
घरमा लगेर बस ठोक्काउने सहचालक २० वर्षीय अनिल खत्रीलाई प्रहरीले पक्राउ गरेको छ। गएराति करिब २ बजेको समयमा बा.६ख ५९९८ नम्बरको भक्तपुर–बागबजार रुटमा चल्ने बस मध्यपुर थिमिको निकोसेरास्थित स्थानीय सानुमाया धौबन्जारको घरमा जोतिन पुगेको थियो । चालकले भक्तपुर ग्यारेजमा राखेको बस सहचालकले राति दुर्घटना गराएको ख्वप भक्तपुर यातायात प्रालिले प्रतिक्रिया दिएको छ ।
भक्तपुर–पेप्सिकोला सडकखण्डको निकोसेरामा गणेश मन्दिरलाई भग्नावशेषमा परिणत गर्दै बस स्थानीय सानुमाया धौबन्जारको घरमा ठोक्किएको हो। दुर्घटनाबाट भौतिक क्षति भए पनि कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी वृत्त थिमिका प्रमुख रहेका डिएसपी नवराज ढुंगानाले जनाएका छन् ।
चालकले आफ्नो घरमा राति रोकेर राखेको बसलाई सहचालक खत्रीले चलाएर हिँडेको प्रारम्भिक अनुसन्धानले पत्ता लागेको डिएसपी ढुंगानाको भनाइ छ। सहचालकले मादक पदार्थ सेवन गरेकाे पाइएको उनले पुष्टि गरेका छन् । ‘सहचालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्दै छौँ,’ डिएसपी ढुंगानाले भने।
स्थानीयले चालकलाई जोगाउन सहचालकमाथि दोष थुपारिएको हुन सक्ने आशंका गरेका छन्। ख्वप भक्तपुर मिनीबस यायायात प्रालिका अध्यक्ष ज्ञानेन्द्र महर्जन भने यसअघि पनि सहचालकले माइक्रोबस चोरेर भारत पुर्याएको र आफूहरूले त्यहाँबाट आफ्नै सवारी किनेर ल्याउनुपरेको अनुभव सुनाए । यद्यपि, अनुसन्धानबाट वास्तविकता पत्ता लाग्ने उनले विश्वास व्यक्त गरेका छन् ।