
दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति ली जे म्युङले आफ्नो विदेश नीतिलाई ‘व्यावहारिक’ बताउने गर्छन् । आफ्नो विदेश नीति विचारधाराभन्दा देशको हितबाट प्रेरित हुने लीको दाबी छ । उनले चीन र उत्तर कोरियासँग सम्बन्ध सुधार गर्ने इच्छा जाहेर गरेका छन् । जबकि, लीका पूर्ववर्ती युन सुक येओलको कार्यकालमा यी देशसँगको सम्बन्ध तनावपूर्ण थियो । युनले उत्तर कोरियाप्रति टकरावपूर्ण अडान लिएका थिए भने बेइजिङ–वासिङ्टनबिचको संघर्षमा खुला रूपमा वासिङ्टनको पक्ष लिएका थिए । लीले युनभन्दा फरक मार्ग अपनाउने बताएका छन् । तर, फरक मार्ग अपनाउँदा लीको सरकार र ट्रम्प प्रशासनबिच तनाव निम्तिनेछ ।
चुनावी अभियानमा लीले अमेरिका र दक्षिण कोरियाबिचको दशकौँ पुरानो सैन्य गठबन्धनप्रति पटक–पटक प्रतिबद्धता व्यक्त गरेका थिए । तथापि, उनले आफ्नो नेतृत्वमा वासिङ्टनसँगको सम्बन्धमा केही पुनः सन्तुलन हुने संकेत गरेका छन् । दक्षिण कोरियाले अमेरिकामा मात्र भरपर्न नहुनेमा उनको जोड छ । जे–म्युङको यस धारणामा दक्षिण कोरियाका उदार राजनीतिज्ञको आधारभूत विश्वास झल्किन्छ ।
अमेरिकासँगको सम्बन्धको महत्वलाई स्वीकार गर्दै उनीहरू चीनजस्ता अन्य क्षेत्रीय शक्तिसँग थप सन्तुलित सम्बन्ध चाहन्छन् । दक्षिण कोरिया–अमेरिकाबिचको वर्तमान गठबन्धनभित्रै रहेर चीन र दक्षिण कोरियाबिच अहिलेभन्दा घनिष्ठ सम्बन्ध बन्न सक्ने लीले बताउँदै आएका छन् । तर, वासिङ्टन र बेइजिङ विश्वव्यापी प्रभावको प्रतिस्पर्धामा रहेको समयमा यो नीति सिउलको अमेरिकासँग तनावको प्रस्थानविन्दु बन्ने सम्भावना छ । ट्रम्प प्रशासनले चीनप्रति कठोर दृष्टिकोण अपनाउँदै आफ्ना सहयोगीले पनि उसकै अनुसरण गरून् भन्ने चाहेको देखिन्छ ।
लीले दक्षिण कोरियालाई अमेरिका र चीनबिच एउटालाई मात्र छान्न बाध्य पार्न नहुने बताएका छन् । ‘सबै अन्डालाई एउटै टोकरीमा राख्नु नहुने’ भन्दै लीले चीन–अमेरिकाबिच ताइवान वा दक्षिण चीन सागरको विषयमा हुन सक्ने द्वन्द्वमा आफूलाई तान्ने वासिङ्टनको प्रयासको प्रतिरोध गर्ने संकेत गरेका छन् । यसका लागि लीको सरकारले दुई महाशक्ति राष्ट्रबिच नाजुक सन्तुलन कायम गर्नुपर्ने देखिन्छ । ट्रम्पले पहिल्यैदेखि दक्षिण कोरियाली भूमिमा तैनाथ अमेरिकी सेनाका लागि निकै कम रकम खर्चिने गरेको भनेर आलोचना गर्दै आएका छन् । पछिल्लो समय ट्रम्पले दक्षिण कोरियाबाट करिब ४,५०० अमेरिकी सेना फिर्ता लिने विचार गरिरहेको समाचार पनि आएको थियो ।
लीले चीनसँगको सम्बन्धमा युनभन्दा फरक मार्ग अपनाउने बताएकाले उनको सरकार र ट्रम्प प्रशासनबिच तनाव निम्त्याउन सक्छ
विदेश नीति सम्बन्धमा लीको अर्को मुद्दा उत्तर कोरियाली खतरालाई कसरी सम्बोधन गर्ने भन्ने हुनेछ । पूर्ववर्ती युनको सरकारले उत्तर कोरियासँग वार्तालाई बेवास्ता गर्यो । साथै, तत्कालीन सरकारले सीमाक्षेत्रबाट उत्तर कोरियाभित्र बाहिरका सूचना तथा जानकारी फैलाउन प्रोत्साहित गरेको थियो । विगत एक दशकको अवधिमा उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र क्षमतामा उल्लेख्य प्रगति गरेको छ । यसको प्रतिक्रियामा सिउलले पनि आफ्नो अलग आणविक हतियार कार्यक्रम विकास गर्नुपर्ने धारणा दक्षिण कोरियामा बलियो बन्दै गएको छ ।
