
प्रधानमन्त्री (पिएम) कप एनभिए पुरुष तथा महिला भलिबल लिगमा विभागीय टोली नेपाल पुलिस क्लबले अपराजित यात्रा कायम राखेको छ । शनिबार पोखरा बहुउद्देश्यीय कभर्डहलमा भएको पहिलो खेलमा महिलातर्फ पुलिसले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्यो । खेलमा कर्णालीमाथि हावी बनेको पुलिसले २५–५, २५–९ र २५–११ ले जित निकालेको थियो । जारी लिगमा अपराजित पुलिसको यो लगातार दोस्रो जित हो । पुलिसमा राष्ट्रिय टोलीका उषा भण्डारीलगायतको बाहुल्य रहेको छ ।
दोस्रो खेलमा विभागीय डर्बीमा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हरायो । एपिएफले पहिलो सेट२५–७, दोस्रो सेट २५–२३ र तेस्रो सेटमा २५–२० को जित निकाल्यो । तेस्रो खेलमा न्यु डायमन्ड स्पोर्टस् क्लबले एभरेस्ट भलिबल क्लबलाई ३–१ को सेटमा हरायो । पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको तीनजना थाइल्यान्डका खेलाडीसहितको एभरेस्ट त्यसपछिका लगातार तीन सेटमा पराजित भएको थियो । डायमन्ड दोस्रो सेट २५–२३, तेस्रो २५–१४ र चौथो २५– २२ ले आफ्नो पक्षमा पारेको थियो । एभरेस्टको यो लगातार दोस्रो हार हो ।
आर्मीको पहिलो जित
साबिक विजेता आर्मीको पुरुष टोलीले प्रतियोगितामा पहिलो जित निकालेको छ । पुरुषतर्फको पहिलो खेलमा आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्यो । यसअघि आर्मी हेल्प नेपाल र गण्डकी प्रदेशसँग पराजित भएको थियो । यी दुवै टोलीले पाकिस्तानका समान तीनजना खेलाडी अनुबन्ध गरेपछि निकै बलिया देखिएका छन् । यता, तेस्रो खेलमा आर्मीले मणिमुकुन्दविरुद्ध पहिलो सेट २५–२० ले जित्यो । दोस्रो सेटमा टोली २३–२५ ले पछि परेको हो । फेरि तेस्रो सेट २७–२५ ले आफनो पक्षमा पार्दै मणिमुकुन्द २–१ को अगाडि बढ्यो । चौथो र पाँचौँ सेटमा आर्मीले क्रमशः २५–२२ र १५–१० ले आफ्नो पक्षमा पार्दै दुई अंक जोडेको हो ।
दोस्रो खेलमा घरेलु टोली गण्डकीले पुलिसलाई ३–० को सोझो सेटमा पाखा लगाउँदै आफ्नो अपराजित यात्रा जारी राखेको थियो । तीन पाकिस्तानी खेलाडीसहित मैदान उत्रेको गण्डकी २५–२२, २५–२२ र २५–२३ ले खेल आफ्नो पक्षमा पारेको थियो । टोलीको यो लगातार तेस्रो जित हो । यता, तेस्रो जित निकाल्ने क्रममा हेल्प नेपालले एपिएफलाई ३–० कै सेटमा पराजित गरेको छ ।
लिगमा पुरुषतर्फ आठ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । महिला पुरुष दुवै विधाका विजेताले आठ, उपविजेताले चार र तेस्रोले दुई लाख नगद पुरस्कार पाउनेछन् । सर्वाेत्कृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुने लिब्रो, सरभर, ब्लकर, लिफ्टर, स्पाइकर र टिम प्रशिक्षकले जनही २५–२५ हजार नगद पुरस्कार पाउनेछन् । यसका साथै, विजेता टोलीले आउँदो जुलाईमा माल्दिभ्समा आयोजना हुने काभा च्याम्पियनसिप लिगमा सहभागी हुन पाउनेछन् ।