१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ४ आइतबार
  • Sunday, 18 May, 2025
संसद् भवनको ल्होत्से हलमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठक । तस्बिर : रासस
कमलराज भट्ट काठमाडाैं
२o८२ जेठ ४ आइतबार o६:१८:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कांग्रेस संसदीय दल बैठक : ओलीको कार्यशैलीप्रति आक्रोश, नियतमाथि गम्भीर आशंका

सांसदहरूको रुवाबासी, लेखा समिति सभापति पोखरेलकी पत्नी सेटिङमा छुटेको आंशका

Read Time : > 4 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ ४ आइतबार o६:१८:oo

प्रमुख सत्तारूढ दल कांग्रेसका सांसदहरूले प्रधानमन्त्री केपी ओलीको कार्यशैलीप्रति आक्रोश र नियतमाथि गम्भीर आशंका व्यक्त गरेका छन् । शनिबार बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले कांग्रेसविरुद्ध नै समानान्तर गतिविधि गरिरहेको भन्दै सांसदहरूले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षणसमेत गराएका छन् । सांसदहरूले सरकारको गम्भीर समीक्षा गर्नसमेत जोड दिएका छन् । 

सरिता प्रसाईं, शंकर भण्डारी, राजेन्द्र बजगाईं, हृदयराम थानी र कान्छाराम तामाङलगायत सांसदले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा देखिएको ढिलासुस्ती, प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र सत्ताभित्रै देखिएको असामञ्जस्यताका विषयमा आक्रोश पोखेका हुन् । कांग्रेस सांसदहरूले आँखा चिम्लेर प्रधानमन्त्री ओलीलाई विश्वास नगर्नसमेत सभापति देउवालाई सुझाएका छन् । 

सांसद प्रसाईंले ओलीलाई आँखा चिम्लिएर विश्वास गर्दा कांग्रेसका लागि प्रत्युपादक हुन सक्ने बताइन् । ‘कांग्रेस सरकारमा जाँदा ठुलो पार्टी छ । अर्कोपटक सानो दल बन्ने स्थिति आउन नदिऔँ । यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ,’ उनले भनिन् । भ्रष्टाचार नियन्त्रणमा सरकारले सहयोग नगरेको भन्दै अख्तियार प्रमुखको सार्वजनिक गुनासोलाई पनि प्रसाईंले उल्लेख गरिन् ।

गभर्नर नियुक्तिमा प्रधानमन्त्रीको दोहोरो भूमिकाको विषयमा देउवाको धारणा मागिन् । साथै, उनले प्रधानमन्त्रीमाथि आँखा चिम्लेर विश्वास नगर्न आग्रह गरिन् । ‘प्रधानमन्त्रीले गरिरहेको कार्यले कांग्रेसप्रति नकारात्मक दृष्टिकोण बन्न सक्छ । अहिले के हो भन्ने अन्योल छ । तपाईं पनि धेरै सोझा हुनुहुन्छ, कतै धोका त हुँदैन, ख्याल गर्नुस् सभापतिज्यू,’ उनले भनिन् । 

त्यसैगरी अर्का सांसद थानीले गभर्नर नियुक्तिमा भएको अनिश्चितता र ढिलाइप्रति सरकारको आलोचना गरे । ‘कामु गभर्नरले राजीनामा दिए पनि स्वीकृत हुँदैन भन्ने कुरा दुनियाँमा कहीँ पनि हुँदैन । यदि त्यसो हो भने कार्यवाहकलाई नै परिवर्तन गर्नुपर्छ । अब धेरै ख्यालठट्टा गर्नुहुन्न,’ उनले भने । 

थानीले हालको राजनीतिक परिस्थितिमा एमालेसँगको सम्बन्धबारे पनि पार्टी नेतृत्वलाई विचार गर्न आग्रह गरेका थिए । ‘एमाले प्रतिस्पर्धी दल हो । सत्ता परिवर्तनबारे बाहिर पनि चर्चा हुँदै छ । म्याजिक नम्बर, उथलपुथल बाहिर हुनुहुन्छ । उहाँहरूलाई धेरै बेर बाहिर बस्न गाह्रै भएको होला । यस्तोमा विचार पुर्‍याउने कि ? प्रजातान्त्रिक विचार भएका दलसँग दूरी कायम नगरे हुन्थ्यो । ठिकै ठाउँमा राख्ने हो कि ?’ थानीले नेतृत्वलाई सुझाव दिए । 

सांसद रामहरि खतिवडाले गभर्नर नियुक्तिमा भएको ढिलाइबारे प्रश्न उठाए । ‘गभर्नर नियुक्ति किन र के कारणले ढिलो भयो ? कामुको मात्रै कार्डले राजीनामा स्वीकृत नहुने भन्ने हुँदैन, नीलम ढुंगानाको पछाडि को छ ? कसरी यसरी चल्छ ? भनेको नमान्ने मान्छे कसरी हुन सक्छ ? यो के हो ? कतिजनाले राजीनामा दिएपछि हुने हो गभर्नर ?’ खतिवडाले प्रश्न गरे । 

