१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 02 May, 2025
कोलिन हर्गन
Invalid date format o९:२६:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

ट्रम्पको धम्की र क्यानडाको चुनावी नतिजा

Read Time : > 2 मिनेट
कोलिन हर्गन
नयाँ पत्रिका
Invalid date format o९:२६:oo

ट्रम्प कुनै एउटा विषय स्थायी रूपमा पुनः परिभाषित गर्न सफल भएका छन् भने त्यो हो क्यानडाको आत्मनिर्णयबोध

साेमबार क्यानडामा मतदान भइरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा अमेरिका भएको भए क्यानेडेली जनताले आफूलाई पनि भोट दिन्थे भनेका छन् । वास्तवमा ट्रम्पको प्रभाव क्यानडाको चुनावमा पहिले नै परिसकेको थियो, अर्थात् उनका आर्थिक र अस्तित्वसम्बन्धी धम्कीले यो चुनावको पृष्ठभूमि तय गरेका थिए । यस्तो तनावबिच मार्क कार्नीको नेतृत्वमा लिबरल पार्टी चौथोपटक सत्तामा फर्किएको छ, जुन केही महिनाअघि अकल्पनीयजस्तो लाग्थ्यो । कार्नीले ट्रम्पविरोधी उद्धारकर्ताको छवि बनाए, यद्यपि लिबरल पार्टीभित्रकै संकटले उनलाई उभिने मौका दिएको थियो । अमेरिकाविरुद्ध कडा प्रतिक्रिया जनाउन उत्सुक कार्नीले आफ्नो केन्द्रीय बैंकिङ अनुभवलाई स्थायित्वको प्रतीकका रूपमा प्रस्तुत गरेका थिए । र, यसले केही हदसम्म काम गर्‍यो पनि । यद्यपि उनको विजय पूर्ण थिएन र केही लिबरलले चुपचाप अनुमान गरिरहेका बहुमतको तुलनामा नतिजा निकै कमजोर देखियो । मंगलबारसम्म पनि कार्नीको लिबरल पार्टीले लगभग ४० प्रतिशत मत ल्याउँदाल्याउँदै पनि अल्पमतको सरकारतर्फ लम्किरहेको देखिन्थ्यो । 

कन्जर्भेटिभ पार्टीको हकमा भने सोमबारको नतिजा थप मिश्रित रह्यो । हालसालैको स्मरणमा कुनै पनि पार्टीले चुनाव सुरु भएपछि मतपरिणाममा यति ठुलो उलटफेर भोगेको थिएन । केही महिनाअघि राष्ट्रियस्तरमा २० अंकले अगाडि रहेको कन्जर्भेटिभ सोमबार लिबरलभन्दा लगभग तीन अंकले पछि पर्‍यो । ‘अविश्वसनीय’ भन्ने विशेषण यस सन्दर्भमा उपयुक्त थियो, यद्यपि कतिपय समर्थकले सर्वेक्षणमा प्रश्न उठाएर त्यसलाई अक्षरशः अस्विकार्न खोजेका थिए । सोमबार राति नतिजा आउने क्रममा देखिएको समग्र अव्यवस्थाबिच कन्जर्भेटिभ नेता पिअर पोइलिभ्रेले आफ्नै निर्वाचन क्षेत्र गुमाए । उनी एक लिबरल उम्मेदवारसँग पराजित भएका थिए । तर, त्यही समयमा उनको पार्टीले संसद्मा आफ्नो कुल सिटसंख्या बढाएको थियो र सन् २०११ यताकै उच्चतम करिब ४० प्रतिशत मत हासिल गर्न सफल भएको थियो । यसले हारका बाबजुद पनि पोइलिभ्रे र उनको सन्देश धेरै जनतासँग गहिरो रूपमा गुञ्जिएको थियो भन्ने देखाउँछ । ‘धेरैजनाले म र लिबरल पार्टीमाथि विश्वास राख्नुभयो, तर लाखौँ नागरिकले फरक नतिजा चाहेका थिए’ भन्दै कार्नीले मंगलबार बिहान आफ्ना समर्थकसँगको सम्बोधनमा स्विकारेका थिए । यो कुरा कार्नीले अब क्यानडाको भविष्य बनाउने प्रक्रियामा सोच्नैपर्ने विषय हो ।

