
नेपाली कांग्रेसका सांसद धनराज गुरुङले यदि किसानलाई राहत दिने हो भने बाँदर र बँदेललाई मार्नुपर्ने बताएका छन् । मंगलबार सरकारको ०८२/ ०८३ को नीति तथा कार्यक्रमको सन्दर्भमा आफ्नो भनाइ राख्ने क्रममा उनले यस्तो बताएका छन् ।
किसानलाई दुःख दिने बाँदर र बँदेल मारे कानुन लाग्छ भनेर संरक्षण गरिरहने हो भने किसानहरू विस्थापित हुने अवस्था आउने उल्लेख गरे । उनले भने, ‘अस्ट्रेलियाले हरेक वर्ष ५० हजार आफ्नो राष्ट्रिय जनावर कंगारू मार्छ तर, हामीले बाँदर मार्न किन नहुने ?’
गाउँगाउँमा सिंहदरबार पुर्याउने भनेको पालिकाको भवनमा मात्रै सीमित रहेको बताए । उनले उत्पादनशील क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताए । राजस्व बढाउन करको दायरा बढाउनुपर्नेमा जोड दिए । उनले घरेलु मदिराबाट एक रुपैयाँ पनि कर नउठेको भन्दै घरेलु मदिरालाई करको दायरामा ल्याउने हो भने दुई खर्ब राजस्व उठ्ने दाबी गरे । उनले लथालिंग ढंगले सामाजिक सुरक्षाको भत्ता बाँडिरहेको आरोप लगाए। देश विकासका लागि डोनर नभई इन्भेस्टर खोज्नुपर्नेमा उनले जोड दिए ।