
जुनीचाँदे गाउँपालिकाका अध्यक्ष वेदबहादुर शाहीका छोरा पारस शाही नक्कली छाप र कागजातसहित पक्राउ परेका छन्। पारससँगै वडा नं ११ का यज्ञेश्वरबहादुर शाहीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार उनीहरूले जुनीचाँदे गाउँपालिकाको नक्कली छाप, लेटरप्याड र आम्दानी रसिद बनाई जडीबुटी तथा खनिज पदार्थ बोकेका गाडीहरूबाट अवैध रूपमा कर असुल्दै आएका थिए।
छेडागाड नगरपालिका–६ राहदेउस्थित सडकखण्डमा गाडीहरू रोकी राजस्व संकलन भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बडावन र प्रहरी चौकी जुनीचाँदेको संयुक्त टोलीले छापा मारेको हो। त्यही स्थानबाट पारस शाही र यज्ञेश्वर शाही पक्राउ परेका जाजरकोट प्रहरी प्रमुख वसन्तप्रसाद शर्माले बताए।
शर्माका अनुसार उनीहरूलाई बुधबार जिल्ला अदालत जाजरकोटबाट लिखतसम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरेर हिरासतमा राखिएको छ।