सीमापारिका मुद्दाबाहेक पनि कैयौँ समस्या कायमै छन्, अर्थात् जीवनयापन र आवास खर्च, आप्रवासन, जलवायु संकट, स्वास्थ्य सेवा, किराना तथा दूरसञ्चारको एकाधिकार, आर्कटिक क्षेत्र, सार्वजनिक सेवा क्षेत्रको प्रभावकारिता, नवप्रवर्तन र उत्पादकताजस्ता मुद्दा मौजुद छन् । यी त केही उदाहरण मात्र हुन् । यी समस्या समाधान गर्न कार्नीले आफ्ना पूर्ववर्तीकै बाटो समात्न सक्छन् । तर, मंगलबारको सम्बोधनमा उनले नयाँ दिशाको केही संकेत गरेका छन् । ‘हामीले ठुलो सोच्नुपर्नेछ र थप ठुलो कार्य गर्नुपर्नेछ,’ उनले भने । ‘हामीले अघिल्लो पुस्ताले नसोचेका गतिमा सम्भव नठानिएका कार्य गर्नुपर्नेछ,’ कार्नीले भनेका छन् ।

यस्तै ‘विस्मरणमा परेको’ एक मुद्दाको उदाहरणका लागि प्रान्तीयस्तरको उच्च व्यापार अवरोधलाई लिन सकिन्छ । यो यस्तो प्रविधिमूलक, विधिशास्त्रसम्बन्धी गुनासो हो, जुन प्रायः सुधारवादी स्वतन्त्र बजार समर्थकको घोषणापत्रमै सीमित रहन्छ र पछिल्ला ३०–४० वर्षमा प्रायः बेवास्ता गरिएको छ । समस्या के हो भने संघीय संरचनामा रहेर पनि क्यानडाका प्रान्तीय शासन विभिन्न नियम, प्रमाणीकरण र इजाजतपत्रमा असंगत छन् । यसको एक कारण आवश्यकता भिन्नता हो भने अर्को कारण अन्तर्निहित संरक्षणवाद र प्रतिस्पर्धा हो । अर्थात्, मालसामान र जनशक्तिको स्वतन्त्र आवागमन तबसम्म सुन्दर लाग्छ, जबसम्म तपाईंको प्रान्तबाट सबैले रोजगारीका लागि बाहिर जाने वा सामान किन्ने कुरा सुरु गर्दैनन् ।

पुस्ताौँदेखि क्यानेडेलीले आफ्नो आन्तरिक संरचनाको अन्तर्निहित जटिलता (वा अव्यवस्था) लाई केही हदसम्म स्वीकृति दिँदै आएका छन्, किनभने यो हाम्रो सबैभन्दा ठुलो आर्थिक बजार अमेरिकाको सन्दर्भमा सहयोगी बनेको छ । प्रान्तीय अर्थतन्त्रहरू पूर्व–पश्चिममा अवस्थित अन्य प्रान्तको सट्टा सीधै दक्षिणतर्फ रहेका अमेरिकी राज्यतर्फ केन्द्रित हुनु नकारात्मक नभई उल्टै फाइदाको विषय भएको देखिन्छ । क्यानडा भौगोलिक रूपमा महादेशमा तेस्रो फैलिएको मुलुक भए पनि यसको थुप्रै उपक्षेत्र त्यो रेखासँग पूर्णतः लम्बको हिसाबले कार्य गरिरहेका छन् ।

जनवरीदेखि प्रान्तीय व्यापार अवरोध घटाउने विषय अचानक ‘आजको नीति’ बनेको छ । मानिसले यसबारे सामान्य कुराकानीमा कुरा गर्न थालेका छन् । थप महत्वपूर्ण के छ भने प्रान्तले पनि यस विषयमा पहिलेभन्दा सार्वजनिक रूपमा धेरै छलफल थालेका छन् । र, कार्नीले त निकै महत्वाकांक्षी रूपमा १ जुलाई अर्थात् क्यानडा दिवससम्ममा यो सारा समस्या समाधान गर्ने घोषणा गरिसकेका छन् । यो त्यस्तो कुरा हो, जसले क्यानडाको काम गर्ने तौरतरिकामा ठुलो परिवर्तन ल्याउनेछ र यसले एउटा गम्भीर प्रश्नतर्फ संकेत गर्छ, जसको उत्तर कार्नीले अब क्यानडालाई खोज्न मद्दत गर्नुपर्नेछ, अर्थात् यदि हामीले आफूलाई पूर्ण रूपमा आफ्नै सर्तमा परिभाषित गर्ने हो भने क्यानडा कस्तो देखिन्थ्यो होला ?

यदि ट्रम्पले कुनै एउटा कुरा स्थायी रूपमा पुनः परिभाषित गर्न सफल भएका छन् भने त्यो हो क्यानडाको आत्मनिर्णयबोध । अब कार्नीको काम भनेको, क्यानडालाई थप बिग्रन नदिनु हो । 

(हर्गन टोरोन्टोमा आधारित लेखक हुन्) 
द गार्डियनबाट