
सन् १९१३: महिलाको मताधिकारकी अभियन्ता इमली डेभिडसन आफ्नो माग व्यापक बनाउन घोडादौड खेल भइरहेको ‘रेसकोर्स’मा कुदिन् । दौडमा कुदिरहेको बेलायतका राजा जर्ज पाँचौँको घोडाले ठक्कर दिएपछि उनको निधन भयो । यस घटनापछि महिला मताधिकारको मुद्दाको बहस व्यापक बनेको थियो ।
सन् १६४७: इंग्ल्यान्डमा जारी गृहयुद्धका क्रममा संसदीय फौजले राजा चाल्र्स प्रथमलाई कब्जामा लियो । राजा पक्राउ परेपछि संसदीय र शाही सेनाबिचको युद्ध थप चर्कियो ।
सन् १७८३: जोसेफ र ज्याक मोन्टगोल्फरले पहिलो हट एअर बेलुन उडानको प्रदर्शन गरे । मानवरहित सो बेलुन १० मिनेट उडेर करिब २००० मिटर उचाइमा पुगेको थियो ।
सन् १८७८: अटोमन साम्राज्य (हालको टर्की)ले साइप्रसलाई प्रशासनिक प्रयोजनका निम्ति बेलायतलाई हस्तान्तरण गर्यो । दैनिक प्रशासन बेलायतको भए पनि भूमि अझै टर्कीकै हुने गरी सम्झौता भएको थियो ।
सन् १९१२: अमेरिकामा म्यासाचुसेट राज्य न्यूनतम ज्याला तोक्ने पहिलो राज्य बन्यो ।
सन् १९१९: अमेरिकाको सिनेटले महिलालाई मताधिकार प्रदान गर्न संविधानको १९औँ संशोधन पारित गर्यो । आवश्यक (३६) राज्यद्वारा अनुमोदन भएपछि अर्को वर्ष अगस्ट १८ मा यो संविधानको हिस्सा बन्यो ।
सन् १९४०: दोस्रो विश्वयुद्धमा फ्रान्समाथि नाजी जर्मनीको कब्जा भएपछि बेलायतले फ्रान्समा रहेका आफ्ना तीन लाख ४० हजार फौजलाई सफतापूर्वक देश फिर्ता गर्यो । यस अभियानलाई इतिहासमा ‘मिराकल अफ डनकिर्क’का नामले चिनिन्छ ।
सन् १९४६: हुवाँ पेरोन अर्जेन्टिनाका राष्ट्रपति बने । पेरोन राष्ट्रपति बनेपछि अर्जेन्टिनामा उदाएको पेरोनवादी राजनीतिक विचारधारा आजको दिनसम्म त्यहाँको राजनीतिमा हाबी छ ।
सन् १९८९: प्रजातन्त्रको माग गर्दै अप्रिल १५ देखि बेइजिङको चर्चित तियानमेन चोकमा प्रदर्शन र धर्ना गरिरहेका प्रदर्शनकारीविरुद्ध चिनियाँ सेनाले कारबाही सुरु गर्यो । कारबाहीका क्रममा सयौँ प्रदर्शनकारी मारिनुका साथै हजारौँ पक्राउ परेका थिए ।
सन् २०२४: नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) आम चुनावमा पहिलो दल भए पनि यसअघिको बहुमत गुमायो ।