१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २० शनिबार
  • Saturday, 03 May, 2025
पवन बराइली काठमाडाैं
२o८२ बैशाख २० शनिबार o८:३९:oo
Read Time : > 4 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

सफल हुँला, तर सन्तुष्ट छैन 

एकैपटक ठुलो सपना देख्दा पूरा नहुने रहेछ, ससाना सपना बढाउँदै जानुपर्ने रहेछ

Read Time : > 4 मिनेट
पवन बराइली, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख २० शनिबार o८:३९:oo

चलचित्रमा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेतामध्येका एक हुन्, विपिन कार्की । उनी ‘छड्के’, ‘पशुपतिप्रसाद’, ‘नाका’, ‘हरि’, ‘जात्रा’लगायत चलचित्रमा निर्वाह गरेको चरित्रले स्थापित भए । ‘जात्रै जात्रा’, ‘प्रसाद’, ‘सेल्फी किङ’मार्फत चरित्रमा विविधता ल्याएका अभिनेता कार्की रंगमञ्च हुँदै चलचित्रमा आएकाले चरित्र निर्माणमा गम्भीर र अन्यभन्दा फरक छन् । उनै अभिनेता कार्कीले आफ्नो कलायात्राबारे पवन बराइलीसँग गरेको कुराकानी : 

०५५ सालमा एसएलसी दिएर विराटनगरबाट काठमाडौं आउँदा सपनाविहीन थिएँ । मसँग जीवनको ठोस उद्देश्य थिएन । मात्रै उच्च शिक्षाका लागि आएको हुँ । पढेर यही बन्छु भन्ने सपना देखेको थिइनँ । त्यसवेला काठमाडौं आएर पढ्ने चलन व्याप्त थियो । म पनि त्यही व्याप्त चलनमा चलेँ । 

मेरो दाइ (अर्जुन कार्की) काठमाडौंमा हुनुहुन्थ्यो । उहाँले सिनेमामा खेलिसक्नुभएको थियो । तर, म पनि कलाकार बन्छु होला भन्ने सोचेकोसम्म पनि थिइनँ । कमलमणि दाइ (नेपाल) गुरुकुलको नाटक गर्नुहुन्थ्यो । उहाँ र मेरो गाउँ एउटै भएकाले पहिलेदेखि चिनजान थियो । काठमाडौं आएपछि कमल दाइलाई भेट्ने बहाना बन्यो । यही क्रममा उहाँले गुरुकुल लैजानुभयो । त्यसपछि नियमित गुरुकुलमा नाटक हेर्न जान थालेँ । बिस्तारै नाटकप्रति प्रेम बस्न थाल्यो । नाटकमा आकर्षण बढ्न थाल्यो । 

...अनि विदेश जानबाट रोकिएँ 

पछि गुरुकुलमै बस्न थालेँ । गुरुकुल आएपछि आत्मविश्वास बढ्न थाल्यो । काठमाडौंमा अडिने बहाना खोजिरहेको थिएँ । रोजगारी आवश्यक थियो । आफ्नो खर्च जोहोका लागि काम खोज्न घरबाट दबाब आइरहेको थियो । साथीभाइले पनि काम गर्न थालिसकेका थिए । घरबाट प्रश्न गर्थे, ‘साथीहरू अफिसमा काम गर्न थालिसके, के गर्दै छस् ?’ तर, मसँग जवाफ थिएन ।

खासमा अल्झिनकै लागि मात्र नाटकमा काम गरेको थिएँ । मैले घरमा काम थालेँ भन्न मात्रै नाटक गरेको थिएँ । गुरुकुलमा नाटक गर्नुअघि विदेश जान भन्दै धेरै ठाउँ धाएँ । कोरियन भाषा पढ्ने तयारी गरेँ । तर, जान मनै लागेन । घरबाट दबाब आएपछि अस्ट्रेलिया जानका लागि कोसिस गरेँ । मामा पनि विदेशमै हुनुहुन्थ्यो । उहाँले पनि विदेश जान आग्रह गरिरहनुभएको थियो । विदेश गए प्रगति हुने, नेपाल बसेर केही नहुने भन्नेहरू धेरै थिए । सबैले यसो भनिरहँदा विदेश जान मन नलागेको पनि होइन । तर, बिस्तारै अभिनयमा रस बस्न थालेको थियो । बरु भोकभोकै नाटक गर्छु तर विदेश जान्न भन्ने विचार पनि सँगसँगै आइरहेको थियो । अन्त्यमा यही विचारले जित्यो । 

