१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २२ सोमबार
  • Wednesday, 07 May, 2025
फाइल तस्बिर
प्रेम गौतम काठमाडाैं
२o८२ बैशाख २२ सोमबार o८:४३:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जागरण अभियानमा माओवादीलाई जनताको सुझाव- विगतका गल्ती नदोहोरियोस्

Read Time : > 3 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख २२ सोमबार o८:४३:oo

प्रमुख प्रतिपक्षी दल माओवादीले हुलाकी मार्गकेन्द्रित तराई–मधेश जागरण अभियान सोचेभन्दा बढी उपलब्धिमूलक भएको निष्कर्ष निकालेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास खुमलटारमा आइतबार बसेको पदाधिकारी बैठकले अभियान उत्साहजनक रूपमा सम्पन्न भएको निष्कर्ष निकाल्दै आगामी २ जेठबाट ‘मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ । सुदूरपश्चिमबाट सुरु गरेर कोशीको सोलुमा अभियान समापन गर्ने तयारी छ । विस्तृत तालिका केही दिनमै तयार हुने माओवादीले जनाएको छ ।

अभियान राष्ट्रिय एकता सुदृढ गर्न सफल भएको निष्कर्ष निकाल्दै बैठकले माओवादीको मात्रै नभई राष्ट्रकै अभियान बन्न पुगेको दाबी गरेको छ । ‘अभियान बहुआयामिक सफलतासहित समापन भएको छ । हामीले जे लक्ष्य र उद्देश्य राखेका थियौँ । सोचेभन्दा बढी उपलब्धिमूलक भयो,’ माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘यसले राष्ट्रिय एकता सुदृढ गरेको छ । यो अभियानले सबैका लागि सकारात्मक चुनौती खडा गरेको छ ।’

सरकारको कुशासनले जनतामा निराशा र आक्रोश पैदा भएको स्थितिमा अभियानले सकारात्मक प्रभाव पारेको माओवादीको निष्कर्ष छ । ‘विगतमा यस खालको अभियान भएको थिएन । सरकारको कुशासन र उपस्थिति शून्य भएको अवस्थामा जनतामा निराशा र आक्रोश पैदा भइरहेको वेलामा आफ्नो धारणा राख्यौँ । आत्मालोचनासहित आफ्ना कुरा राखेपछि जनता उत्साहित भएका छन्,’ उनले भने ।

अभियानका क्रममा कांग्रेस र एमालेबाट निर्वाचित जनप्रतिनिधिले पनि माओवादी नेतृत्वलाई स्वागत गरेका थिए । अभियानले नेपाली समाजवादको मार्गचित्रको एउटा खाका निर्माण भएको माओवादीले जनाएको छ । आफैँभित्रको रूपान्तरणको शक्तिशाली भाव पैदा भएको र समाजवादी विचारधाराको विकासको प्रस्थान विन्दु बनेको माओवादीको निष्कर्ष छ । नेता–कार्यकर्तामा स्वच्छ प्रतिस्पर्धाको चेतना पैदा हुँदै गएको र माओवादीप्रति सकारात्मक राग जरासम्मै पैदा भएको निष्कर्ष माओवादी छ । अभियानले अध्ययन, अनुसन्धान र खोजका लागि आधार तयार पारेको माओवादीको दाबी छ । ‘नेपाली समाजको आजको अध्ययनका लागि धेरै खजना प्राप्त भएको छ । अभियानको दौरानमा नयाँ संस्कार, संस्कृति र सद्भावको प्रादुर्भाव भएको छ,’ सापकोटाले भने ।

