
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रवासी नेपालीलाई विदेशमा सिकेको सीप र पुँजीलाई स्वदेशमा लगानी गरी तीव्र आर्थिक समृद्धि हासिल गर्न आग्रह गरेका छन् ।
नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित ‘प्रवासमा नेपाली : सरकारको दायित्व र जनसम्पर्क समितिहरूको भूमिका’ विषयक अन्तर्क्रियालाई सम्बोधन गर्दै उनले प्रवासी नेपालीको चाहनाअनुसारको वातावरण राज्यको सबै निकायमा बनाई सक्षम र सबल व्यक्तिलाई सहभागी गराउन क्रियाशील रहेको बताए ।
‘देशभन्दा बाहिर रहेर पनि देश र जनताको हितमा सोच्नुभएको छ, पार्टीको महाधिवेशन र महासमितिमा समेत समेट्ने प्रयास गरेका छौँ, पार्टीको विधान परिवर्तन गरेर महाधिवेशनबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गराउन प्रयास गर्नेछौँ,’ उनले भने ।
सभापति देउवाले विश्वको जुनसुकै भूमिमा भए पनि नेपाली हौँ भन्ने भावनाका साथ उन्नति र प्रगतिमा लाग्न आग्रह गरे। उनले नेपालमा लोकतान्त्रिक गणतन्त्र बलियो बनाउन प्रवासी नेपालीको बलियो साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे ।
पार्टीका उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले यस्ता अन्तर्क्रिया र छलफलले भएका समस्यालाई समाधान गर्ने गरी काम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले विदेशमा रहेका नेपालीको भिसा नवीकरण, श्रम स्वीकृतिलगायतका सामान्य काममा समेत ढिलाइ हुँदा असाधारण क्षति व्यहोर्नुपरेको भन्दै पार्टीको केन्द्रीय कार्यालयमा समेत यसको सहजीकरणका लागि डेस्क स्थापना गर्नुपर्नेमा जोड दिए।
उनले गैरआवासीय नेपालीलाई परेको समस्या समाधान गर्ने गरी नेपालमा सहज रूपमा काम गर्न सक्ने गरी लगानीमैत्री वातावरण सिर्जना गर्ने गरी छलफल केन्द्रित भएर पार्टीलाई सुझाव दिन आग्रह गरे ।