१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 07 May, 2025
प्लानिङ ब्वाइज क्लबका खेलाडी ।  तस्बिर सौजन्य : एन्फा
रमेश सुवेदी काठमाडाैं
Invalid date format o७:२४:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सहिद स्मारक ‘बी’ डिभिजन लिग : शीर्ष डिभिजन उक्लन प्लानिङलाई ५ अंक आवश्यक

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:२४:oo

दुई क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बढुवा भएपछि खेल्ने टोलीको संख्या १६ पुग्नेछ 

प्लानिङ ब्वाइज क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगनजिक पुगेको छ । प्लानिङलाई शीर्ष डिभिजनमा बढुवा हुन ५ अंक आवश्यक छ । पहिलोपटक सहिद स्मारक ‘बी’ डिभिजन लिग खेलिरहेको प्लानिङले अपराजित यात्रा कायम राख्दै शीर्ष डिभिजनमा उक्लने योजना बनाएको हो । आइतबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा प्लानिङले श्री भगवती क्लबसँग १–१ को बराबरी खेल्यो । यदि नवौँ खेलमा ३ अंक हासिल गरेको भए टोलीलाई मात्र एक खेलमा जित निकाले पुग्ने थियो । 

यद्यपि, बराबरीले पनि प्लानिङले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । ९ खेलबाट २३ अंक जोडेको प्लानिङ दोस्रो स्थानको श्री भगवती क्लबभन्दा २ अंकले अगाडि छ । अब, दुई जित निकाले श्री भगवतीले पनि शीर्ष डिभिजनमा आफ्नो स्थान पक्का गर्नेछ । दुवै टोली पहिलोपटक शीर्ष डिभिजनमा उक्लने योजनामा छन् । 

दुई क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बढुवा भए शीर्ष डिभिजन लिग खेल्ने टोलीको संख्या १६ पुग्नेछ । २७ जेठ ०८१ मा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगपछि पहिलोपटक डिभिजन लिगको साइकल पूरा हुँदै छ । तत्कालीन समय खुमलटार फुटबल क्लब र विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब रेलिगेसनमा परेका थिए । तर, रेलिगेसनमा परेको एपिएफले खेलमा मिलेमतो भएको र श्रम स्वीकृतिविना विपक्षी थ्री स्टार क्लबले आफूविरुद्ध विदेशी खेलाडी खेलाएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)मा उजुरी दर्ता गराएको थियो । 

एन्फाले थ्री स्टारलाई कारबाही गरे पनि ३ अंक घटाएन । एपिएफले ३ अंक पनि घटाउनुपर्ने माग गर्दै पुनः उजुरी दर्ता गरे पनि एन्फाले यसमा कुनै निर्णय गर्न सकेको छैन । यदि एन्फाले थ्री स्टारको ३ अंक खोसे एपिएफ रेलिगेसनबाट बच्नेछ । 

सोही कारण कुन टिम रेलिगेसनमा पर्ने अझै टुंगो लागेको छैन । पंकजविक्रम नेम्वाङ नेतृत्वको एन्फाले सहिद स्मारक ‘ए’ डिभिजन लिगको विकल्पमा अघिल्लो साता नकआउट फुटबल आयोजना गर्ने तयारी गरेको थियो । तर, १० क्लबले नकआउट फुटबल नखेल्ने निर्णय गरेपछि एन्फा नेतृत्व निर्णय फिर्ता लिन पुगेको थियो । तीन विभागीय टिमसहित संकटा मात्रै नकआउट फुटबल खेल्न तयार भएको थियो ।

मध्यपुरलाई रेलिगेसनकै डर
लगातार खराब प्रदर्शनपछि मध्यपुर युथ एसोसिएसनलाई सहिद स्मारक ‘बी’ डिभिजन लिगको रेलिगेसनको डर बढेको छ । आइतबार भएको खेलमा मध्यपुर वीरगन्ज युनाइटेडसँग १–० ले पराजित भयो । एन्फा मैदानमा वीरगन्जलाई जित दिलाउन अमित बच्चरले ४२औँ मिनेटमा विजयी गोल गरेका हुन् । रेलिगेसन क्षेत्रभन्दा मात्र एक स्थान माथि रहेको मध्यपुरको समान खेलबाट ८ अंक छ । जितसँगै नौ खेलमा वीरगन्जले १५ अंक जोडेको छ । ७ अंकका साथ टुसाल र ६ अंक जोडेको सरस्वती युवा क्लब रेलिगेसन क्षेत्रमा छन् । 

थापालाई साधारणसभामा नरोक्न अदालतको आदेश
पूर्वअध्यक्ष गणेश थापालाई आगामी २६ वैशाखमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारणसभामा नरोक्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ । आइतबार न्यायाधीश सुदर्शनदेव भट्टको एकल इजलासले थापालाई साधारणसभामा नरोक्न र सहभागी हुन दिन एन्फाविरुद्ध कारण देखाऊ आदेश जारी गरेको हो ।

शुक्रबार थापाले आफूलाई साधारणसभामा रोक्ने प्रयास भएको भन्दै पाटन उच्च अदालतमा रिट दायर गरेका थिए । अदालतको आदेशपछि थापाले आफूलाई रोक्ने एन्फा नेतृत्वको प्रयास असफल भएको प्रतिक्रिया दिएका छन् ।

‘एन्फाले विधानविपरीत जसरी भए पनि साधारणसभामा रोक्ने प्रयास असफल भएको छ,’ थापाले भने, ‘एन्फामा भएका तीन वर्षदेखिका विकृति विसंगतिबारे भन्डाफोर हुने डरले रोक्न खोजिएको थियो । साधारणसभा जानु मेरो निमित्त नभई समग्र नेपाली फुटबल परिवर्तनको निमित्त अपरिहार्य थियो ।’

थापा फिफाको १० वर्षको प्रतिबन्ध फुकुवा भएपछि पहिलोपटक एन्फाको औपचारिक कार्यक्रममा सहभागी हुन लागेका हुन् । उनी सहिद स्मारक ‘बी’ डिभिजन लिग क्लब आरसी ३२ को सदस्यका रूपमा साधारणसभामा सहभागी हुँदै छन् ।

थापाले फिफाको प्रतिबन्ध सकिनेबित्तिकै यही वर्षबाट आफू एन्फाको साधारणसभामा सहभागी हुने दाबी गर्दै आएका थिए । पंकजविक्रम नेम्वाङ नेतृत्वले एन्फाको वार्षिक साधारणसभा २६ वैशाखमा धुलिखेलमा आयोजना गर्दै छ ।