
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको समीक्षा गर्ने वेला आएको बताएका छन्।
मध्यपहाडी लोकमार्गमा जनतासँग माओवादी अभियान कार्यक्रमअन्तर्गत बागलुङको गलकोटमा आयोजित सभालाई सम्बोधन गर्दै उनले संविधान निर्माणको १० वर्ष पुगेकाले अब समीक्षा गरी संशोधन प्रक्रिया थालनी गर्नुपर्ने बताएका हुन्। जनताको केही अधिकार संविधान निर्माणका क्रममा छुटेका र ती अधिकार थप्नका लागि सुझावका आधारमा संशोधन अगाडि बढाउनुपर्ने उनको भनाइ छ।
देशमा नयाँ आर्थिक र सांस्कृतिक क्रान्ति आवश्यक रहेको बताउँदै प्रचण्डले माओवादी केन्द्र जारी अभियानमा तराईदेखि पहाडसम्मका जनतालाई अपिल गरेर हिँडेका बताए।
आफ्नो पार्टीले देशमा गणतन्त्र स्थापना भएर नयाँ संविधान निर्माणकै वेलामा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्ने प्रस्ताव राखेको स्मरण गराउँदै उनले अब जरुरी भइसकेको बताए।
‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व गराउन केही कुरा मिलाउन आवश्यक छ। हामीले त्यति वेला नै समावेशी र समानुपातिक सिद्धान्तअनुसार लोकतान्त्रिक गणतन्त्रको घोषणा गरेपछि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको व्यवस्था गरौँ भनेका थियौँ।’
अहिलेको निर्वाचन प्रणाली पनि बढी खर्चिलो भएकाले यसलाई पनि परिवर्तन गर्न आवश्यक रहेको प्रचण्डको भनाइ छ।
वर्तमान सरकारले जनअपेक्षाबमोजिम काम गर्न नसक्दा जनतामा वितृष्णा बढेको उनले आरोप लगाए। देशमा भ्रष्टाचार, अनियमितता बढिरहेको भन्दै उनले गरिब, दलित, किसान वर्गको समस्या यो सरकारले सुन्नै नचाहेको बताए।