बिस्तारै नाटकले मनमा गहिरो डेरा जमाउन थाल्यो । गुरुकुलमा पढाइकै क्रममा सपना देख्न थालिसकेको थिएँ । ओहो ! सपना पनि देख्न सकिनेरहेछ भन्ने महसुस भयो । कलाकार बन्न सकिन्छ कि भन्ने लाग्यो । मलाई केले ढुन्मुनाएर यहाँ ल्याइपुर्‍यायो भन्ने लाग्यो । अभिनय बिस्तारै सिक्दै गएको महसुस भयो । नाटकमा छोटाछोटा भूमिकासमेत पाउन थालेँ । यस्ता भूमिका पाउँदा पनि भयंकर भएजस्तो लाग्थ्यो । 

गुरुकुल पुग्नुअघिसम्म त सपना नै थिएन । नाटकमा अभिनय गर्न थालेपछि आत्मविश्वास बढ्यो । अबचाहिँ यही क्षेत्रमा काम गर्न सक्ने रहेछु भन्ने लाग्यो । यहाँ तीन–चार वर्ष अभिनय पढेर निस्किँदा अरू काम त गर्नै सक्दिनँ भन्ने लागिसकेको थियो । कुनै योजना नबनाए पनि जीवन चल्ने रहेछ । म अभिनयको सपना बुनेर आएकै थिइनँ । यहाँ एक्कासि आइपुगेँ । अभियन गर्छु भन्ने सपना देखेकै थिइनँ । संयोगले अभिनयमा आइपुगेँ, जीवनको बाटो आफँै बन्दै जाँदो रहेछ । 

सफल छु, तर सन्तुष्ट छैन 
जतिवेला अभिनयको भोक थियो, त्यतिवेला नाटकमा सानो रोल पाउँदा आनन्द लाग्थ्यो । अर्काे नाटकमा दर्शकले नोटिस गर्ने खालको रोल पाए हुन्थ्यो जस्तो लाग्थ्यो । नाटकमा खेल्नुअघि नै टार्गेट बनाउँथेँ । मुख्य भूमिकामा कास्टिङ हुन पाए हुन्थ्यो जस्तो लाग्थ्यो ।

‘लुट’अघि ‘आचार्य’ चलचित्रमा अभिनय गरेको थिएँ । दुवैमा सानै भूमिका थियो । नोटिस हुने रोल थिएन । नाटकबाट सिनेमामा आउँदा जीवनको कठिन परिस्थितिमा थिएँ । गुरुकुल बन्द भएपछि मेरो जाने ठाउँ कतै थिएन । काम गर्ने र बस्ने थलो त्यही थियो । आठ–नौ वर्षदेखि आश्रय लिइरहेको गुरुकुलबाहेक मेरो अर्काे संसार थिएन । घर फर्किन त सक्थेँ तर मेरा लागि घरमा कोठा थिएन । फेरि घर पनि कुन मुखले जाने ? त्यसैले सानै भए पनि चलचित्रमा भूमिका निर्वाह गर्नुपर्ने अवस्थामा थिएँ । 

अन्योलको स्थितिमा थिएँ । चलचित्र निर्देशक निगम श्रेष्ठले ‘छड्के’का लागि अफर गरे । ‘लुट’मा गरेको अभिनय उनलाई मन परेछ । त्यसैले ‘छड्के’ का लागि हातमा स्क्रिप्ट थमाइदिए । अब भने म ‘छड्के’का लागि फुल फोकस भएँ । यसबाहेक अरू गर्नु थिएन, मात्रै अभिनय गर्नु थियो । मैले दायाँबायाँ केही सोचिनँ । आफूलाई पात्रमा ढाल्न सक्दो कोसिस गरेँ । पात्रको हुलिया र हाउभाउ मिलाउन मिहेनत गरेँ । छड्केको सुटिङ दुई महिनामा सकियो । फिल्म रिलिज भयो । छड्केमा मेरो भूमिका ‘बिन्दु’ दर्शकले रुचाइदिनुभयो । यो हिसाबले म सफल भएँ । 

‘छड्के’पछि फिल्ममा अफर आउन थाले । ‘छड्के’ले मलाई विदेश जानबाट जोगायो । काम नपाएको भए विदेश जान्थेँ होला । विदेशको चक्करमा घुम्न थालिसकेको थिएँ । 

