१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २ शुक्रबार
  • Friday, 16 May, 2025
२o८२ जेठ २ शुक्रबार १o:५o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दलित विद्यार्थीमाथि जातीय विभेद प्रकरण : उपप्राध्यापक शर्माविरुद्ध जातीय विभेद तथा छुवाछुत कसुरमा जाहेरी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २ शुक्रबार १o:५o:oo

विद्यार्थीमाथि जातीय विभेद गर्ने पोखरास्थित पृथ्वीनारायण (पिएन) क्याम्पसका उपप्राध्यापक देवीलाल शर्माविरुद्ध जातीय विभेद तथा छुवाछुत कसुरमा जाहेरी परेको छ । यद्यपि, प्रहरीले भने बिहीबार कार्यालय समयको अन्तिमतिर जाहेरी आएको र अध्ययनपछि दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

क्याम्पसमा व्यवस्थापन संकायअन्तर्गत एमबिए फाइनान्समा अध्ययनरत अमन परियारलाई औद्योगिक अवलोकन भ्रमणका क्रममा उपप्रध्यापक शर्माले अपमानजनक र जातीय विभेदका शब्द प्रयोग गरेका थिए । शैक्षिक भ्रमणमा आफूमाथि जातीय रूपमा गाली र अपमानजनक व्यवहार गरेको भन्दै विद्यार्थी अमनले उपप्राध्यापक शर्माविरुद्ध बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका हुन् । ‘यसरी शैक्षिक संस्थाले आयोजना गरेको शैक्षिक भ्रमणमा नै ममाथि जातीय रूपमा अपमानजनक व्यवहार गरी नेपालको संविधानको धारा २४, जातीय तथा अन्य छुवाछुत र भेदभाव कसुर र सजाय ऐन, २०६८ को दफा ३ (१) बमोजिम छुवाछुत गरी दफा ४ (१), २ बमोजिमको कसुर गरेकाले दफा ७ (१) क र ७ (२) बमोजिमको सजाय गरी पाऊँ,’ उनले जाहरीमा उल्लेख गरेका छन् ।

आफूमाथि उपप्राध्यापक शर्माले २९ वैशाखमा सिन्धुली कमलामाईमा जातीय विभेद गरेको र पोखरा आइपुग्दासम्म गाडीमा पनि जातीय रूपमा गाली गरी धम्की दिएको थमनले बताए । ‘मंगलबार बिहान साढे ११ बजे पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुखको कार्यकक्षमा छलफल गर्दासमेत ममाथि शर्माले जातीय अपमान गरेकाले विभेदकारी व्यवहारविरुद्ध यो जाहेरी लिई उपस्थित भएको छु,’ जाहेरीमा छ । 

थमनका अनुसार २५ देखि २९ वैशाखसम्म भएको भ्रमणका क्रममा पूर्वी नेपालको भ्रमणपछि सिन्धुली आइपुगेपछि सोमबार बिहान करिब ११ बजे बस बिग्रिएको थियो । थमनका अनुसार बसमा चढेपछि पनि शर्माले जातका आधारमा अपमान गरेका थिए । ‘बसमा पनि विपक्षी (शर्मा)ले तेरो शैक्षिक प्रमाणपत्र पोखरामा नबिक्ने, पोखराबाट नै गायब गरिदिन्छु, लोकसेवाको कपी मैले जाँच्ने हो, तलाई जान्या छु, नो लगाई कहीँ न कतैको बनाइदिन्छु भनी धम्कीसमेत दिनुभयो,’ जाहेरीमा भनिएको छ, ‘पोखरा आएपछि क्याम्पस प्रमुखको कोठामा छलफल गर्दासमेत मलाई जातीय अपमान हुने रहेकाले ममाथि भएको विभेदकारी व्यवहारविरुद्ध यो जाहेरी लिई उपस्थित भएको छु ।’ घटनापछि क्याम्पस प्रमुख हरिप्रसाद पाठकले शर्मालाई विभागीय प्रमुखको जिम्मेवारीबाट हटाइसकेका छन् । तर, विद्यार्थीले भने क्याम्पसबाट निष्कासन गर्नुपर्ने माग गर्दै आएका छन् । 

जाहेरी अध्ययनपछि दर्ता गरी कारबाही प्रक्रिया अघि बढाउँछौँ : प्रहरी 
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरिबहादुर बस्नेतले बिहीबार कार्यालय समयको अन्तिमतिर जाहेरी आएकाले अध्ययन गर्न दर्ता हुन बाँकी रहेको बताए । ‘जाहेरी अध्ययन, प्रमाण हेरेर र घटनाबारे बुझेर दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउँछौँ,’ उनले भने ।