१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १४ बुधबार
  • Thursday, 29 May, 2025
ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा अभ्यास गर्दै राष्ट्रिय महिला टोलीका खेलाडी
२o८२ जेठ १४ बुधबार o९:२o:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एएफसी महिला एसियन कप छनोट : नेपालको लक्ष्य एसियन कप खेल्ने 

उज्वेकिस्तानमा हुने एसिया कप छनोटमा नेपालले समूह ‘एफ’मा आयोजकसँगै लाओस र श्रीलंकाविरुद्ध प्रतिस्पर्धा गर्ने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १४ बुधबार o९:२o:oo

सन् २०२६ मा अस्ट्रेलियाले एएफसी महिला एसिया कप फुटबल प्रतियोगिताको आयोजना गर्दै छ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीले अहिलेसम्म एसिया कपमा स्थान बनाएको छैन । यसपटक भने नेपालले पहिलोपटक एसिया कपमा छनोट हुने लक्ष्य राखेको छ । एसिया कपमा स्थान बनाउने प्रमुख द्वारका रूपमा जुनको अन्तिम साता उज्वेकिस्तानमा छनोट प्रतियोगिता हुँदै छ । छनोट चरण पार गरी एसिया कपमा स्थान सुरक्षित गर्ने खेलाडी तथा प्रशिक्षक छन् ।

नेपालले लगातार दोस्रोपटक छनोट खेल्दै छ । एसिया कप छनोटमा नेपाल समूह ‘एफ’मा छ । नेपालले आयोजक उज्वेकिस्तानसँगै लाओस र श्रीलंकासँग छनोटमा प्रतिस्पर्धा गर्नेछ । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले महिला एसियन कपमा नेपाल छनोट हुने सम्भावना रहेको बताए । ‘एसियन कप छनोट हुने हाम्रो सम्भावना छ,’ एन्फाले मंगलबार राखेको बिदाई कार्यक्रममा प्रशिक्षक तामाङले भने, ‘नेपालको बलियो पक्ष फिनिसिङ लाइनअप हो ।’

मुख्यप्रशिक्षक तामाङले फिनिसिङ लाइन बलियो हुनुको मुख्य तर्क नै टोलीमा सहभागी मुख्य खेलाडीहरू विदेशी लिगमा आबद्ध छन् । मुख्य स्ट्राइकर सावित्रा भण्डारी केही वर्षयता फ्रान्सको शीर्ष डिभिजन लिगमा खेलिरहेकी छिन् । पछिल्लो समय सावित्रा फर्ममा छिन् । यसैगरी, रेखा पौडेल पनि अबुधाबीमा आबद्ध छिन् । नेपालकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बा यसै सिजन ग्रिसको शीर्ष डिभिजन क्लबमा आबद्ध भएकी हुन् । 

गोल स्कोरिङ लाइनका प्रमुख खेलाडीसँग विदेशी लिगको अनुभव भएका कारण नै नेपाल यो पक्षमा बलियो भएको तामाङको भनाइ छ । एसिया कप छनोट र मैत्रीपूर्ण खेल खेल्न टोलीमा आबद्ध भएकी कप्तान अन्जिलाले पछिल्लो समयमा नेपाली महिला फुटबलको चर्चा भएको बताइन् । ‘केही समयदेखि हाम्रो खेलको चर्चा चलिरहेको छ, यसले हामीलाई ऊर्जा थपेको छ,’ अन्जिलाले भनिन्, ‘एकनासको प्रदर्शन गर्नु र नतिजा निकाल्नु पनि अर्को चुनौती हो,’ उनले भनिन्, ‘हामीले राम्रो गर्नुपर्छ ।’ 

नेपाली टोली

गोलरक्षक : एन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना रानामगर, उषा नाथ

डिफेन्डर : अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाईं 

मिडफिल्डर : अनिता बस्नेत, विमला चौधरी, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सविता रानामगर, सरसती हमाल, सुष्मा तामाङ

स्ट्राइकर : सावित्रा भण्डारी, रश्मिकुमारी घिसिङ, चन्द्र भण्डारी, अनिता केसी, रेखा पौडेल

थाइल्यान्डसँग दुईवटा अभ्यास खेल
उज्वेकिस्तानले आयोजना गर्ने छनोट प्रतियोगितामा सहभागी हुनुअगाडि नेपालले थाइल्यान्डसँग दुईवटा अभ्यास खेल खेल्नेछ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एसिया कप छनोटको तयारीस्वरूप नै नेपाली महिला खेलाडीलाई थाइल्यान्डविरुद्ध अभ्यास खेल प्रबन्ध गरेको हो । थाइल्यान्डविरुद्धको खेललाई महत्वका साथ लिएको छ । थाइल्यान्डसँगको ३० मेमा हुने पहिलो खेल फिफा डेमा रहेको छ । यो खेलले फिफा मान्यता पाउनेछ । फिफा डेमा हुने खेलले थाइल्यान्ड र नेपालले वरीयता अंक प्राप्त गर्नेछ ।

२ जुनमा हुने खेल भने अनौपचारिक रहेको छ । फिफा महिला वरीयतामा थाइल्यान्ड ४७औँ र नेपाल ९९औँ स्थानमा छ । थाइल्यान्डले दुईपटक विश्वकप खेलिरहेको छ । नेपाली खेलाडीले थाइल्यान्डसँग अनुभव र आत्मविश्वास बढाउने मौका पाउने प्रशिक्षक तामाङले बताए । ‘हामी थाइल्यान्डजस्तो बलियो टोलीसँग खेल्दै छौँ, यस खेलबाट खेलाडीले अनुभव बटुल्ने मौका पाउँछन्,’ उनले भने, ‘थाइल्यान्डमा राम्रो गर्न सक्यौँ भने छनोट खेलमा राम्रो नतिजा निकाल्न सक्छौँ ।’

बलियो प्रतिद्वन्द्वी उज्वेकिस्तान
छनोट प्रतियोगितामा नेपालले लाओस, श्रीलंका र उज्वेकिस्तानविरुद्ध खेल्नेछ । नेपालको मुख्य प्रतिद्वन्द्वी नै उज्वेकिस्तान रहेको प्रशिक्षक तामाङ बताउँछन् । लाओस र श्रीलंकाविरुद्ध नेपालले जित लक्ष्य राखेको छ । ‘लाओस र श्रीलंकाको स्तर उस्तै हो, तर उज्वेकिस्तानसँगको खेल नै निर्णायक हुन सक्छ,’ उनले भने, वरीयतामा उज्वेकिस्तान ५०औँ स्थानमा छ । सन् २०२२ मा भारतमा भएको एसिया कप छनोटमा नेपाल पहिलो चरणबाटै बाहिरिएको थियो । प्रशिक्षक तामाङले अभ्यास खेलको नतिजाअनुसारै रणनीति तय हुने बताए । ‘ठुला राष्ट्रसँग मैत्रीपूर्ण खेलले टिम संरचना बनाउन सहज हुन्छ,’ उनले भने, ‘यसले एसियन क्वालिफायरमा सहज हुनेछ ।’