ससाना सपना बढाउँदै जानुपर्ने रहेछ
‘भस्मे डन’, ‘फणिन्द्र तिमिल्सिना’जस्ता चरित्र धेरैले बिर्सनुभएको छैन । मैले गरेका अरू पात्र पनि दर्शकका प्रिय बनेका छन् । हिजो चलचित्रमा खेल्न पाए मात्रै पनि हुन्थ्यो जस्तो लाग्थ्यो । बिस्तारै मुख्य भूमिकामै काम पाएँ । सपनाका दायरा बिस्तारै फराकिला हुँदै गए । एकैपटक ठुलो सपना देख्दा कहिल्यै पूरा नहुने रहेछ । ससाना सपना बढाउँदै जानुपर्ने रहेछ । त्यो वेला गुरुकुलमा भर्ना हुँदा खुसी थिएँ, त्यति नै अहिले चलचित्रमा । तर, सन्तुष्ट छैन । आफ्नो कामले कति सन्तुष्ट छु ? भन्ने मुख्य हुँदो रहेछ । 

गतिलो काम नगर्दा पनि कहिलेकाहीँ दर्शकलाई मन पर्न सक्छ । तर, म सन्तुष्ट नहुन सक्छु । कतिपय चलचित्रमा सिकेको ज्ञान लागू भएका छैनन् । कतिपय अवस्थामा हल्का रूपमा गरेको काम दर्शकले मनपराइदिनुभएको छ । मेरा चरित्र चर्चित हुनु वा मैले सफलता पाउनु फरक कुरा रहेछ । सन्तुष्ट हुनचाहिँ निकै गाह्रो हुने रहेछ । 

दर्शकलाई अहिले मेरो काम मन परेको होला, त्यसैले म सफल छु होला । यही कारण सबैले चिनेका पनि होलान् । त्यसो भए अभिनयमा गर्न खोजेको यति हो त ? आफैँलाई प्रश्न गर्छु । तर, आत्मसन्तुष्ट हुने काम अझै गर्न बाँकी छ । मैले सिकेको ज्ञान काममा लागू गर्न बाँकी छ । सिकेको कुरा अभिनयमार्फत भन्नु छ । जति काम गर्‍यो, त्यति नै कमजोरी देखिने रहेछ । एउटा कामले अर्काे कामको कमजोरी पत्ता लगाइदिने रहेछ । मैले गरेको ९–१० वटा चरित्र दर्शकमाझ परिचित बने । तिनले स्थापित पनि गर्‍यो । अब मैले गर्न बाँकी कुन चरित्र होला भन्ने लाग्थ्यो । तर, हरेक क्यारेक्टर फरक हुने रहेछ । त्यसैले चरित्र निर्माणको आदत बनाएँ । 

म दर्शकमाझ परिचित छु होला । त्यसैलाई सफलता ठान्लान् । सफलता अरूले देख्ने कुरा रहेछ । त्यसलाई मैले मान्ने कि नमान्ने भन्ने मुख्य कुरा हो । मलाई एउटै काम दोहोरिएला कि भन्ने डर लाग्छ । यही कारण फरक खालको भूमिका खोज्न थालेँ । दर्शकमा पनि सधैँ नयाँ र फरक क्यारेक्टर गर्छ भन्ने अपेक्षा हुन्छ । दर्शकको विश्वास कमाउन निकै वर्ष लागेको छ । त्यो विश्वास गुमाउन चाहन्नँ । त्यसैले नयाँ क्यारेक्टर गर्दा आत्तिन्छु । मेरो स्वभाव त्यस्तै छ । पूर्ण आत्मविश्वासको साथ बस्दिनँ । दर्शकप्रति सिरियस हुन्छु । पैसा कमाउँछ कि कमाउँदैन भन्दा पनि दर्शकले ग्रहण गर्न सक्छन् कि सक्दैनन् भन्ने विषय मुख्य लाग्छ । 

मेरो कामले सधैँ तारिफ मात्रै पाउनुपर्छ भन्ने पनि लाग्दैन । जीवनमा जोखिम लिन रुचाउने भएकाले नयाँ काम गर्न रुचाउँछु । कुनै काम सफल भएन भने चित्त दुखाएर पनि बस्दिनँ । मेरा कतिपय काम असफल भएका पनि छन् । सफलताको स्वाद लिएर मात्रै बस्दिनँ, असफलताको स्वाद पनि चाख्न रुचाउँछु । असफलता भोलि कुनै ठाउँमा काम लाग्छ भनेर सोच्छु । नराम्रो अनुभव भोलि जीवनमा राम्रो बन्न सक्छ । कलाकारितामा लागेका मान्छेलाई असफलताले झन् खार्दै लैजान्छ । एउटा कलाकारलाई फेलियरले खार्दाे रहेछ । दुःख र पीडाले केही समय घाटा लाग्ला तर कालान्तरमा फाइदै हुन्छ । गल्तीबाटै जीवनमा सिकिँदो रहेछ ।