
सेयर बजारमा उत्साह बढाउन सरकार र नेपाल राष्ट्र बैंकले लिएको लचिलो नीति प्रभावहीन देखिएको छ । गत साता ११ जेठमा राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत सेयर धितो कर्जाको जोखिमभार घटाएको थियो ।
राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत सेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारेको थियो । यसले सेयर धितोमा कर्जा प्रवाह सहज हुने अपेक्षा गरिएको थियो । समीक्षा सार्वजनिक भएको १२ दिन बित्दा नेप्से परिसूचक ४७.५९ अंकले घटेको छ ।
बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी प्रशस्त भए पनि बजार सुस्त छ । कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ७८.७८ प्रतिशतमा झरेको छ भने मुद्दती निक्षेपमा दिइने औसत ब्याजदर ५.९५ प्रतिशतसम्म पुगेको छ । तर, लगानीका अन्य क्षेत्रहरू चलायमान नहुँदा सेयर बजारले पनि गति लिन सकेको छैन ।
त्यस्तै, आगामी आर्थिक वर्षको बजेटले पुँजी बजारबाट प्राप्त लाभमा लाग्ने आयकर दर यथावत् राखेको छ । १५ जेठमा बजेटमार्फत सरकारले लाभकर यथावत् राखेको थियो । सरकार र राष्ट्र बैंक दुवैबाट सहज नीति आए पनि लगानीकर्तामा आकांक्षा देखिएको छैन । बजार सुस्त हुनुलाई केही विश्लेषकले निष्क्रिय संस्थागत लगानी, कमजोर बजार विश्लेषण प्रणाली, राजनीतिक अन्योल र अर्थतन्त्रमा स्पष्ट पुनरुत्थान नदेखिनुजस्ता कारणसँग जोडेका छन् ।
पछिल्लो तीन दिनयता सेयर बजार परिसूचक नेप्से ५३.७ अंकले घटेको छ । सोमबार २६९४.६६ विन्दुमा पुगेको नेप्से बिहीबारसम्म आइपुग्दा २६४०.९६ विन्दुमा पुगेको छ ।
बिहीबारको कारोबार अधिकांश समूहको परिसूचक घटे पनि जलविद्युत् र लगानी समूहको परिसूचक भने बढेको छ । जलविद्युत् समूूहको परिसूचक १.१३ प्रतिशतले बढेको छ । पाँच कम्पनीको सेयर मूल्य बढेर सर्किट ब्रेकर नै लागेको छ ।
जसमा चारवटा कम्पनी मात्रै जलविद्युत् समूहअन्तर्गत छन् । रिभर फल्स पावर, बुटवल पावर कम्पनी, पियोर इनर्जी र वरुण हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी दरले बढेको छ । सप्तकोशी विकास बैंकको सेयर मूल्य ९.५ प्रतिशतले बढेको छ । बिहीबार सात अर्ब ८१ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।