
प्रेस काउन्सिलले गोरखापत्र संस्थानबाट ‘न्युज रुम’मा रचनात्मक पत्रकारिताको अभियान थालेको छ । काउन्सिलको गत साउनमा बसेको बोर्ड बैठकले ‘न्युज रुम’मा रचनात्मक पत्रकारिताको बहस अघि बढाउने निर्णय गरेको थियो । जसअनुसार बुधबार गोरखापत्रबाट अभियान सुरु गरिएको हो ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले केही हुँदैन भन्ने गलत भाष्य हटाई आशाको सञ्चार गर्न सञ्चारकर्मीको विशेष भूमिका हुने बताए । गोरखापत्र नेपालको पत्रकारिताको मानक भएकाले यहीँबाट ‘न्युज रुम’मा रचनात्मक र समाधानमुखी पत्रकारिताको बहसको सुरुवात गरिएको उनको भनाइ छ । ‘जनमानसमा कुनै वेला पत्रिका भनेको गोरखापत्र नै हो भनेर बुझिन्थ्यो । दक्षिण एसियाकै पुरानो सञ्चार संस्थामा पर्ने यसका प्रकाशनमार्फत रचनात्मक पत्रकारिताको अभियानलाई जोडिएको हो,’ उनले भने ।
सन् ६० को दशकदेखि रचनात्मक पत्रकारिता कुनै न कुनै तवरले आए पनि नेपालमा फाट्टफुट्ट मात्रै यसको प्रयोग भएको बस्नेतले बताए । अहिले काउन्सिलले ‘न्युज रुम’मा जाने र त्यहाँको रचनात्मक पत्रकारिताको अभ्यास बुझ्ने र त्यसलाई बढुवा दिन ‘न्युज रुम’, राज्य, सम्पादक र व्यवस्थापनले के गर्नुपर्छ भनेर काउन्सिल केन्द्रमा बसेर बहस सिर्जना गरिरहेको उनले जानकारी दिए । गोरखापत्र संस्थानका अध्यक्ष विष्णु सुवेदीले रचनात्मक पत्रकारिता वा विकास पत्रकारिता जे भनिए पनि अबको पत्रकारिताले समस्या मात्रै उजागर गर्ने नभएर समाधानको खोजी गर्नुपर्ने बताए ।