
ट्रम्प प्रशासनले यमनमा हुथी विद्रोहीमाथि आक्रमण चर्काएको पाँच हप्तामै ठुला समस्या सतहमा आउन थालेका थिए, जसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को बयानबाजीलाई वास्तविकतामा उतार्न कति कठिन छ भनेर देखाउँछ ।
उसो त यमनमाथिको आक्रमणबारे ‘सिग्नल’ एपको एक च्याट ग्रुपमा छलफल गरेको विषयले अमेरिकी मिडियामा छुट्टै विवाद सिर्जना गरेको थियो । अमेरिकी सुरक्षा समूह सम्मिलित ग्रुपमा एकजना पत्रकारको पनि संलग्नता देखिएपछि सो घटना बाहिरिएको थियो । सो विवाद अलग पाटो भयो, त्यसबाहेक यमन अभियान असफल हुँदै गएको छ । यसले आफ्ना दुई उल्लिखित लक्ष्यमध्ये कुनै पनि हासिल गर्न सकेको छैन । आक्रमणअघि ट्रम्प प्रशासनले दुई लक्ष्य तोकेको थियो– लालसागरमा जहाजको स्वतन्त्र आवागमन पुनस्र्थापित गर्ने र हुथीलाई कमजोर बनाउने ।
हुथीविरुद्धको आक्रमणमा एक अर्ब अमेरिकी डलरभन्दा बढी खर्च भइसक्दा पनि लालसागरमा कुनै परिवर्तन आएको छैन । लालसागर र त्यसको छेउमा रहेको स्वेज नहरबाट जहाजमार्फत हुने ढुवानी ठप्प छ । र, यमनभित्र हुथीको पकड उत्तिकै बलियो छ । गत साता हुथीले ट्रम्पलाई यमनमाथि आक्रमण गरेर ‘दलदल’मा फसेको चेतावनी दिएको थियो । समूहले यस क्षेत्रमा इजरायल र अमेरिकी आक्रमणलाई तीव्र पारेको छ ।
ट्रम्पको दोस्रो कार्यकालको सबैभन्दा ठुलो अमेरिकी सैन्य अप्रेसनबारे पारदर्शिताको समेत स्पष्ट अभाव देखिएको छ । रक्षा मन्त्रालयले यस युद्धबारे ब्रिफिङ दिने गरेको छैन । मध्यपूर्वमा कारबाहीको निरीक्षण गर्ने अमेरिकी सेन्ट्रल कमान्डले सामाजिक सञ्जालमा ‘हुथी आर टेरोरिस्ट’ ह्यासट्याग दिएर विमान उडेका आकर्षक भिडियो मात्र पोस्ट गरिरहेको छ ।
अझ चिन्ताजनक कुरा, दुईवटा अमेरिकी युद्धपोतका पूरै लडाकु विमान अहिले चौबीसै घण्टा रणनीतिक रूपमा सटिक निसाना लगाउने हतियारको प्रयोग गरिरहेका छन् । तर, नतिजा केही आएको छैन । ‘यदि यो आक्रमण लालसागरमा जहाजको स्वतन्त्र आवागमन सम्बन्धमा भइरहेको हो भने यसले काम गरिरहेको छैन,’ किंग्स कलेज लन्डनका नौसेना विज्ञ एलेसियो पटालानोले भने ।
अमेरिकी आक्रमणपछि नोभेम्बर २०२३ मा हुथीले व्यावसायिक जहाजमा मिसाइल र ड्रोन आक्रमण गरेपछि प्रायः ठप्प रहेको लालसागर र स्वेज नहरको व्यावसायिक ढुवानी अब चाँडै खोलिने सम्भावना छैन । हुथीले गाजामाथि इजरायली आक्रमणको विरोध र प्यालेस्टिनीहरूको समर्थनमा यी आक्रमण गरेको बताएको छ । उसो त ट्रम्पले सुरु गरेको व्यापार युद्धले यति निराशा उत्पन्न गरेको छ कि ढुवानी कन्टेनर जहाजको दर घट्दै गइरहेको छ । त्यसैले, ढुवानीकर्ता पनि अफ्रिकाको तल्लो भागबाट घुमाउनुपर्ने जहाजको संख्या घटेकाले त्यति हतारोमा देखिँदैनन् ।
हुथीहरूले विश्वको एक महत्वपूर्ण चोकपोइन्ट बाब अल–मन्डेब स्ट्रेटमा पहिलोपटक इजरायल र पश्चिममाथि दबाब सिर्जना गर्न आफ्नो रणनीतिक स्थिति प्रयोग गर्दा पश्चिमले प्रतिक्रिया जनाएको थियो । अमेरिका र बेलायतले हुथीविरुद्ध हवाई प्रहार गर्न नौसेना पठाए । युरोपेली संघले सो जोखिमपूर्ण समुद्री क्षेत्रबाट चल्ने व्यावसायिक जहाजको सुरक्षाका लागि आफ्नै नौसेना कार्यबल पठायो । यद्यपि, अमेरिका–बेलायत र युरोपेली मिसनको उद्देश्य अलि फरक थियो ।
