१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २४ बुधबार
  • Thursday, 08 May, 2025
२o८२ बैशाख २४ बुधबार २१:४७:oo
Read Time : > 1 मिनेट
समाचार

युवा संघ पर्वतको अधिवेशनमा कुटाकुट, दुईजना घाइते

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २४ बुधबार २१:४७:oo

राष्ट्रिय युवा संघ पर्वतको आजका लागि तय भएको नवौँ जिल्ला अधिवेशन गर्ने-नगर्ने भन्ने विषयमा दुई पक्षबिच विवाद भएको हो। 

संघको अधिवेशन यसअघि नै २४ वैशाखमा गर्ने गरी तय भएको थियो। पार्टीका जिल्ला अध्यक्ष गोविन्द गिरीले हस्तक्षेप गर्दै अधिवेशन गर्ने प्रक्रिया अघि बढाएपछि झडप र कुटाकुटको स्थिति उत्पन्न भएको हो।

कुटाकुटमा एमाले प्रदेश समिति सदस्यसमेत रहेका युवा संघका पूर्वकेन्द्रीय सदस्य अर्जुननिर्जन पौडेल र ध्रुव श्रेष्ठ घाइते भएका छन्। धारिलो हतियार प्रहारले उनीहरूको टाउकोमा गहिरो चोट लागेको र पौडेलको टाउकोमा सात टाँका लगाइएको छ। उनीहरूको स्थानीय शान्तिदीप अस्पतालमा उपचार भइरहेको छ । कुटाकुटमा अन्य नेता कार्यकर्तासमेत सामान्य घाइते भएका छन्।

युवा संघ पर्वतमा संस्थापनसँगै प्रतिनिधिसभा सदस्य पदम गिरी पक्षको एउटा र राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिना पक्षको अर्को गरी दुई गुट रहेको छ।

संघका अध्यक्ष विनोद थापा, सचिव प्रकाश थकाली र घाइते पौडैल हाल अधिवेशन गर्न नसकिने भएकाले जेठमा गर्नुपर्ने अडानमा थिए। 

संस्थापनसँगै प्रतिनिधिसभा सदस्य पदम गिरी पक्षका पार्टीका जिल्ला अध्यक्ष गोविन्द गिरीको पहलमा अधिवेशन जसरी पनि गर्ने भन्ने विषयमा छलफल गर्न बैठक बोलाएपछि रोक्नुपर्ने पक्षमा रहेका नेता-कार्यकर्ताबिच विवाद बढेर कुटाकुटको अवस्थामा पुगेको हो।

संघको १०औँ राष्ट्रिय अधिवेशन आउँदो ९ देखि ११ जेठसम्म पोखरामा हुँदै छ। सोही अधिवेशनका लागि प्रतिनिधि छनोट गर्नेलगायतका काम सम्पन्न नभएकाले जिल्ला अधिवेशन केही दिन पछि सार्नुपर्ने र जेठको सुरुमा गर्नुपर्ने पक्षमा अध्यक्ष र सचिवलगायतका थिए।

एमाले जिल्ला अध्यक्ष गिरीका अनुसार अधिवेशन नभई संघको विस्तारित बैठक भैरहेका समय सामान्य विवाद भएको जानकारी दिए। बैठक चलिरहेका समय पौडेललगायतले अन्य कार्यक्रम रोक्नुपर्छ भन्दै आफूमाथि नै आक्रमण गर्न खोजेपछि प्रतिवाद गर्दा सामान्य विवाद भएको उनको भनाइ छ। 

पार्टी अध्यक्षको पहलमा संघको बैठक बसिरहँदा जिल्ला अध्यक्ष थापालगायत भने सहभागी भएनन्। संघका अध्यक्ष थापा अनुपस्थिति भएपछि उपाध्यक्ष आशिष श्रेष्ठले अध्यक्षता र उपसचिव ध्रुव श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए।

संघका केन्द्रीय सचिवसमेत रहेका संघका गण्डकी प्रदेश इन्जार्च पर्वत भण्डारीले १५ चैतभित्र जिल्ल अधिवेशन गर्न मिति तय भएकोमा पर्वतमा हुन नसकेपछि अधिवेशनका लागि आयोजक कमिटी बनाउनका लागि बैठक भइरहँदा अर्को समूह आएर विवाद गरेको आरोप लागाए।