
सहस्राब्दीकै श्रेष्ठ ठहरिएको मार्क्सवादी विचारका प्रवर्तक कार्ल मार्क्सले धर्म अफिम हो भनिदिएकाले अधिकांश कम्युनिस्टहरू धर्म र अध्यात्मप्रति पूर्वाग्रही बने । पूर्वाग्रहका कारण उनीहरूले ऋषिमुनि, सन्त, ज्ञानी बुद्धहरूले प्रतिपादन गरेका धर्म र अध्यात्मको ज्ञान हासिल गर्ने अवसर गुमाए । फलस्वरूप प्रकृतिको नियम नै धर्म हो, तिनै नियम स्वयं नियामक हुन भन्ने सच्चाइ जान्नबाट वञ्चित भई धर्मविज्ञानलाई अन्धविश्वास रुपि अफिम हो भन्ने भ्रम ठानेर आफू र अरूलाई समेत भ्रममा पारे ।
५ मे १८१८ मा पश्चिम जर्मनीमा (यहुदी परिवार) जन्मेका कार्ल मार्क्स ६ वर्षको हुँदा उनका बाबु धर्म परिवर्तन गरी इसाई बनेका थिए । त्यसैले धर्मप्रति मार्क्सको गहिरो लगाव नरहनु स्वाभाविकै हो । त्यसमाथि उनी जन्मेहुर्केको अवधिमा धर्म हराएका सम्प्रदाय मात्र हाबी भएको र त्यस्ता सम्प्रदायप्रति मानिसको आसक्ति अफिमको नशाभन्दा बढी गढेको हुँदा मार्क्सले नक्कली धर्मलाई अफिम भनि सत्य उद्घाटित गरेका हुन । मानव कल्याणको खोजीमा सिंगो जीवन समर्पित गरेका मार्क्स स्वयं एक सन्त हुन् । उनी बाह्य जगत् र दार्शनिक मान्यताको अध्ययन र चिन्तनमननमा मात्र सीमित हुन पुगे । आफुभित्रको आन्तरिक अन्तरिक्षमा साधनारत रही स्वअनुभूति गरी भावनामय प्रज्ञा जगाउन चुके । फलस्वरूप मार्क्सले अर्धसत्य मात्र पत्ता लगाए । सफ्टवेयर बनाए तर हार्डडिस्कको बेवास्ता गरे । उनले अतिरिक्त मूल्यको सिद्धान्त प्रतिपादन गरी सामन्ती प्रवृत्तिले मजदुरको शोषण गर्ने बाह्य परिपाटी उजागर गर्दै द्वन्द्वात्मक भौतिकवादको सफ्टवेयर बनाए । तर, शोषण प्रवृत्तिको स्रोत राग, द्वेष र मोह हटाएर शोषण प्रवृत्तिलाई परोपकारीमा रूपान्तरण गरी समतामूलक समाज निर्माण गर्ने धर्म धारण गर्नुपर्ने हार्डडिस्क बनाउन ध्यान दिएनन् । त्यसैले उनले बनाएको सफ्टवेयरले अपेक्षित लक्ष्य भेट्टाउन सकेन , सकेको छैन र सक्दैन पनि ।
चार वेद १८ पुराण रचिसकेपछि वेदव्यासले धर्म सूत्रको रूपमा ‘परोपकाराय पुण्याय पापाय परपीडनम्’ अर्थात् अरूलाई पीडा दिनु पाप हो, अरूको सेवा गर्नु धर्म हो भन्दै धर्मको सारमा जोड दिए । भागवत गीतामा श्रीकृष्णले अर्जुनलाई कर्म नै ईश्वर र कर्म नै पूजा हो भन्ने उपदेश दिएर क्रियाशीलतालाई प्राथमिकतामा राखे । स्वामी विवेकानन्दले ‘ब्रह्मविद् ब्रह्मदेव भवति र ममैवाञ्छुजीवलोके जीवभूत सनातन’ भन्ने वेदका ऋचाको अर्थ ईश्वर जान्ने नै ईश्वर हो र म नै जीव रूपमा उपस्थित छु भनी (अमेरिकाको सिकागोमा आयोजित विश्व धर्मसभामा) मानिस नै ईश्वरको अंश भएको रहस्योद्घाटन गरे ।
