
एक दिन कर्मचारीहरू कार्यालय पुग्दा सूचनापाटीमा एउटा सूचना टाँसिएको थियो– यस कम्पनीमा जसले तपाईंलाई अघि बढ्नबाट रोकिरहेको थियो, उसको हिजो मृत्यु भयो । अन्तिम दर्शनका लागि सबैजना कृपया मिटिङ हलतर्फ प्रस्थान गर्नुहोला ।
सूचना पढ्ने व्यक्ति पहिले त दुःखी हुन्थ्यो र पछि आखिर मेरो प्रगतिको अवरोधक को रहेछ त ? भन्दै हलतर्फ बढ्थ्यो । हलबाहिर कर्मचारीको भिड लागिसकेको थियो । सबैमा एउटै जिज्ञासा थियो, आखिर कसको मृत्यु भयो ? को हुन सक्छ मेरो प्रगतिको अवरोधक ?
सुरक्षागार्डले सबैलाई एक–एक गरेर पालैपालो भित्र पठाइरहेका थिए । भित्र गएर फर्किने व्यक्ति निकै गम्भीर देखिन्थ्यो, मानौँ उसको कुनै निकट आफन्तकै मृत्यु भएको थियो । यसपटक एक पुराना कर्मचारी भित्र पसे । उनको जोसँग पनि गुनासो रहन्थ्यो, कम्पनीसित, सहकर्मीसित, तलब, सुविधालगायत हरेकसित । जसका कारण उनको जीवनमा यति धेरै समस्या आइरहेका रहेछन्, उसैको मृत्यु भएको खबर सुन्दा उनी आज केही खुसी देखिन्थे । आफ्नो पालो आएपछि उनी हलमा राखिएको कफिनसामु पुगे । कफिनको पल्ला उघारेर उनी भित्रको लास हेर्न थाले । तर, त्यहाँ कुनै लास थिएन । त्यहाँ एउटा ठुलो ऐना थियो । जसमा उनकै अनुहार देखिइरहेको थियो । यो देख्दा उनी क्रोधित भए । रिसले चिच्याउन आँटेका मात्र थिए, नजिकै एक सन्देश राखिएको देखे ।
सन्देशमा लेखिएको थियो– यस संसारमा तपाईंको प्रगति रोक्न सक्ने अरू कोही नभएर तपाईं आफैँ हुनुहुन्छ । र, तपाईंको जीवनमा क्रान्ति ल्याउन सक्ने पनि तपाईं आफैँ हुनुहुन्छ । तपाईंका हाकिम बदलिँदा, साथीहरू फेरिँदा, तपाईंको ‘पार्टनर’ बदलिँदा या तपाईंको कम्पनी फेरिँदा तपाईंको जीवन फेरिने होइन, तपाईं आफू बदलिएपछि मात्र तपाईंको जीवन बदलिने हो ।
त्यसैले, आफूलाई हेर्नुहोस्, कठिनाइबाट नआत्तिनुहोस्, आफूमा परिवर्तन ल्याउनुहोस् । यो संसार यही ऐनाजस्तै छ । आजैदेखि आफ्नो प्रगतिको बाधकलाई पन्छाउनुहोस् र जीवनमा हाँसोखुसी ल्याउनुहोस् ।