१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २४ बुधबार
  • Wednesday, 07 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख २४ बुधबार o९:५९:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

राष्ट्र बैंकको गभर्नर कांग्रेसलाई दिन प्रधानमन्त्री तयार : देउवा

राष्ट्र बैंकभित्रकै समस्याका कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको देउवाको भनाइ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख २४ बुधबार o९:५९:oo

नेपाल राष्ट्र बैंकको गभर्नर पद कांग्रेसलाई दिन प्रधानमन्त्री केपी ओली तयार भएको प्रमुख सत्तासाझेदार दल कांग्रेसका सभापति शेरबहादुर देउवाले खुलासा गरेका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नुपर्ने नीति’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा सत्ता गठबन्धमा कुनै समस्या नभएको दाबी गर्दै उनले गभर्नर नियुक्तिमा समस्या नभएको स्पष्ट पारे । 

राष्ट्र बैंकभित्रकै समस्याका कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको उनको भनाइ थियो । ‘कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ । हाम्रो पार्टी सबैभन्दा ठुलो छ, तर बहुमत छैन । त्यसकारण कुनै न कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने जरुरी छ । अहिले एमालेका नेता केपी ओलीसँग हाम्रो गठबन्धन छ । उहाँले गठबन्धमा कुनै पनि समस्या क्रिएट गर्नुभएको नि छैन,’ सभापति देउवाले भने, ‘गठबन्धनमा कुनै समस्या छैन । राष्ट्र बैंकको गभर्नरको सम्बन्धमा उहाँले ल्याएको समस्याचाहिँ होइन । राष्ट्र बैंकभित्रै आएको समस्या हो । उहाँ गभर्नर कांग्रेसलाई दिने पक्षमै हुनुहुन्छ । उहाँले त्यसमा गाह्रो गर्नुभएको छैन । सहयोग नै गर्नुभएको छ ।’ यसअघि ओली–देउवाको भेटघाटमा प्रधानमन्त्री ओलीले बिहीबारसम्ममा गभर्नर नियुक्त गरिसक्ने प्रतिबद्धता जनाइसकेका छन् । केन्द्रीय बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने चर्चा चलेसँगै उनको राजीनामा स्वीकृत हुन सकेको छैन । कायममुकाय गभर्नर डा. नीलम ढुंगाना तिम्सिना स्वयं गभर्नरको दाबेदार भएकाले उनी भट्टको राजीनामा स्वीकृत नगर्ने पक्षमा छिन् ।  

गभर्नरमा रबर स्ट्याम्प नियुक्तिको जोखिम : डा. वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले सेटिङमा रबर स्ट्याम्प व्यक्तिलाई गभर्नर नियुक्त गर्न लागेको बताएका छन् । प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै डा. वाग्लेले माथि सेटिङ गरेर रबर स्ट्याम्प गभर्नर नियुक्ति हुने आरोप लगाएका हुन् । ‘दुई महिनादेखि सानो एउटा राष्ट्र बैंकको गभर्नर पदको नियुक्ति अल्झिराखेको छ । माथि सेटिङ गरेर अनि समिति (सिफारिस समिति) बसाएर एउटा रबर स्ट्याम्पको नियुक्ति हुने होला, त्यसमा पनि गिजोलिराख्या छ ।’