१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २ शुक्रबार
  • Friday, 16 May, 2025
२o८२ जेठ २ शुक्रबार १७:१८:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

घर बट इन अमेरिका : नेपाली कथालाई विश्वमञ्चमा पुर्‍याउने सपना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २ शुक्रबार १७:१८:oo

वेब सिरिज ‘घर बट इन अमेरिका’ले अमेरिकामा बस्ने नेपाली परिवारको कथालाई पर्दामा उतारेको छ। यो सिरिजले नेपाली आप्रवासीहरूको जीवन, भावना र चुनौतीलाई चित्रण गर्दै नेपाल र अमेरिकाको सांस्कृतिक सम्बन्धलाई जोड्ने प्रयास गरेको छ। सिरिजको उद्देश्य मनोरञ्जन प्रदान गर्नु मात्र नभई प्रवासमा नेपाली कलाकारहरूको अनुभव र नेपाली कथालाई विश्वमञ्चमा पुर्‍याउनु रहेको निर्माण पक्षको दाबी छ।

‘घर बट इन अमेरिका’ले अमेरिकामा बस्ने नेपाली परिवारको जीवनशैली, उनीहरूको सांस्कृतिक मूल्य र नयाँ वातावरणमा समायोजनको संघर्षलाई हास्य र नाटकको मिश्रणमा प्रस्तुत गरेको छ। सिरिजका मुख्य कलाकार विमलेश अधिकारी यो सिरिजले नेपाली वेब सिरिजको नयाँ विधालाई स्थापित गर्ने प्रयास गरेको बताउँछन्। ‘हामीले अमेरिकामा बस्ने नेपालीहरूको जीवनलाई नयाँ तरिकाले प्रस्तुत गर्न खोजेका छौँ,’ उनले भने, ‘सिरिजको नामले घरको सार्वभौमिक भावनालाई समेट्छ, जुन नेपाल होस् वा अमेरिका, माया, द्वन्द्व र सम्मानको थलो रहन्छ।’

सिरिजमा चार मुख्य पात्र छन्– दुई अमेरिकामा बस्ने र दुई नेपालबाट गएका। यी पात्रहरूले नेपाल र अमेरिकाको सांस्कृतिक सेतुको भूमिका निर्वाह गर्छन्। सिरिजले नेपाली संस्कृतिलाई जीवन्त राख्दै अमेरिकी जीवनशैलीसँग तालमेल गर्ने प्रयासलाई देखाउँछ। साथै, नेपालबाट अमेरिका भ्रमणमा गएका अभिभावकहरूले नयाँ वातावरणमा अभ्यस्त हुनुपर्ने चुनौती, ट्राफिक नियमजस्ता आधारभूत कुरा सिक्ने प्रक्रिया र आफ्ना सन्तानको आधुनिक जीवनशैलीलाई स्विकार्ने संघर्षलाई रोचक तरिकाले प्रस्तुत गरिएको छ।

विमलेश भन्छन्, ‘घर जहाँसुकै होस्, त्यहाँको माया, लडाइँ र भावनात्मक द्वन्द्व उस्तै हुन्छ।’ सिरिजले नेपाली आप्रवासीहरूको जीवनमा देखिने विभिन्न पक्षलाई समेट्छ, जस्तै– अभिभावकहरू घरबाहिर हराउने समस्या, सन्तानको प्रेम–सम्बन्ध र ‘लिभिङ टुगेदर’लाई स्विकार्ने प्रक्रिया, परम्परागत रूपमा नेपाललाई ‘बुद्ध र सगरमाथाको देश’ भनेर मात्र चिनाउने शैलीमाथि हल्का व्यंग्य। यस्ता दृश्यहरूले सिरिजलाई दर्शकसँग जोड्ने कोसिस गरेको छ।

सिरिजको पहिलो सिजन सस्पेन्समा टुंगिन्छ, जहाँ सन्तानको गर्भावस्था र पार्टनरको वैवाहिक अवस्थाले कथालाई नाटकीय मोड दिन्छ। यो सस्पेन्स दोस्रो सिजनका लागि तयार गरिएको हुन सक्छ, जसले दर्शकको कुतूहल बढाएको छ।

विमलेशले आफ्नो अभिनय यात्रा र प्रवासको अनुभव सुनाउँदै भने, ‘कलाकारको आत्मा क्यामेराअगाडि आफैँ जाग्छ। मलाई कहिल्यै ग्यापको असर महसुस भएन। यो घर फर्किएकोजस्तो लाग्छ।’ उनले अमेरिकामा ग्राफिक डिजाइन र आइटीमा काम गर्दै सिर्जनशीलतालाई जीवित राखेका थिए। उनको यो समर्पण सिरिजको गुणस्तरमा झल्किन्छ।

सिरिजमा अरुणिमा लम्साल, विमलेश अधिकारी, राधा लम्साल र खेम शर्माको मुख्य भूमिका छ। खेम शर्माको हास्यले सिरिजलाई जीवन्त बनाएको छ। सहायक कलाकारहरूले कथालाई अल्छीलाग्दो हुनबाट जोगाएका छन्। यद्यपि, केही दृश्य र संवादहरू लामो लाग्न सक्छन्, तर खेमको कमेडीले त्यसलाई सन्तुलनमा राख्ने कोसिस गरेको छ।

विमलेशले हलिउडमा नेपाली कथालाई अवसरको सम्भावना औँल्याउँदै भने, ‘अमेरिका सपनाको देश हो, तर यहाँ सफलताका लागि मिहिनेत र समर्पण चाहिन्छ।’ उनी यो वेब सिरिजको भविष्यप्रति आशावादी छन्।