अभियानका क्रममा अन्तक्र्रिया, अन्तरसंवाद र गोष्ठी भएका थिए । पार्टीलाई विचारमा मात्रै होइन, विकास र समग्र संरक्षकका रूपमा अभियानले स्थापित गरेको माओवादीको निष्कर्ष छ । ‘सक्रियता र गतिशीलता राजनीतिक नेता–कार्यकर्ताका लागि सबैभन्दा मुख्य कुरा हुन् भन्ने सबैलाई बोध भएको छ । कमरेडली भाव पुनर्जागृत हुने लक्ष्यण देखिएका छन् । यो आकर्षण र प्रभावलाई संगठन निर्माणमा रूपान्तरण गर्नुपर्छ भन्ने निष्कर्ष निकालेका छौँ,’ सापकोटाले भने, ‘जनतामा जाने, जनताको सुख–दुःखमा एकाकार हुने र आफ्नो कमीकमजोरी जनतालाई बताउने हाम्रो मार्गनिर्देशक सिद्धान्त पूरै इमानदारीपूर्वक लागू गरेका छौँ ।’ अभियानका क्रममा हजारौँको संख्यामा पार्टी प्रवेश गरेको पनि माओवादीले दाबी गरेको छ । उनीहरूलाई उचित जिम्मेवारी दिएर अगाडि बढ्ने निर्णय पनि माओवादीले गरेको छ । पर्यटन प्रवर्द्धनमा पनि अभियानले योगदान पुर्‍याएको माओवादीको समीक्षा छ ।

जनताका सुझाव र गुनासा सम्बोधन गर्छौँ : अग्नि सापकोटा, उपाध्यक्ष एवं प्रवक्ता, माओवादी
अभियान बहुआयामिक सफलतासहित समापन भएको छ । हामीले जे लक्ष्य र उद्देश्य राखेका थियौँ, सोचेभन्दा बढी उपलब्धिमूलक भयो । यसले राष्ट्रिय एकता सुदृढ गरेको छ । यो अभियानले सबैका लागि सबैका लागि सकारात्मक चुनौती खडा गरेको छ । अध्ययन, अनुसन्धान, खोजका लागि एउटा आधार तयार पारेको छ । नेपाली समाजको आजको अध्ययनका लागि धेरै खजना प्राप्त भएका छन् । अभियानको दौरानमा नयाँ संस्कार, संस्कृति र सद्भावको प्रादुर्भाव भएको छ । नेपाली समाजवादको मार्गचित्रको एउटा खाका निर्माण भएको छ । आफैँभित्रको रूपान्तरणको शक्तिशाली भाव पैदा भएको छ । समाजवादी विचारधाराको विकासको प्रस्थान विन्दु बनेको छ । नेता–कार्यकर्तामा स्वच्छ प्रतिस्पर्धाको चेतना पैदा हुँदै गएको छ । माओवादीप्रति सकारात्मक राग जरासम्मै पैदा भएको छ ।

जनताका सुझाव र गुनासा
अभियानका क्रममा माओवादीले जनताका गुनासा र सुझाव संकलन गरेको छ । सहिद परिवार, बेपत्ता परिवार र घाइतेको पीडा बुझ्ने प्रयास पनि माओवादीले गरेको थियो । जनताले व्यक्तिगत र सामूहिक पीडा सुनाउनुका साथै गुनासा र सुझाव दिएका छन् । अभियानका क्रममा जनताले जनजीविका, महँगी, विकास निर्माणदेखि सुशासनसम्मका विषय उठाएका छन् । कतिपय समूहले लिखित मागपत्र र ज्ञापनपत्र पनि बुझाएका थिए । मुख्यतः विगतको कमजोरी नदोहोर्‍याउन र ०८४ को निर्वाचनसम्म सरकारमा नजान सुझाव आएको माओवादीले जनाएको छ । ‘हाम्रो भरोसा माओवादीप्रति नै छ । तर, माओवादीले हामीलाई बेवास्ता गर्‍यो । वर्गीय मुद्दा उठान गर्न सकेन । भेटघाट पातलो भयो । त्यो स्थिति नदोहोरियोस् भन्ने चाहन्छौँ भन्ने जनताका सुझाव थिए,’ सापकोटाले भने ।

टिआरसीबारे प्रधानमन्त्रीसँग प्रचण्डको चासो
प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच टिआरसी आयोग गठनको प्रगतिबारे छलफल भएको छ । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन प्रक्रियाको प्रगति र पीडित तथा सरोकारवालाले उठाएका विषयबारे दुई नेताबिच आइतबार सिंहदरबारमा छलफल भएको हो ।