अमेरिका–बेलायतले व्यावसायिक जहाजको यात्रा रोक्ने हुथीको क्षमतालाई कमजोर बनाउन सैन्य उपाय रोजेको थिए । युरोपले भने परम्परागत स्वतन्त्रता–आवागमन सुनिश्चित गर्न प्रतिरक्षाको रणनीति अपनायो । तर, दुवै रणनीतिले खासै काम गरेन । खतरनाक क्षेत्रबाट चल्ने जहाजको बिमा दर महँगिएर आकाश छुँदा स्वेज नहरबाट हुने जहाजको यात्रा घट्यो ।
ट्रम्पको सरकार गठन भएपछि उनले बाइडेन प्रशासन असफल भएको ठाउँमा सफल हुने संकल्प लिएको छ । ‘यो हुथीबारे होइन,’ अमेरिकी रक्षामन्त्री पिट हेसगेथले मार्चमा हुथीमाथि आक्रमणअघि ‘सिग्नल’ एपको ग्रुप च्याटमा लेखेका थिए, ‘म यसलाई दुई अर्थमा बुझ्छु, एक– स्वतन्त्र जहाजको यात्रालाई पहिलेकै अवस्थामा पुनस्र्थापित गर्नु, जुन हाम्रो प्रमुख राष्ट्रिय हितसँग जोडिएको र दुई– हाम्रो बलियो निरोध पुनस्र्थापित गर्नु, जसमा राष्ट्रपति जोे बाइडेन असफल भए ।’
सोही च्याटमा जहाजको स्वतन्त्र यात्रालाई प्रमुख अमेरिकी राष्ट्रिय हित भन्ने हेसगेथको विचारलाई तत्कालै उपराष्ट्रपति जे.डी. भान्सले विरोध जनाएका थिए । अन्य कुरामा असहमति भए पनि ट्रम्पका राष्ट्रिय सुरक्षा समूहका सबैजना अमेरिकी सैन्य कदममा युरोपले कुनै न कुनै रूपमा खर्च व्यहोरोस् भन्नेमा सहमत देखिन्थे । तर, उता मध्यपूर्वको अमेरिकी कमान्ड ‘सेन्टकम’ भने यो सबे हुथीहरू केन्द्रित भएकोमा विश्वस्त देखिन्छ ।
अमेरिकी नीति र प्राथमिकताको विरोधाभासमा सिग्नल च्याटले केही तथ्य उजागर गरेको छ । विशेषगरी, ‘एसियातर्फ फर्किने’ नीति अमेरिकाले बिर्सिएजस्तो देखिन्छ । अमेरिकाको नौसेना तटवर्ती क्षेत्रमा रहेका लक्ष्यमाथि निसाना लगाउन कुशल छ । तर, परिचालन र रणनीतिक सफलताले रणनीतिक प्रभाव हातबाट फुस्किँदै छ भन्ने कुरा लुकाउन सकिँदैन । ‘यदि अमेरिकाको दीर्घकालीन रणनीति चिनियाँ नेतृत्वलाई रोक्ने हो भने हुथी आक्रमणले त्यसमा एकरत्ति पनि सघाउको छैन,’ पटालानोले भने ।
थोमस जेफर्सनको पालादेखि संयुक्त राज्य अमेरिकाले जहाजको स्वतन्त्र आवगमनको लागि लडिरहेको छ । के कुरा बुझ्न गाह्रो भइरहेको छ भने अमेरिका अहिले आवश्यक नै नरहेको समुद्री मार्ग खोल्न किन व्यर्थको प्रयास गरिरहेको छ ? जबकि उसका सामु अन्य थप महत्वपूर्ण चुनौती छन् । अनावश्यक रूपमा सुरु गरिएको हुथीविरुद्धको आक्रमण असफल भयो भने भोलिका दिनमा लोकतान्त्रिक मुलुकलाई उन्नत युद्धपोतमा ठुलो रकम तिर्न मनाउन धेरै गाह्रो पर्नेछ । ‘मलाई सबैभन्दा चिन्ताजनक कुरा के लाग्छ भने वर्तमान अमेरिकी प्रशासनले समुद्री शक्तिको उपयोगितालाई कमजोर बनाइरहेको छ । यस्तो अवस्थामा भविष्यमा धेरैले हुथीलाई समेत तह लगाउन नसक्ने नौसेना हामीलाई किन चाहियो भन्ने प्रश्न उठ्न सक्छ,’ नौसेनाविद् पटालानोले भने ।
– फरेन पोलिसीबाट