Skip This
ढुकुर जोडी प्रतियोगिताबाट उत्कृष्ट पतिपत्नी छनाेट गर्दै सुन्दरहरैँचा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 22 May, 2025
गणेश लम्साल विराटनगर
Invalid date format ११:२९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

ढुकुर जोडी प्रतियोगिताबाट उत्कृष्ट पतिपत्नी छनाेट गर्दै सुन्दरहरैँचा

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format ११:२९:oo

मोरडको सुन्दरहरैँचा नगरपालिकाले घरेलु हिंसारहित परिवारलाई प्रोत्साहन गर्न ढुकुर जोडी प्रतियोगिता आयोजना गर्ने भएको छ। सुन्दरहरैँचा नगरपालिकाले झैझडा, कुटपिट र सम्बन्धविच्छेदजस्ता घरेलु हिंसा कम गराउन उत्कृष्ट पतिपत्नी छनाेट गर्नका लागि ढुकुर जोडी प्रतियोगिता आयोजना गर्न लागेको हो। 

प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेका अनुसार नगरपालिकाको न्यायिक समितिमा पतिपत्नीबिच बेमेल भएको, खानलाउन नदिएको, अंशबाट बेदखल गरेको, लैंगिक हिंसा गर्ने गरेको भन्दै उजुरी आउने क्रम बढ्न थालेको छ । यसैले आपसमा शान्तपूर्वक विनाझैझडा हार्दिक सम्बन्ध बनाएर बस्ने पक्षी जोडी ढुकुरको जस्तै परिवार बनाउन उत्कृष्ट जोडी छनाेट गरेर ढुकुर जोडी प्रतियोगिता  आयोजना गर्न लागेको हो। 

प्रमुख प्रशासकीय अधिकृत न्यौपानेका अनुसार ढुकुर जोडी प्रतियोगिताका लागि सुन्दरहरैँचा नगरपालिकाले ७ जेठमा न्यूनतम सर्त पूरा हुने गरी  आवेदन दिन नगरभित्र बसोबास गर्ने सफल दाम्पत्य जोडीहरूलाई आग्रह गरेको छ। सर्तअनुसार तोकिएको मितिमा जोडीहरूबाट खुला आवेदन दर्ता भइसकेपछि  प्रतियोगिताको मिति टुंगो लगाएर औपचारिक कार्यक्रम आयोजना गरी उत्कृष्ट ढुकुर जोडी घोषणा गर्दै नगद र प्रमाणपत्रसहित सम्मान गर्ने नगरपालिकाको योजना छ ।  

प्रकाशित सूचनाअनुसार ढुकुर जोडी प्रतियोगितामा भाग लिने जोडीहरूले कम्तीमा विवाह गरेको १० वर्ष पुगेको हुनुपर्ने, स्थायी बासिन्दा भएर दुवैजनाले नागरिकता पाइसकेको र  विवाह दर्ता गरेको हुनुपर्ने, छोराछोरीको पनि जन्मदर्ता र उमेर पुगेको भए नागरिकता बनाइदिइसकेको हुनुपर्ने, उमेर पुगेका सन्तानलाई अनिवार्य विद्यालयमा भर्ना गरेर पढाइलाई निरन्तरता दिएको हुनुपर्नेलगायतका सर्तहरू छन्।

यसैगरी बाबुआमासँगै संयुक्त परिवारमा बसेको हुनुपर्ने, बाबुआमालाई राम्रो हेरचाह गरेको हुनुपर्ने, न्यायिक समितिमा दम्पतीबारे कुनै उजुरी परेको हुन नहुने र निरन्तर नेपालमै बसोबास गरेर विवाह भएको दश वर्षमा वैदेशिक रोजागारमा दुई वर्षभन्दा बढी बसेको हुन नहुने थप सर्त रहेको छ। ढुकुर जोडी प्रतियोगिताले नगरभित्रका परिवारहरूमा सम्बन्धविच्छेद, पारिवारिक कलह र लैंगिक हिंसा न्यूनीकरण गराएर आदर्श परिवार बनाउन सहयोग पुर्‍याउने सुन्दरहरैँचा नगरले अपेक्षा लिएको छ ।