ थियो।
पुस्तकका लेखक प्रा.डा. खतिवडाले यसअघि लेखिएका नेपाली संस्कृति विश्वकोश र बौद्ध विश्वकोशपछि पाशुपत विश्वकोश लेख्ने प्रेरणा मिलेको बताए। पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा. प्रदीप ढकालको अग्रसरतामा पुस्तक तयार पारिएको उनले बताए।
हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख काजीमान प्याकुरेलले पशुपति क्षेत्र र शैव धर्मसँग सम्बन्धित विषयमा तस्बिरसहित आएको पाशुपत विश्वकोश धर्म, संस्कृति क्षेत्रका अनुसन्धाताका लागि उपयोगी हुने भनाइ राखे।