१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 18 May, 2025
जोन टी सारोपोलोस
Invalid date format o९:४२:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

युक्रेनसँगको खनिज सम्झौतापछि शान्ति प्रयासबाट ‘ब्याक’ भएका हुन् ट्रम्प ?

Read Time : > 4 मिनेट
जोन टी सारोपोलोस
नयाँ पत्रिका
Invalid date format o९:४२:oo
  • खनिज सम्झौतामा हस्ताक्षर गरेको भोलिपल्टदेखि ट्रम्प प्रशासनले युक्रेनमा शान्ति स्थापनाको प्रयासबाट आफूलाई टाढा राख्न थालेको छ 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले युक्रेनी खनिज स्रोत प्रयोगसम्बन्धी ज्ञापनपत्रमा हस्ताक्षर गरेपछि गत साता पहिलोपटक युक्रेनलाई हतियार बिक्री अनुमोदन गर्‍यो । यस बिक्रीले ट्रम्पको नेतृत्वमा अमेरिकी विदेश र रक्षानीति कसरी आर्थिक नीतिबाट निर्देशित भइरहेको छ भनेर संकेत गर्छ । ‘युएस डिफेन्स सेकुरिटी को–अपरेसन एजेन्स (डिएससिए)’ले मे २ मा ट्रम्प प्रशासनले युक्रेनलाई ३१ करोड डलरबराबरको एफ–१६ लडाकु विमानको पार्टपुर्जाको बिक्री अनुमोदन गरेको घोषणा गर्‍यो ।

प्रतिरक्षा पत्रिका ‘द वार जोन’ले त्यसअघि नै एरिजोनामा अवस्थित अमेरिकी वायुसेनाको डम्पिङ साइटबाट पार्टपुर्जा निकाल्न प्रयोगहीन एफ–१६ विमान युक्रेन पठाइएको बताएको थियो । अमेरिकाले गरेको पछिल्लो बिक्रीमा प्रयोगमा रहेका एफ–१६ विमान वा मिसाइल भने समावेश छैनन् । तथापि, युरोपेली सहयोगीले करिब ८५ वटा सञ्चालनमा रहेका एफ–१६ युक्रेनलाई दिने वाचा गरेको बताइएको छ ।

मे २ को हतियार बिक्रीसँगै ट्रम्पले सत्ता सम्हालेपछि अमेरिकाले पहिलोपटक युक्रेनलाई हतियार प्रदान गरेको छ । अघिल्ला अमेरिकी राष्ट्रपति जो बाइडेनको पालामा अमेरिकाले युक्रेनलाई १३० अर्ब डलर आर्थिक तथा सैन्य अनुदान प्रदान गरेको थियो । हुन त युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अप्रिल १५ मा अमेरिकी हतियार प्रणाली किन्न चाहेको सार्वजनिक रूपमै बताएका थिए । त्यसवेला उनले विशेषतः ‘प्याट्रियट वायु रक्षा प्रणाली’को माग गरेका थिए ।

अप्रिल ३० मा अमेरिकी वित्तमन्त्री स्कट बेसेन्ट र युक्रेनी प्रथम उपप्रधानमन्त्री युलिया स्भिरिडेन्कोले युक्रेन धातु, तेल र ग्याससहित नयाँ खनिज भण्डारको संयुक्त दोहन गर्ने सहमतिमा हस्ताक्षर गरेका थिए । त्यस सहमतिले पछिल्लो अमेरिकी हतियार बिक्रीको मार्गप्रशस्त गरेको हो । ‘सम्झौताले ट्रम्प प्रशासन दीर्घकालीन रूपमा स्वतन्त्र, सार्वभौम र समृद्ध युक्रेनकेन्द्रित शान्ति प्रक्रियाप्रति प्रतिबद्ध रहेको रुसलाई स्पष्ट सन्देश दिएको छ,’ सम्झौता पत्रमा हस्ताक्षर गरेपछि बेसेन्टले भनेका थिए ।

युक्रेन र अमेरिकाबिच हस्ताक्षर भएको सम्झौता पत्रमा खनिज स्रोतबाट युक्रेनी सरकारले पाउने रोयल्टी र इजाजत पत्र प्रदान गर्दा प्राप्त हुने आम्दानीको आधा हिस्सा पुनर्निर्माण कोषमा राखिने उल्लेख छ । तर, अमेरिकी लगानीकर्ताले आफ्नो आम्दानीको कति अनुपात लगानी गर्छन् भन्ने केही खुलाइएको छैन । न त अमेरिकी सरकारले लगानीलाई सहजीकरण गर्ने विषय नै त्यसमा खुलाइएको छ । त्यस्तै, सम्झौता पत्रमा लगानीका लागि समयसीमा पनि तोकिएको छैन ।

