
प्रेस काउन्सिल नेपालले ‘न्युज रुम’मा रचनात्मक पत्रकारिताको अभियान थालेको छ । काउन्सिलको गत साउन महिनामा बसेको बोर्ड बैठकले ‘न्युज रुम’मा रचनात्मक पत्रकारिताको बहस अघि बढाउने निर्णय गरेको थियो । सो अभियानको सुरुवात मंगलबार गोरखापत्र संस्थानबाट गरिएको हो ।
संस्थानले बुधबार १२५औँ वार्षिकोत्सव मनाउँदै छ । सो अवसरमा विभिन्न कार्यक्रम भइरहँदा मंगलबार प्रेस काउन्सिल नेपाल र गोरखापत्र संस्थानले ‘रचनात्मक एवं समाधानमुखी पत्रकारिताको बाटो’ विषयक विशेष कार्यक्रम आयोजना गरेका हुन् । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले केही हुँदैन भन्ने गलत भाष्य हटाएर आशाको सञ्चार गर्न सञ्चारकर्मीको विशेष भूमिका हुने बताए।
गोरखापत्र नेपालको पत्रकारिताको मानक भएकाले यहीँबाट ‘न्युज रुम’मा रचनात्मक र समाधानमुखी पत्रकारिताको बहसको सुरुवात गरिएको बताए । उनले भने, ‘जनमानसमा कुनै वेला पत्रिका भनेको गोरखापत्र नै हो भनेर बुझिन्थ्यो । दक्षिण एसियाकै पुरानो सञ्चार संस्थामा पर्ने यसका प्रकाशनमार्फत रचनात्मक पत्रकारिताको अभियानलाई जोडिएको हो।’
वार्षिकोत्सवलाई कसरी रचनात्मक बनाउने भन्ने सन्दर्भमा १२५ वर्षको गोरखापत्रको इतिहासमा यसपटक फरक खालको कार्यक्रम भएको अध्यक्ष बस्नेतले बताए । सन् ६० को दशकदेखि रचनात्मक पत्रकारिता कुनै न कुनै तवरले आए पनि नेपालमा फाट्टफुट मात्रै यसको प्रयोग भएको उनले बताए। अहिले मूलधारको पत्रकारितामाथि चुनौती रहेकाले मिडिया बचाउनुपर्ने, संस्थागत र विश्वासनीय बनाउनुपर्ने अवस्था रहेको उनले उल्लेख गरे । उनले भने, ‘प्रेस काउन्सिल नेपालले विज्ञसँगको छलफल र सम्पादक संवादपछि अहिलेको पत्रकारिताको धार बढी सिर्जनात्मक र रचनात्मक बनाउन सकिएन भने पत्रकारितामाथि प्रश्न उठिरहने देखिएको छ ।’
अहिले काउन्सिलले ‘न्युज रुम’मा जाने र त्यहाँको रचनात्मक पत्रकारिताको अभ्यास बुझ्ने र त्यसलाई बढुवा दिन ‘न्युज रुम’, राज्य, सम्पादक र व्यवस्थापनले के गर्नुपर्छ भनेर काउन्सिल केन्द्रमा बसेर बहस सिर्जना गरिरहेको उनले जानकारी दिए। गोरखापत्र संस्थानका प्रकाशनमा भइरहेको रचनात्मक पत्रकारिताको प्रयोगबारे काउन्सिलको हलमा अरू पत्रकार बोलाएर छलफल गर्न पाइयोस् भन्ने काउन्सिलले चाहेको उनले बताए। रचनात्मक पत्रकारितामा कुनै पनि पक्षलाई गाली नभएर सिर्जनात्मक रूपमा विशेष खोज र अध्ययन गरेर समाधान दिइनुपर्ने उनले बताए ।
गोरखापत्र संस्थानका अध्यक्ष विष्णुप्रसाद सुवेदीले रचनात्मक पत्रकारिता वा विकास पत्रकारिता जे भनिए पनि अबको पत्रकारिताले समस्या मात्रै उजागर गर्ने नभएर समाधानको खोजी गर्नुपर्ने बताए। गोरखापत्र विरासत र साधनस्रोतका हिसाबले अरू सञ्चारमाध्यमभन्दा समृद्ध भएको उनले बताए । गोरखापत्र सुधारका लागि कार्ययोजनसहित अघि बढिरहेको उनले जानकारी दिए। उनले भने, ‘संस्थानले गरिरहेको सुधारको प्रयत्न गोरखापत्र, द राइजिङ नेपाल र यहाँका अरू प्रकाशनमा पढ्न पाइन्छ ।’
संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले पत्रकारितामा विश्वास कायम राख्नका लागि पनि समाधानमुखी पत्रकारिताको महत्त्व रहेको बताए । अहिलेको समाजको अपेक्षाअनुसारको पत्रकारिता भइरहेको छ–छैन भनेर समीक्षा गर्न जरुरी रहेको उनको भनाइ छ । उनले भने, ‘गोरखापत्र जेठो र पुरानो अखबार भए पनि यसले पनि समाजले खाेजेको विषय समाचारमा पस्कन नेतृत्वदायी भूमिका निभाइरहन निरन्तर छलफल आवश्यक छ ।’
काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले काउन्सिलले निरन्तर रूपमा रचनात्मक पत्रकारिताको छलफल अघि बढाइरहेको बताए । पत्रकारिताको पाठ्यक्रममा नै यसलाई समेट्न पत्राचार गरिएको उनले जानकारी दिए । काउन्सिलले सञ्चारमाध्यममा रचनात्मक पत्रकारिताका सम्बन्धमा अनुसन्धान भइरहेको बताए।
गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराईले काउन्सिलले गोरखापत्रले रचनात्मक पत्रकारिताको नेतृत्व गर्न सक्छ भनेर सोच्नु संस्थानका लागि महत्त्वपूर्ण विषय भएको उल्लेख गरे । कार्यक्रममा मिडिया अनुसन्धानकर्ता टुमराज कोइरालाले रचनात्मक पत्रकारिताका विषयमा कार्यपत्र प्रस्तुत गरे । कार्यक्रमको सहजीकरण काउन्सिलका मुख्य अधिकृत भुसालले गरेका थिए । सो कार्यक्रममा संस्थानका विभिन्न प्रकाशन, अनलाइनका सम्पादक र समाचारदातालगायतको सहभागिता रहेको थियो ।