यस्तै, सांसद शंकर भण्डारीले ‘१४ महिनापछि किस्तीमा राखेर देउवालाई प्रधानमन्त्री हस्तान्तरण गर्ने’ ओलीको अभिव्यक्ति हेपाहा, असंवैधानिक, भ्रमपूर्ण र रणनीतिक चलखेल भएको भन्दै आपत्ति जनाए । ‘तपाईं ठुलो दलको सभापति र नेता हुँदाहुँदै देशको आवश्यकता महसुस गरेर ओलीलाई प्रधानमन्त्री स्विकार्नुभएको हो,’ उनले भने, ‘केपीको दया, केपीको कृपाले, केपीले किस्तीमा ल्याएर तपाईंलाई प्रधानमन्त्री दिनुपर्ने ? के हामी दयाका पात्र हौँ ? यो सामान्य भाषा हो ? योभन्दा ठूलो मजाक के हुन्छ ? योभन्दा ठूलो उपहास के हुन्छ ?’ उनले वर्तमान सरकारको गम्भीर समीक्षा आवश्यक रहेको बताए । 

‘अबको १४ महिनामा किस्तीमा राखेर, बाजा बजाएर देउवालाई प्रधानमन्त्री बुझाउने’ प्रधानमन्त्री ओलीको अभिव्यक्ति शोभनीय नभएको सांसद प्रसाईंले बताइन् । ‘हामी दयाको पात्र होइन, सहमतिमा गएको हो, शब्द चित्त बुझेन,’ उनले भनिन् । 

सांसदहरूको जिज्ञासामा सभापति देउवाले संक्षिप्त जवाफ दिए, ‘हामी लागिरहेका छौँ, हामीले चाहेअनुसार (गर्भनर नियुक्ति संकेत गर्दै) नै निर्णय हुन्छ ।’

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले सांसदहरूको चासो स्वाभाविक रहेको बताए । ‘दुई ठुला पार्टीको गठबन्धन भएकाले हाम्रा कुरा यथेष्ट सुनिएनन् कि भन्ने सांसदहरूको चासो स्वाभाविक छ । कतिपय मन्त्री अलमलमा परेजस्तो देखिन्छ, गर्भनर नियुक्तिमा अनावश्यक ढिलाइ भइरहेको छ । यस्तो किन भइरहेको छ भनेर सांसदले चासो–चिन्ता राख्छन् नै,’ डा. महतले भने । 

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बजेटलगायत विविध विषयमा छलफल गर्नका लागि बैठक आयोजना गरिएको र खुलेर छलफल भएको बताए । ‘गर्भनर नियुक्तिबारे कुरा उठ्यो, बजेट वितरण समान ढंगले होस् र क्षेत्रगत रूपमा पनि सन्तुलित विकास हुने गरी वितरण होस् भन्ने सुझाव आयो,’ उनले भने, ‘गभर्नर एमालेले दिन नचाहेको विषय नै होइन, प्राविधिक विषयमा तपाईंहरू नै जानकार हुनुहुन्छ । अब समस्या छैन, चाँडै नियुक्त हुन्छ ।’

यस्तै, बैठकमा सांसदहरूले आफूलाई बजेट चाहिने भन्दै न्यायोचित विनियोजन नभए पारित नगर्ने चेतावनी दिएका थिए । ‘जथाभावी बजेट आयो र मन्त्रीकहाँ धेरै गयो भने मान्दैनौँ । सबैलाई बजेट चाहिन्छ । सबै जिल्लामा सांसदको राम्रो बजेट हुनुपर्‍यो । ठुला नेताका हाल्ने, अरूलाई केही नदिने हुनुभएन । समानुपातिक तरिकाले वितरण हुनुपर्‍यो । मिलेर आएन भने पास गर्न सकिँदैन,’ उनले भने । 

सांसद राजेन्द्र बजगाईंले बुढीगण्डकी जलविद्युत् परियोजनाजस्ता ठुला राष्ट्रिय योजनामा कांग्रेसले नेतृत्व लिनुपर्नेमा जोड दिए । ‘यो केवल परियोजना होइन, यो राष्ट्रिय सम्भावना हो । नागरिकको सहभागितामा निर्माण गरिनुपर्छ, हरेक नेपालीले सेयर पाउनुपर्छ,’ उनले भने ।

सांसद भण्डारीले सबै निर्वाचन क्षेत्रमा पूर्वाधार कार्यक्रम ल्याउन माग गरे । ‘बजेटका लागि माननीयज्यूहरू कराइरहनुभएको छ । चिच्याइरहनुभएको छ । यही हो कांग्रेस ?’ उनले भने, ‘सबै निर्वाचन क्षेत्रमा पूर्वाधार कार्यक्रम आओस् ।’

अन्तिममा सभापति देउवाले बजेटमा मिलाएर जानुपर्ने र आफूले पहल गर्ने बताएका थिए । उनले उपस्थित उपप्रधानमन्त्री प्रकाशमान सिंहसहित मन्त्रीहरूलाई मिलाएर लैजान निर्देशन दिएका थिए । 

