
कांग्रेस सांसद राजेन्द्र बजगाईंले १२ सय मेगावाटको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण अझै अनिश्चित हुनु दुःखद भएको बताएका छन्।
आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रममा नपरेको बुढीगण्डकीको निर्माण कहिले सुरु हुन्छ भनेर प्रतिनिधिसभामा सांसदहरूले प्रश्न गरेका थिए। जवाफमा प्रधानमन्त्री केपी ओलीले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक पूर्वतयारी, अध्ययन र अनुसन्धान अहिलेसम्म पूरा नभएकाले आगामी वर्ष निर्माण सुरु नहुने भनेपछि सत्तारूढ कांग्रेस सांसदले असन्तुष्टि जनाएका हुन्।
‘४४ अर्ब रुपैयाँ मुआब्जा वितरण भइसकेको छ, नागरिकबाट इन्धन खरिद गर्दा संकलन गरिएको बुढीगण्डकी करको रकम खर्च सुनकोशी–नारायणीतिर रकमान्तर भइरहकेको परिदृश्य देखेकै हौँ। दुई–तीन दशकदेखि अध्ययन चलिरहेको र १२ वर्षदेखि अनिश्चिततामा अल्झिएको बुढीगण्डकी आयोजना अझै पूर्वतयारीकै खोलामा बगिरहनु दुर्भाग्य छ,’ सांसद बजगाईंले भने।
कांग्रेस सत्तासाझेदारमा रहँदा गोरखाका सांसद तथा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकीलाई चुनावी एजेन्डा बनाएर नीति तथा कार्यक्रममा राखेको भन्दै अहिले हटाउनु आपत्तिजनक भएको टिप्पणी गरे।
बुढीगण्डकी किन प्राथमिकतामा परेन भनेर आफूले संसद् भवनभित्रै प्रधानमन्त्रीसँग चिन्ता व्यक्त गर्दा ‘सम्बन्धित निकायहरूले आवश्यक अध्ययन, परियोजनाको सम्भाव्यता प्रतिवेदन तथा आन्तरिक र बाह्य स्रोतहरूको भरपर्दो आधार तयार नगरेको हुँदा नेपालले एक्लै यो आयोजना अगाडि बढाउन नसक्ने’ जवाफ दिएको र यसबाट गोरखाका जनता निराश भएको उनको भनाइ छ।