टिआरसी आयोगका प्रगति र सरोकारवालाको चासोका सम्बन्धमा छलफल भएको माओवादी उपमहासचिव वर्षमान पुनले जानकारी दिए । ‘विपक्षी दलको नेताले टिआरसी आयोग गठन प्रक्रिया कहाँ पुग्यो भनेर प्रधानमन्त्रीसँग छलफल गर्नुभएको हो,’ उनले भने । प्रचण्डको प्रश्नको जवाफमा ओलीले हालसम्मको प्रगतिबारे जानकारी दिएका छन् । उनले सर्ट कमिटीले काम गरिरहेको बताएका छन् । पुनले सकारात्मक रूपमै प्रक्रिया अगाडि बढेको बताएको बताए । ‘टिआरसी आयोग गठन प्रक्रिया र पीडितका सवालबारे कुराकानी भयो । यो विषय सकारात्मक रूपमा अघि बढिरहेको पायौँ । अहिलेसम्मको प्रगतिबारे प्रधानमन्त्रीले जानकारी गराउनुभयो,’ पुनले भने । द्वन्द्वपीडितले प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई छुट्टाछुट्टै भेटेर ध्यानाकर्षण गराएका छन् । माओवादी अध्यक्ष प्रचण्डलाई सोमबार भेटेर ध्यानाकर्षण गराउने तयारी द्वन्द्वपीडितको छ ।

प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले अहिलेसम्मको प्रगतिबारे जानकारी गराएको बताए । ‘टिआरसीबारे छलफल भएको हो । हालसम्मको प्रगतिबारे छलफल भयो,’ उनले भने, ‘सहमति–असहमतिका विषयमा छलफलभन्दा पनि हालसम्मको प्रगतिको जानकारी गरायौँ ।’ ओली र प्रचण्डबिचको छलफलको समन्वय खरेलले गरेका थिए ।

प्रधानमन्त्री–द्वन्द्वपीडित दुई घण्टा छलफल
द्वन्द्वपीडितले टिआरसीसम्बन्धी आयोगमा पदाधिकारी सिफारिस प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार प्रधानमन्त्री ओलीलाई भेटेर देवी खड्कासहितका द्वन्द्वपीडितले ध्यानाकर्षण गराएका हुन् । प्रधामन्त्री ओली र द्वन्द्वपीडितबिच दुई घण्टा छलफल भएको छ । दलीय भागबन्डा नभई निष्पक्ष एवं पीडितले विश्वास गर्न सक्ने व्यक्तिलाई आयोगको अध्यक्ष र सदस्य हुनुपर्ने माग उनीहरूको छ । ‘आयोग गठन पारदर्शी र विश्वसनीय होस् भनेर प्रधानमन्त्रीको ध्यानाकर्षण गरायौँ,’ खड्काले भनिन्, ‘पीडितले न्याय पाउनुपर्छ । समितिले पीडितसँग छलफल नै नगरी सर्ट लिस्ट सार्वजनिक गर्‍यो । सर्ट लिस्टमा फियर भएन । सेटिङमा जस्तो देखियो भन्ने हाम्रो आशंका राख्यौँ । त्यसले पार लगाउन सक्दैन कि भन्ने हाम्रो चासो हो ।’ आयोगका पदाधिकारी सिफारिसका लागि गठित समितिले आफ्नो काम गरिरहेको छ । समितिले आयोगका पदाधिकारीका लागि सर्ट लिस्ट प्रकाशन गरिसकेको छ । सर्ट लिस्टमा परेकासँग समितिले २६ वैशाखबाट अन्तर्वार्ता लिँदै छ । ओलीले आयोग पदाधिकारी गठन प्रक्रियामा विश्वास गर्न आग्रह गरेका छन् । राजनीतिक असमझदारी कारण प्रक्रियामा ढिलाइ भएको पनि उनले स्विकारेका छन् । द्वन्द्वपीडितसँग ओलीले दुई घण्टा छलफल गरेका थिए । ‘प्रधानमन्त्रीले दुई घण्टा कुरा गर्नुभयो । सहयोग गरेर जानुस् भन्नुभयो । एकचोटि पनि पीडितसँग छलफल नगरी सर्ट लिस्ट प्रकाशित गर्नु कमजोरी हो । राजनीतिक कारणले गर्दा केही समस्या पक्कै भएको छ भनेर प्रधानमन्त्रीले स्विकार्नुभयो,’ खड्काले भनिन् ।