निवर्तमान ऊर्जाराज्यमन्त्री कान्छाराम तामाङले आफूलाई प्रधानमन्त्रीले बर्खास्त गरेकोमा गुनासो गरेका थिए । ‘म तपाईं (सभापति देउवा)को कार्यकर्ता हुँ । तपाईंले राजीनामा मागेको भए हुन्थ्यो । म छोडिदिन्थेँ,’ उनले भने, ‘तर, प्रधानमन्त्रीले अपमानजनक हिसाबले बर्खास्त गर्दा दुःख लाग्यो । एउटा कांग्रेसी कार्यकर्ताको हिसाबले भन्दा यो ठिक भएन ।’ 

सांसदहरूको रुवाबासी, लेखा समिति सभापति पोखरेलकी पत्नी सेटिङमा छुटेको आंशका
कांग्रेस संसदीय दल बैठकमा सांसदहरूको रुवाबासी चलेको छ । सांसदहरूले रुँदै राज्यबाट अन्याय भएको गुनासो सभापति शेरबहादुर देउवालाई सुनाएका छन् । साथै, उनीहरूले लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला सेटिङमा छुटेको आंशका गरेका छन् । 

कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दामा धरौटीमा रिहा भएकी माया राई आफूमाथि अन्याय भएको भन्दै बैठकमा रोएकी थिइन् । ‘ममाथि अन्याय भयो । मेरो कुनै संलग्नता छैन,’ उनले भनेकी थिइन्, ‘अरूले सदस्य बनाइदिएको हो । बैठकमा मात्रै गएको हो । कहीँकतै देखियो वा सही गरेको फेला पार्नुभयो भने कारबाही गर्नुस् ।’ सहकारीको मुद्दाबारे लामो स्पष्टीकरण दिएकी राईले आफू हिरासतमा पर्दा पार्टीले सहयोग नगरेको दुखेसो पोखेकी थिइन् । 

लेखा समिति सभापति पोखरेलकी पत्नी अञ्जलालाई घरबाट अदालत उपस्थित गराएर त्यही दिन धरौटीमा रिहा गरेकोमा सांसदहरूले प्रश्न उठाएका थिए । ‘एकैदिनमा बिहान लगेर ऋषिकेशको श्रीमतीलाई १० लाखमा छोड्ने, अनि अरूलाई थुन्ने, यो के हो ? एमालेको सेटिङ हो कि ? हाम्रो सांसदलाई यत्रो दिन किन राखियो ?’ बैठकमा प्रश्न उठेको थियो । 

शंकर भण्डारीले राईलाई १७ दिन हिरासत राख्दा ऋषिकेशपत्नीलाई एक घण्टामै १० लाखमा छोडेकोप्रति प्रश्न उठाउँदै कांग्रेस कहाँ छ भनेर प्रश्न गरे । ‘साथीका आँसुहरू सामान्य छैनन् । सबै नेताहरूलाई भन्न चाहन्छु– आफूलाई पर्दा पीडा, अरूलाई पर्दा होइन भन्नेजस्तो तपाईं–हाम्रो सोच त होइन ? साथीहरू अन्यायमा परेका छन्, रोइरहेका छन्, धेरै पीडादायी छ । यसमा सभापति गम्भीर बन्नुस्, साथीका आँसु र पीडा हेरिरहने स्वीकार्य हुँदैन,’ उनले भने । 

राजेन्द्र बजगाईंले कांग्रेसका शत्रुहरू बाहिर होइनन् जिल्लादेखि केन्द्रसम्म पार्टीभित्रै रहेको टिप्पणी गरे । ‘पार्टीभित्रका साथीहरूलाई नै समाप्त पार्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘पार्टी एकता खुम्चिएको छ । गम्भीर आत्मसमीक्षा जरुरी छ ।’ 

मञ्जु खाणले पनि नेताहरूविरुद्ध राज्यशक्ति लागेर फसाउँदा पार्टी मूकदर्शक बनेको भन्दै दुखेसो पोखेकी थिइन् । आफ्ना पति बालकृष्ण खाणलाई दिइएको दुःख सम्झेर मञ्जु बैठकमा भावुक भइन् । ‘मलाई पनि त्यस्तै गरियो । तनाव दिइयो । मेरो नाममा पनि आएको थियो,’ उनले भनिन् । 

बैठकमा हालै टेरामक्स प्रकरणमा अनियमितता गरेको भनेर मुद्दा दायर गरिएका सांसद मोहन बस्नेतको विषय पनि उठेको थियो । सभापति देउवाले ‘नआत्तिनुस् । कानुनलाई मान्नुपर्छ, कानुनी प्रक्रियाअनुसार हुन्छ’ भनेका थिए । 

मोहन बस्नेत र माया राई पक्राउबारे देउवालाई उद्धृत गर्दै प्रमुख सचेतक श्याम घिमिरले भने, ‘उहाँहरूको कुरा पनि कतिपय सांसदहरूले उठाउनुभो । सभापतिले जवाफ दिनुभो । राजनीतिमा यस्तै हुन्छ, हामी पनि जेल बसेर आएका हौँ भन्ने कुरा राख्नुभो । यसलाई ठुलो अर्थमा राजनीतिमा लिनुहुँदैन भन्दै सम्झाउनुभो ।’