१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २७ शनिबार
  • Saturday, 10 May, 2025
पवन बराइली काठमाडाैं
२o८२ बैशाख २७ शनिबार o९:१६:oo
Read Time : > 3 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

चर्चाको भोकले संगीतमा कलात्मक पक्ष कमजोर भइरहेछ

Read Time : > 3 मिनेट
पवन बराइली, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख २७ शनिबार o९:१६:oo

पहिलो एल्बम ‘बास्ना’ले संगीतकर्ममा छरेको बास्ना
बाग्लुङ मल्म गाउँमा जन्मिएँ, हुर्किएँ । घरमा बुबाले पञ्चेबाजा बजाउनुहुन्थ्यो । त्यसैले म पनि बाजासँग नजिक हुन पाएँ । बिस्तारै संगीतप्रतिको मोह जाग्दै गयो । एसएलसी पास गरेपछि सदरमुकाममा उच्च शिक्षा अध्ययनका लागि आएँ । अध्ययनसँगै संगीतलाई अघि बढाएँ । त्यतिवेला रक्तिम सांस्कृतिक अभियानमा आबद्ध भएँ । रक्तिम अभियानलाई मजस्तै कलाकार चाहिएको रहेछ । अभियानमा झन्डै पाँच वर्ष लागेँ । त्यसले मलाई संगीतको आधारभूत ज्ञान दियो । 

०५७ सालमा गायक, संगीतकार बन्ने सपना पालेर काठमाडौं आएँ । त्यही वेला रेडियो नेपालले आयोजना गरेको लोकगीत प्रतियोगितामा भाग लिने अवसर मिल्यो । प्रतियोगितामा मैले गाएको गीत सबैले मन पराए । यही कारण संगीतकार पूर्ण नेपालीले मेरो एउटा लोकगीत आफ्नै खर्चमा रेकर्डसमेत गराइदिनुभयो । यसपछि लोकदोहोरीका एल्बम नै निकालेँ । फाइदा नभए पनि मुस्किलले लगानी उठ्थ्यो र रहर पूरा हुन्थ्यो । 

०६३ सालतिरको कुरा हो । काठमाडौंमा सीमित रेकर्डिङ स्टुडियो थिए । क्यासेट कम र सिआरबिटी बढी प्रयोग हुने गर्थ्यो । यतिवेलै एउटा एल्बमका लागि आठवटा धुन तयार पारेको थिएँ । गायक नरेन्द्र प्यासीलाई भेटेँ र धुन सुनाएँ, उहाँले निकै मन पराउनुभयो । संगीतको ट्र्याक तयारपछि हामीले आनन्द अधिकारीलाई भेट्यौँ । उहाँले पनि संगीत मन पराउनुभयो । त्यसपछि उहाँले चार महिना लगाएर शब्द लेख्नुभयो र हामीले ‘बास्ना’ एल्बम तयार पार्‍यौँ । आनन्द अधिकारीको शब्द, नरेन्द्र प्यासीको स्वर र मेरो संगीत रहेको ‘बास्ना’लाई श्रोताले खुबै मन पराए । हजारौँ प्रति क्यासेट बिक्री भए भने एल्बममा रहेका गीत सिआरबिटीमा पनि निकै डाउनलोड भए । गीतको म्युजिक भिडियो निर्देशक आलोक नेम्वाङले बनाए । ‘बास्ना’पछि ‘सृष्टि’ र ‘वाणी’ एल्बममा संगीत भरेँ । 

सुरुवाती दिनमा संगीतबाट आर्थोपार्जन वा चर्चा पाइएन । यद्यपि, कहिल्यै थाकिनँ । बरु संगीतमा नयाँ–नयाँ प्रयोग गर्ने कोसिस गरेँ । मैले संगीत संयोजन गरेको ‘सालको पात टपरी’ निकै लोकप्रिय बन्यो । त्यसपछि ‘लालुमै...’ बोलेको लोकगीतमा संगीत दिएँ । यो गीत पनि धेरैले रुचाए । लोकशैली र डान्सिङ ‘माया लुकी लुकी...’, ‘नाइँ मलाई थाछैन...’, ‘यो कुरा गोप्य नै राखौँला...’, ‘मिठो सारै मिठो...’ ‘म पनि बन्छु कि कवि देवकोटा...’ लगायत गीतलाई श्रोताले निकै मन पराइदिनुभयो । 

प्रविधिले स्खलित बनेको गीत–संगीत 
अहिले नेपाली गीतसंगीत डिजिटल युगमा प्रवेश भइसकेको छ । संगीत सिर्जनाका लागि सफ्टवेयर विकास भएका छन् । यस्ता प्रविधिले सजिलो बनाइदिएको छ । पहिला गीतको गुणस्तरबारे धेरै कुरा हुन्थ्यो । पैसा कति कमाउँछ भनेर कुरा हुँदैनथ्यो । क्यासेट कति बिक्री हुन्छ भन्नेतर्फ ध्यानै जाँदैनथ्यो । निःस्वार्थ भावले कला पक्षलाई मात्रै जोड दिइन्थ्यो । अहिले बजारलाई हेरेर गीत सिर्जना हुन्छ । संगीतकार हुनुको सबैभन्दा ठुलो चुनौती यही हो । गीत बनाउँदा पनि चल्छ कि चल्दैन भनेर सिर्जना गर्नुपर्ने वेला आयो । पहिल्यै सोचेर गीत बनाउनुपर्ने अवस्था छ ।