जुन ४ मा शपथग्रहणपछि मन्तव्य दिने क्रममा लीले उत्तर कोरियाली आक्रामकतालाई ‘बलियो प्रतिरोध’साथ सामना गर्ने बताएका थिए । प्रतिरोध भनेर उनको संकेत अमेरिकासँगको सैन्य गठबन्धनतर्फ थियो । साथमा उनले वार्ता र सहकार्यमार्फत शान्ति स्थापना गर्न उत्तर कोरियासँग सञ्चारका च्यानल पुनः खोल्नुपर्ने आवश्यकताबारे पनि चर्चा गर्दै उनले भनेका थिए— ‘शान्ति सधैँ युद्धभन्दा सस्तो हुन्छ ।’
उत्तरसँग पुनः कूटनीति सुरु गर्ने संकेत गर्दै लीले पूर्वएकीकरण मन्त्री ली जोङ–सिओकलाई राष्ट्रिय गुप्तचर सेवाको प्रमुखमा मनोनीत गरेका छन् । जोङ–सिओक सन् २००३ र २००८ बिच रोह मु–ह्युन राष्ट्रपति हुँदा उत्तर कोरियाप्रतिको दक्षिण कोरियाको नीतिका शिल्पकार थिए । यद्यपि, हालैका वर्षमा भूराजनीतिक परिदृश्य परिवर्तन भएको बिर्सिनुहुँदैन ।
जनवरी २०२४ मा, उत्तर कोरियाली नेता किम जोङ–उनले दक्षिण कोरियालाई ‘शत्रु’ राष्ट्र घोषणा गर्दै पुनर्मिलनका लागि सहकार्य नगर्ने बताएका थिए । त्यसवेलादेखि उत्तर कोरियाले दक्षिणसँगका सबै सम्पर्कसेतु बन्द गरेको छ । उत्तर कोरियाको विषयमा ट्रम्प प्रशासन र ली सरकारबिच केही उद्देश्य मिल्न सक्छ । ट्रम्पले उत्तरसँग पुनः वार्ता सुरु गर्न खोजिरहेको संकेत दिएका छन् । उनले भावी शिखर सम्मेलन आणविक सम्झौताबारे केन्द्रित हुने बताएका छन् ।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा कुनै उत्तर कोरियाली नेतासँग भेट्ने पहिलो सत्तारूढ अमेरिकी राष्ट्रपति बनेका थिए । यद्यपि, ट्रम्प र उत्तर कोरियाली नेताबिचको भेटवार्ताले आणविक कार्यक्रमलाई रोक्न सकेन । र, यसपटक किम जोङ–उन ट्रम्पसँग वार्तामा संलग्न हुन त्यति उत्साहित दैखिँदैनन् । उत्तर कोरियाले हालैका वर्षमा रुससँग घनिष्ठ साझेदारी निर्माण गरेको छ । यसै साझेदारीअनुरूप उसले युक्रेनविरुद्ध लड्न रुसमा सेना पठायो । रुससँगको मित्रताका कारण उसलाई अमेरिका वा दक्षिण कोरियासँगको संलग्नता आवश्यक नलाग्न सक्छ । प्योङयाङ अहिले रुसको सहयोगमा सैन्य प्रविधिमा उल्लेखनीय प्रगति गर्ने कुरामा जोड दिन थालेको छ ।
लीको सरकारले धेरै चुनौतीपूर्ण अन्तर्राष्ट्रिय वातावरणको सामना गर्नुपर्ने हुन्छ । उत्तर कोरिया थप आक्रामक बन्दै गएको छ । अमेरिकी सुरक्षा ग्यारेन्टी कमजोर हुँदै गइरहेको छ । र, चीनलाई नियन्त्रण गर्ने गरी बन्ने क्षेत्रीय सैन्य सञ्जालमा दक्षिण कोरियालाई तान्ने ट्रम्पको प्रयासको प्रतिरोध गर्नुपर्नेछ । उनको सरकारले यी सबै चुनौतीलाई कसरी सामना गर्नेछ भन्ने कुरा आगामी महिना र वर्षमा स्पष्ट हुनेछ ।
(ब्लुथ ब्राडफोर्ड विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध र सुरक्षा विषयका प्राध्यापक हुन्) द कन्भरसेसनबाट