१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ४ आइतबार
  • Sunday, 18 May, 2025
२o८२ जेठ ४ आइतबार २२:oo:oo
Read Time : > 1 मिनेट
अर्थ

हावाहुरीले बारामा करोडौंको केरा खेती नष्ट 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ४ आइतबार २२:oo:oo

शनिबार राति आएको हावाहुरीले बारामा करोडौं मूल्य बराबरको केरा खेति नष्ट पारेको छ । पानीसँगै आएको हावाहुरीले निजगढ नगरपालिकाका किसानहरूले लगाएको करिब चार करोड बराबरको केरा खेती नष्ट गरेको हो । 

पाक्ने बेला भएको केराको बोट हुरीले ढालेको बारा जिल्ला फलफुल तथा केरा उत्पादक संघका अध्यक्ष एकबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार हुरीले पुर्याएको क्षतिको प्रारम्भिक विवरण संकलन भए पनि थप विवरण संकलन भइरहेको  छ । वडा नम्बर ९ मा सबैभन्दा बढी क्षति भएको छ । 

भर्खर पसाएको र पाक्ने बेला भएको केराका बोट बढी ठालेको किसानहरूको भनाइ छ । केरा पकेट क्षेत्रको रूपमा रहेको निजगढ नगरपालिकामा एक बिघा जमिनमा किसानले एक सिजनमा ४ देखि ६ लाखसम्म आम्दानी लिँदै आएका थिए । तर, बेच्ने बेला भएपछि आएको हुरीले केरा खेतीमा क्षति गरेको र किसानहरू समस्यामा परेको निजगढ नगरपालिका वडा नम्बर ९ का किसान मानबहादुर श्रेष्ठले बताए । 

‘वडा नम्बर ९ मा मात्रै दुई करोडभन्दा बढीको केरा खेती नष्ट भएको छ,’ स्थानीय किसान मानबहादुर श्रेष्ठले भने, ‘वडामा किसानले लगाएको २३ सयभन्दा बढी केराको बोट हुरीले ढालेको छ ।’ उनका अनुसार हुरीले वडा नम्बर ९ का चित्रप्रसाद चौलागाईलगायत दर्जनौं किसानको केरामा क्षति पुगेको छ ।  

‘आम्दानी होला कि भनेर केरा खेती गरेका थियौं,’ किसान करिना तामाङ वलले भनिन्, ‘तर हुरीले केराको बोटसँगै सपना पनि उडाएर लग्यो ।’ उनले १० बिघा जमिन भाडामा लिएर खेती गरेकी थिइन । अब भाडा र घर खर्च कहाँबाट पुर्याउने भन्ने चिन्ताले सताएको उनको भनाइ छ । 

अर्का किसान माधव न्यौपानेले कर्जा लिएर केरा खेती गरेको र अब ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताएको बताए । किसानको मार्कामा सरकारले सहयोग गर्नुपर्ने उनले  बताए । ‘किसानको करोडौंको केरा खेती नष्ट भएको छ,’ उनले भने, ‘सरकारले राहत र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ ।’ आफूले खेती गरेको १५ बिघामध्ये ५० देखि ९० प्रतिशतसम्मको केरा बालीमा क्षति भएको न्यौपानेले बताए । उनले आफ्नो मात्रै ४० लाखभन्दा बढी मूल्यको केरामा नोक्सानी भएको जानकारी दिए । 

निजगढ नगरपालिका केरा खेतीको लागि पटेक क्षेत्र हो । केरा ब्लकबाट विकसित हुँदै केरा जोनको रूपमा स्थापित यस नगरपालिकाभित्र मात्रै १२ सय बिघाभन्दा बढी क्षेत्रफलमा व्यावसायिक केरा खेती हुँदै आएको छ । अन्य बालीको तुलनामा खेती गर्न सजिलो, मिहिनत कम र आम्दानी बढी हुने गरेको किसानहरू बताउँछन् । व्यापारीहरूले खेतबारी मैं आएर उत्पादन उठाइदिने र हाताहाती नगद पाईने हुँदा यो खेति निजगढ र अन्य पालिकामा फस्टाउदै आएको छ । निजगढमा उत्पादन भएको केरा प्रतिघारी ६ सयदेखि ९ सय रूपैयासम्ममा बिक्री हँुदै आएको छ ।