भागवत गीताको पन्ध्रौं अध्यायको पन्ध्रौं श्लोकमा ‘म प्राणीहरूको हृदयमा बसेको छु, मबाट नै स्मृति एवम् ज्ञान मिल्छ, अज्ञानताको नाश हुन्छ, वेदद्वारा जानिने मै हुँ, अनि वेदान्तको कर्ता एवं वेदहरूको यथार्थ ज्ञाता पनि मै हुँ’ भनि आत्मा (आफु स्वयंलाई) जनाईएको छ । सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेपछी चार आर्य सत्य क्रमशः दुःख छ, दुःखको कारण छ, कारणको निवारण छ र निवारणको आष्टांगिक मार्ग(उपाय) बताएका छन् । सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वाक, सम्यक कर्म, सम्यक आजीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधीलाई आष्टांगिक माग बताउँदै उनले सुखी जीवन जिउन शील समाधी र प्रज्ञाको धर्म मार्गमा चल्नुपर्ने ज्ञान र उपदेश दिएका छन् ।
इसाई धर्मका प्रवर्तक यशू ख्रिष्टले ‘लभ इज गड’ भन्दै आफैँलाई झुन्ड्याएर मार्नेहरूलाई माफ गरिदेऊ भनेका छन् । उनीहरूप्रति प्रेम बर्साएर सारा मानवको हित, मानवबिच परस्परमा समर्पित हुने धर्म धारण गर्न प्रेरित गरे । यसरी अनेक युगका ऋषिमुनि र सन्तले सृष्टिको प्रारम्भदेखि नै सृष्टि सञ्चालन गर्ने विज्ञानसम्मत धर्मको स्वअनुभूति मानव कल्याणका खातिर हस्तान्तरण गरे ।
आचार्य सत्यनारायण गोयन्काले आफ्ना प्रवचनमा सच्चा धर्म लोप हुँदै नक्कली धर्मको बोलवालाले कोलाहल मच्चाएको खुलाएका छन् । कार्ल मार्क्सले पनि नक्कली धर्मको कर्कस पट्यारलाग्दो आवाजलाई अफिमको उपमा दिएका हुन् । अफिमको नशा त केही समयपछि छुट्छ । नक्कली धर्मको नशाले जीवनभर नछोड्ने हुँदा अफिमभन्दा घातक हुन्छ । विश्वमा व्याप्त अशान्ति र द्वन्द्व, सच्चा धर्म लोप हुँदै जाँदाको दुष्परिणाम हो ।
त्यसकारण सर्वप्रथम सच्चा धर्म चिन्न जरुरी छ । हरेक विषयको पहिचान उसको गुण, स्वभाव, काम र यसको प्रभावबाट हुन्छ । सम्यक, समता, सरलता, सजगता, निर्भयता, शीतलता, आरोग्यता, परमानन्दता, क्रियाशीलता सर्वहितकारी सर्वस्वीकार्यता धर्मका गुण हुन् । चित्त शुद्ध र निर्मल पार्ने धर्मको स्वभाव हो । धर्मले रागद्वेष र मोहजस्ता विकारबाट मुक्त राख्छ । धर्मको प्रभावले सुख शान्तपूर्ण जीवन र पुनर्जन्मको चक्रबाट मुक्ति मिल्छ । शुद्ध धर्मले सदा स्पष्ट, सुबोध, यथार्थ रूपमा जीवनमा लाभ दिन्छ । जीवनमा प्रत्यक्ष लाभ दिएको छैन भने त्यो धर्म होइन, धोका हो भन्नेमा प्रस्ट हुनुपर्छ ।
धर्मलाई जीवनमा उतार्न धर्मधारण गर्नु अनिवार्य छ । धर्मधारण गर्न लोकचक्रबाट धर्मचक्रमा प्रतिस्थापित हुनैपर्छ । ६ इन्द्रिय आँखा, कान, नाक, जिब्रो, छाला र मनले क्रमशः रूप, शब्द, गन्ध, रस, स्पर्शयोग्य पदार्थ र विचारसँग स्पर्श गरी तत्क्षण चित्तमा सुखद वा दुःखद संवेदना उत्पन्न गर्छन् । सुखद संवेदना प्रिय लागेर त्यसैमा टाँसिइरहने राग उत्पन्न हुने र दुःखद संवेदना अप्रिय लागेर छिटो हटाउन खोजी द्वेष उत्पन्न भई मन तनाव र उत्तेजनाले भरिन्छ । उत्तेजना गहिरो आसक्तिमा परिवर्तन भई दूषित भव–चक्रको रूपमा बढ्छ र हामीलाई व्याकुल, व्यथित बनाउँदै दुःखको भवसागर खडा गरिदिन्छ । समता गुम्दै विषमता सुरु भई दुःख आरम्भ हुने र दुःखले दुःख बढाउँदै लाने गोलचक्कर चल्छ । यो गोलचक्कर नै लोकचक्र हो ।