युक्रेनी प्रथम उपप्रधानमन्त्री स्भिरिडेन्कोले अंक नखुलाई अमेरिकी सरकारले पुनर्निर्माण कोषमा योगदान गर्ने बताएकी थिइन् । जेलेन्स्कीले मजदुर दिवसको सम्बोधनमा खनिज सम्झौतालाई ‘वास्तविक रूपमा बराबरीको साझेदारी’ बताउँदै यसले अमेरिका र युक्रेनलाई ‘मिलेर पैसा कमाउन’ सक्षम बनाउने बताए ।

शान्ति स्थापनाको प्रयासबाट टाढा
खनिज सम्झौतामा हस्ताक्षर भएको एक दिनपछि ट्रम्प प्रशासनले युक्रेनमा शान्ति स्थापनाको प्रयासबाट आफूलाई टाढा राख्न थालेको छ । जबकि ट्रम्पले जनवरी २० मा पदभार ग्रहण गर्दा चाँडै युक्रेनमा शान्ति स्थापना गर्ने वाचा गरेका थिए । ट्रम्प प्रशासनले अप्रिल १७ मा रुस र युक्रेनलाई युद्धविरामका लागि आह्वान गर्दै यो ‘अन्तिम’ आह्वान भएको चेतावनी दिएको थियो । ‘अब सम्झौतामा पुग्ने र निर्मम द्वन्द्व रोक्ने जिम्मेवारी उनीहरूकै दायित्व हुनेछ,’ अमेरिकी उपराष्ट्रपति जेडी भान्सले केही दिनअघि फक्स न्युजलाई भनेका थिए ।

‘हामी संसारभर धाएर मध्यस्थता बैठक आयोजना गरिरहँदैनौँ । जे गर्नुपर्ने हो, दुई पक्षले गर्नुपर्छ,’ विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले भान्सकै भाकामा भाका मिलाउँदै भने । अमेरिकी विदेशमन्त्री तथा कार्यवाहक राष्ट्रिय सुरक्षा सल्लाहकार मार्को रुबियोले आफ्नो ‘काँधमा योभन्दा अझ धेरै महŒवपूर्ण मुद्दा’ रहेको बताउँछन् । रुबियोको संकेत चीनसँगको अमेरिकी प्रतिद्वन्द्विता र ‘इरान आणविक कार्यक्रम’तर्फ थियो ।

अमेरिकाले प्रस्ताव गरेको ३० दिने युद्धविराम योजनामा युक्रेनले सहमति जनाए पनि रुसले त्यसलाई अस्वीकार गर्दै आएको छ । पुटिनले दोस्रो विश्वयुद्धको अन्त्यको वर्षगाँठमा मे ९ मा मस्कोमा आयोजित विशाल विजय कार्यक्रमको सन्दर्भमा तीनदिने युद्धविराम घोषणा गरे । रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारसँगको ब्रिफिङमा तीनदिने युद्धविरामको उद्देश्य ‘दीर्घकालीन दिगो शान्तिको मार्गतर्फ कभको तत्परता परीक्षण गर्नु’ रहेको बताए । तर, युक्रेनले भने तीन दिनको युद्धविराम प्रस्तावलाई अस्वीकार गर्दै ३० दिन युद्धविराम गर्न चुनौती दिएको छ ।

के रुस गम्भीर छ ?
मे महिनाको पहिलो एक सातामा रुसले तेह्र सय आक्रमण गर्दै युक्रेनविरुद्धको आफ्नो युद्धलाई जारी राख्ने सन्देश दियो । तथापि, उसले ठुलो हताहती पनि भोगेको युक्रेनी रक्षा मन्त्रालयले बतायो । अप्रिल महिनामा रुसी पक्षले केबल ३५ हजार हताहत भोगेको र सन् २०२५ को पहिलो चार महिनामा यो संख्या एक लाख २६ हजार जति रहेको युक्रेनको रक्षा मन्त्रालयले जनाएको थियो । यति ठुलो हताहती भोगेर उसले यस अवधिमा जम्मा एक हजार ६२७ वर्ग किलोमिटर जमिन कब्जा गर्न सफल भयो । यस तथ्यांकमा मार्चमा युक्रेनी फौजबाट पुनः कब्जा गरिएको कुस्र्क क्षेत्र पनि समावेश रहेको ‘इन्स्टिच्युट फर दी स्टडी अफ वार (आइएसडब्लु)ले बताएको छ ।

आइएसडब्लुका अनुसार रुसी सेनाको प्रगति सुस्त हुँदै गएको छ । ‘पछिल्लो समय संघर्ष मुख्यतः कुपियान्स्क, चासिभ यार, टोरेत्स्क र पोकरोभ्स्कजस्ता ठुला सहर र वरपरका क्षेत्रमा केन्द्रित भएको छ । यस भेगमा बलियो युक्रेनी प्रतिरक्षा कायम गरिएकाले रुसी प्रगति सुस्त भएको छ,’ युक्रेनी कमान्डर–इन–चिफ ओलेक्जान्डर सिस्र्कीले भने ।