सुरुवाती दिनमा रेडियो नेपालले गीत रेकर्ड गरिदिन्थ्यो । गीत चले पनि नचले पनि मतलब हुँदैनथ्यो । गीतसंगीत सिर्जना जीवनयापनको पेसा बन्यो । मैले गाएको गीतले कति भ्युज पाउँछ । गीतले कति कमाइ गर्छ भन्ने ध्याउन्नतिर केन्द्रित भएको छ । जसले कला पक्ष स्खलित भएको देखिन्छ । 

अचेल नकारात्मक तरिकाबाट पनि मार्केटिङ गर्ने परिपाटी बढिरहेको छ । अहिलेको पुस्ता ‘एटेन्सनसिकर’ भएको छ । नकारात्मक होस् वा सकारात्मक भ्युज बटुल्ने ध्याउन्नमा छ । कालान्तरमा यसले संगीतलाई दूषित बनाउँछ । क्षमता भएकाहरू संगीतबाट पलायन भइरहेका छन् । डिजिटल प्लेटफर्मले संगीतलाई आममान्छेको सहज पहुँचमा ल्याए पनि कलात्मक पक्ष कमजोर बन्दै गएको भान भइरहेको छ । 

नयाँ–नयाँ प्रविधिको विकासले संगीतको गुणस्तरमा समेत प्रश्न उठाइरहेको छ । यसले सजिलो बनाइदियो होला, तर दीर्घकालीन हुन सक्दैन । ज्ञान नै नभएका मान्छेले समेत यस्ता प्रविधि प्रयोग गरेर गीत–संगीत सिर्जना गर्न सक्ने अवस्था बनेको छ । अझ श्रोताले त्यस्तै गीत–संगीतलाई मन पराइदिने वातावरण छ । 

गीत–संगीतको प्रचारमा सामाजिक सञ्जाल (टिकटक, फेसबुक रिल, इन्स्ट्रा आदि)को उपस्थिति व्यापक बनिरहेको छ । टिकटकमा १५ सकेन्डको भिडियो हेर्ने–सुन्ने जमात बढ्दो छ । १५ सेकेन्डमा गीत–संगीतको मापन गर्न सकिन्छ र ? यसले गीत–संगीतको आयु घटिरहेको पाउँछु । मेरो बुझाइमा संगीतको जति धेरै आयाम हुन्छ, त्यति दीर्घकालीन हुन्छ । जति संगीतको तत्व कम छ, त्यसको आयु पनि कम हुन्छ । 

पहिले एउटा गीत सिर्जना गरेर आममान्छेसम्म पुग्न धेरै समय लाग्थ्यो । सिर्जना गर्नु भनेको सन्तान जन्मनुजस्तै हो । संगीत सिर्जना सजिलो छैन । मेरो करिअरमा छोटो समयमा सिर्जना गरेका गीत हिट भएका छैनन् । एउटा गीत सिर्जना गर्न मलाई कम्तीमा एक वर्ष लाग्छ । कतिपय त दुई–तीन वर्षमा आएका पनि छन् । 

पहिले गीतको सुरमा अडिन सक्नेले मात्रै गाउँथे । सुर करेक्सन गर्ने उपकरण आएको थिएन । जसले सुरमा गाउन सक्छ, उसले गाउँथ्यो । जसले सुरमा गाउन सक्दैन, उसले स्टुडियोमा धेरै टेक खान्थ्यो । बेसुरा गीत फाइनल गर्न पनि नमिल्ने, पटक–पटक गाउन स्टुडियोमा समय नै पाइँदैनथ्यो । जसले पनि गीत गाउन सक्ने अवस्था थिएन । 

अचेल गायक–गायिकामा छोटो समयमै चर्चित हुने भूत सवार छ । कलात्मक पक्षभन्दा बढी चर्चा खोज्ने संस्कृतिको विकास भइरहेको छ । संगीतको सुरमा अडिएर गाउन सक्नु, नसक्नुलाई समान्य मानिन्छ । त्यसैले संगीतको कलात्मक पक्ष खस्किँदै गएको छ । 

हिजो हामी गायक–गायिका सुनिन्थ्यौँ मात्र, आज देखिन्छौँ पनि । सिडी र क्यासेट गीत संग्रहका रूपमा ल्याउने जमाना गयो । गीत इन्टरनेटका माध्यमबाट राख्न सकिने समय आएको छ । गीत रेकर्डिङ, म्युजिक भिडियो र प्रचारप्रसारका कारण अहिले महँगो व्यवसाय बन्न पुगेको छ । यसमा हामीले आफूलाई ढाल्नुपर्ने स्थिति छ । कलाकारलाई आम्दानी गर्ने राम्रो स्रोत स्टेज सो नै हो । गीत बन्नलाई भावना चाहिन्छ । भावनापछि मात्रै प्रविधि आउँछ । मलाई भावले छोयो भने मात्रै गीत बन्छ । गीतले कथा बोक्नुपर्छ । अनि मात्रै प्रविधिको कुरा हो । 

प्रविधिले गीत–संगीतको कलात्मक पक्ष कमजोर बनाउँदै लगेको देखिन्छ । साधना अहिले पनि आवश्यक नै छ । तर, गायन पक्ष अलि कमजोर भएको हो कि भन्ने भान हुन्छ । प्रविधिले सजिलो बनाइदियो, साधना कम भयो । हामीले पनि आफूलाई समयअनुसार ढाल्नुपर्ने भएको छ । यो एक प्रकारको परिवर्तन पनि हो । तर, डिजिटल पर्दामा हिट वा सुपरहिट हुनेभन्दा पनि कसरी सिर्जनशील रहिरहेर संगीतलाई निरन्तरता दिने भन्ने नै हो ।