धर्मचक्रमा प्रतिष्ठित हुन मानिसले ज्ञानचक्षुले आफूभित्रैको आन्तरिक अन्तरिक्षमा विशेष अवलोकन गर्नुपर्छ । भागवत गीताको पन्ध्रौँ अध्याय, दसौँ श्लोक ‘उत्क्रामन्तं स्थितं वापि भुंजानं वा गुणान्वितम् । विमूढा नानुपश्यन्ति पश्यन्ति ज्ञानचक्षुष ।’ ले धर्मचक्रमा प्रतिष्ठित हुन मार्गदर्शन गरेको छ । आफ्नो धन्दा र अनगिन्ती विषयप्रति धेरै आसक्त हुने विमूढ मानिस तिनै विषयमा अल्मलिएर आत्मा (स्वयंलाई) चिन्दैन । ज्ञानचक्षु खुलाउनेले मात्र ज्ञानचक्षुद्वारा आत्माले नै कुनै एउटा शरीरको जीवन अवधिभरका अनुभवहरूलाई प्रकाशित गर्दै बुद्धि विवेकपूर्ण चैतन्य प्रदान गरेको बोध गर्छ र आन्तरिक अन्तरिक्षमा आत्मपरीक्षण गरी धर्मचक्रमा प्रतिष्ठित हुन्छ ।
जरा, व्याधि र मृत्युजस्ता मानिसका दुःख देखेर यसको निवारणको उपाय खोजीमा दरबार छाडी जंगलमा पाँच वर्षसम्म कडा तप गर्दा सफलता नमिलेपछि ध्यान सुरु गरेको एक वर्षमा धर्मचक्रमा प्रतिष्ठित हुने विधि प्राप्त गरी युवराज सिद्धार्थ गौतम बुद्ध बने । त्यो विधि हो आनापान सति र विपश्यना ।
आनापान सति र विपश्यना विधिले प्रकृतिको नियम बोध गराएर मनमा विकार आएकै क्षणमा जानकारी दिन्छ । उदाहरणका लागि मनमा रागद्वेष जाग्नेबित्तिकै दुई कुरा घटित हुन्छन् । एउटा हामीले फेर्ने सासले आफ्नो स्वाभाविक गतिमा फेरबदल गर्दै तीव्र बनाउँछ । अर्को शरीरको अंग–प्रत्यंगमा सूक्ष्मस्तरमा कुनै न कुनै प्रकारका जीव–रासायनिक क्रिया चल्न थाल्छ । सासको गतिको स्वभावलाई जस्ताको तस्तै नियालिरहेको आनापान सति विधिले श्वासको गति तीव्र हुनेबित्तिकै सूचित गरिदिन्छ । सूचना प्राप्त हुनासाथ तत्क्षण समता र साक्षीभावले विपश्यना अभ्यास गर्दा विकार उत्पन्न हुने स्रोत स्वतः बन्द हुन्छ । शरीरमा हुने जीव–रासायनिक प्रतिक्रियाको साक्षी र समता भावले हेर्ने अभ्यासलाई विपश्यना भनिन्छ । आनापान सति र विपश्यना दुवै विधिको एक–अर्कोसँग घनिष्ठ सम्बन्ध छ ।
साक्षी भावले हेर्ने कलाले निरर्थक कुरामा आसक्ति राख्दा हलचल मच्चाएको सच्चाइ सत्यको साक्षात्कारले संवेदनाप्रति प्रतिक्रिया गरी विकार जगाउने पुरानो स्वभाव पल्टाएर प्रतिक्रिया नगरी समता र तटस्थ रही संवेदनाबाट विचलित नभई चित्त शुद्ध र निर्मल राख्ने बानीको विकास हुँदै स्वभावमा परिणत हुन्छ । चित्त निर्मल शुद्ध बनाउनु नै धर्म धारण गर्नु हो । कोरा चर्चा र चिन्तन मात्र गर्नु धर्मको नाउँमा धोका हुन्छ । धारण गरे मात्र धर्म हो । धर्म अफिम त हुँदै होइन । अमृतभन्दा बढी उपयोगी छ । अमृतको सीमा छ, धेरै सेवन वा सडेको अमृत विष समान हुन्छ । कहिल्यै नसड्ने, जति पालन गर्यो, उति उत्कृष्ट बनाउने, सबै जाति, भाषी, सम्प्रदाय, सबै देशमा सदा सर्वदा आवश्यक पर्ने धर्म अतुलनीय छ ।