१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २९ सोमबार
  • Monday, 12 May, 2025
दीपेश पछाई लुम्बिनी
२o८२ बैशाख २९ सोमबार o८:४८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

२५६९औँ बुद्धजयन्ती विभिन्न कार्यक्रम गरी लुम्बिनीमा मनाइँदै

Read Time : > 1 मिनेट
दीपेश पछाई, लुम्बिनी
नयाँ पत्रिका
२o८२ बैशाख २९ सोमबार o८:४८:oo

२५६९औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवस विविध कार्यक्रम गरी लुम्बिनीमा मनाइँदै छ । बिहानदेखि भिक्षु–भिक्षुणी, लामा गुरुहरू तथा उपासक–उपासिकाहरूको सहभागितामा लुम्बिनीमा प्रार्थना गर्नुका साथै शोभायात्रा गरिँदै छ । लुम्बिनी विकास कोषले रुपन्देही, कपिलवस्तु र नवलपरासीमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउन लागेको कोषका उपाध्यक्ष डा. ल्यारकाल लामाले जानकारी दिए । 

गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र निधनको त्रियोग बौद्ध  पूर्णिमाकै दिन हुनुले  पनि यो  दिन विशेष महत्त्वको भएको लामाले बताए । गौतम बुद्धको जन्म २६४९ वर्षअघि ई.पू.६२३ मा लुम्बिनीको सुन्दर र पवित्र बगैँचामा वैशाख शुक्ल पूर्णिमाका दिन भएको थियो । २५६९औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवस सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ५६९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। मन्त्री पाण्डे आइतबार नै लुम्बिनी आइपुगेका छन् ।

शाेभा यात्रापछि आयोजित कार्यक्रमलाई प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री  बद्रीप्रसाद पाण्डेसहित संघीय तथा प्रदेश मन्त्रीहरू, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रतिनिधिसभा र प्रदेश सभा सदस्यसहित उच्चस्तरीय पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधिका साथै  विदेशी पाहुनाहरूको सहभागिता रहने उपाध्यक्ष डा. ल्यारकाल लामाले बताए ।

तीनदिने कार्यक्रमअन्तर्गत वैशाख २८ गते साँझ मायादेवी मन्दिरपरिसरमा अहोरात्र महापरित्राण पाठ गरी दीप प्रज्ज्वलन गरिएको थियो । आज बिहान भिक्षु–भिक्षुणी, लामा गुरुहरू तथा उपासक–उपासिकाहरूको सहभागितामा प्रार्थना र  पाँच नम्बर गेटबाट शोभायात्रा निकालिएको छ ।त्यसैगरी ३० गते बृहत्तर लुम्बिनी क्षेत्रअन्तर्गत अस्तिधातु रहेको रामग्राम, प्राचीन तिलौराकोट दरबार, कुदान, देवदहमा पनि बुद्धजयन्तीका अवसरमा कोष र स्थानीय तहहरूसँगको समन्वयमा विविध कार्यक्रम गरेर मनाइँदै छ ।

बृहत्तर लुम्बिनी क्षेत्रमा सरसफाइ कार्यक्रम, दीप प्रज्वलन, खेलकुद प्रतियोगिता, शाकाहारी खाना महोत्सव, आँखा शिविर, रक्तदान कार्यक्रम, नाट्य प्रस्तुति, शान्ति ध्यान, प्रभूति उत्सवलगायतका कार्यक्रमहरू आयोजना गरिँदै छ । बुद्धजयन्तीको भोलिपल्ट वैशाख ३० गते बर्सेनि हुँदै आएको बोधिसत्व सिद्धार्थको शोभायात्रा र लुम्बिनीबाट नवजात शिशु राजकुमार सिद्धार्थलाई कपिलवस्तुको तिलौराकोट लगिने कार्यक्रम रहेको कोषका वरिष्ठ सूचना अधिकारी डा. हरिध्वज राईले जानकारी दिए ।