स्थल आक्रमणबोहक पनि रुसले यो वर्ष ‘नियन्त्रित हवाई बम (सिएबी)’को प्रयोगलाई तीव्र बनाएको छ । युक्रेनको संयुक्त सैन्य कार्यदलका अनुसार मार्चमा यस्ता बम चार हजार ८ सय, फेब्रुअरीमा तीन हजार ३७० र जनवरीमा एक हजार ८३० खसालिएको थियो । अप्रिलमा यसको संख्या बढाएर पाँच हजार पुर्‍याइयो । १.५ टन वजनका यी बम अहिले युक्रेनका लागि सबैभन्दा ठुलो समस्या बनेको युक्रेनी सेनाले बतायो । खासमा युक्रेनले अघिल्लो अमेरिकी सरकारसँग रुसभित्रसम्म लामो दूरीको अमेरिकी हतियार प्रहार गर्न अनुरोध गर्नुको मुख्य कारण पनि यिनै बम राखिएको स्थान नष्ट गर्नु थियो ।

युक्रेनको जवाफी हमला
बढ्दो रुसी आक्रमणबिच युक्रेनले आफ्नो अग्रमोर्चा कायम राख्न सफल छ । उसले कैयौँ स्थानमा रुसको सैन्य संयन्त्रलाई प्रतिरक्षात्मक अवस्थामा राखेको छ । युक्रेनका सैन्य गुप्तचर प्रमुख किरिलो बुडानोभले ‘द वार जोन’लाई युक्रेनको ‘मागुरा–७ मानवरहित ड्रोन’ले एआइएम–९ साइडविन्डर मिसाइल प्रयोग गरेर दुई रुसी सुखोई–३० लडाकु विमान सफलतापूर्वक खसालेको बताए । युक्रेनी ड्रोन प्रहार सामना गरेका दुईमध्ये पहिलो रुसी सु–३० का पाइलटलाई कृष्ण सागरको नोभोरोसियस्क बन्दरगाहनजिकै एक नागरिक जहाजले उद्धार गरेको थियो । दोस्रो लडाकु विमान भने क्रिमियामाथि खसेको थियो ।

युक्रेनी सैन्य गुप्तचर सेवाले रुसको कृष्णसागर क्षेत्रको फौजी जहाजमा प्रहार गर्न आत्मघाती (कामिकाजे) ड्रोनको प्रयोगलाई तीव्रता दिएको छ । डिसेम्बर ३१ मा तिनै ड्रोनबाट हानिएको रकेटले दुई रुसी हेलिकोप्टर खसालेको युक्रेनले दाबी गरेको छ । यो पनि पहिलोपटक स्थल ड्रोनलाई हवाई लक्ष्यविरुद्ध प्रयोग गरिएको घटना हो, जुन अर्को युक्रेनी खोज हो । सन् २०२२ को अन्त्यदेखि, युक्रेनले शत्रुको हतियार र फौजविरुद्ध हल्का, व्यक्तिले जमिनबाट नियन्त्रण गर्न मिल्ने ड्रोनहरूको प्रयोग गर्दै आएको छ । ‘विगत दुई महिना, अर्थात् मार्च र अप्रिलमा मात्र हाम्रा ड्रोनले एक लाख ६० हजारभन्दा बढी शत्रु लक्ष्यलाई प्रहार र नष्ट गरेका छन्,’ सिस्र्कीले टेलिग्राममा लेखेका थिए ।

अप्रिलमा युक्रेनी ड्रोनले ८३ हजारभन्दा बढी लक्ष्य नष्ट गरे, जुन मार्चको तुलनामा आठ प्रतिशत बढी हो । अप्रिलमा रुसी भूमिभित्रका ६२ लक्ष्यहरूमा प्रहार गरिएको पनि तिनले बताए । गत हप्ता युक्रेनी ड्रोनहरूले एक महिनाभित्र दोस्रोपटक मोर्डोभिया गणराज्यको सारान्स्कमा रहेको ‘फाइबर अप्टिक प्रणाली संयन्त्र’लाई निसाना बनाए । संयन्त्र मानवरहित हवाई साधनमा प्रयोग हुने रुसको एक मात्र फाइबर–अपप्टी उत्पादन गर्ने प्लान्ट हो । त्यसबाहेक युक्रेनले नजिकैको सारान्स्काबेलस्थित अर्को यन्त्र निर्माण संयन्त्रमा पनि प्रहार गरेको देखिन्छ ।

युक्रेनले तुला भन्ने ठाउँमा रहेको एन्टिट्यांक प्रणाली र साना हतियारहरू उत्पादन गर्ने ‘उपकरण–निर्माण डिजाइन ब्युरो’मा पनि आक्रमण गरेको बताएको छ । यसबाहेक, युक्रेनले मस्को र कालुगा क्षेत्रमा रहेका हवाई आधारमा आक्रमण गरेको दाबी गरेको छ, जहाँ क्रुज मिसाइल, डुपोलेभ–२२ एम ३ रणनीतिक बमवर्षक विमानलगायत सु–२७ र मिग–२९ लडाकु विमान रहेको बताइएको छ ।

– अलजजिराबाट