
सानिमा रिलायन्स लाइफले तेस्रो संस्करणको ‘सी स्ट्राइक्स–कर्पोरेट महिला क्रिकेट’ प्रतियोगिताको उपाधि जितेको छ । शनिबार खेलिएको फाइनलमा कम्पनीले सूर्य नेपाललाई २८ रनले पराजित गर्दै उपाधि जितेको हो ।
पहिले ब्याटिङ गरेको सानिमा रिलायन्सले निर्धारित पाँच ओभरमा चार विकेट गुमाउँदै ६० रनको योगफल बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको सूर्य नेपालले पूरै पाँच ओभरमा एक विकेटको क्षतिमा जम्मा ३२ रन जोड्न सक्यो ।
सानिमा रिलायन्सलाई लगातार दोस्रोपटक कर्पोरेट महिला क्रिकेटको उपाधि जिताउन कप्तान स्वस्तिका कार्कीको योगदान महत्वपूर्ण रह्यो । सूर्य नेपालविरुद्धको फाइनल खेलमा प्लेयर अफ दी म्याच घोषित कार्कीले प्लेयर अफ दी टुर्नामेन्ट अवार्ड पनि प्राप्त गरिन् ।
सनसनीपूर्ण प्रदर्शन गरेकी कार्कीले प्रतियोगिताभर कुल तीनपटक प्लेयर अफ दी म्याच अवार्ड प्राप्त गरेकी छिन् । यस्तै, सानिमा रिलायन्सकी रक्षा रानाले पनि एक खेलमा प्लेयर अफ दी म्याच पुरस्कार प्राप्त गरेको कम्पनीले जनाएको छ ।
प्रतियोगिताभरि सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी पनि सानिमा रिलायन्सकै कप्तान स्वस्तिका कार्की बनिन् । एन इभेन्ट्सको आयोजना रहेको प्रतियोगिता १२ देखि १३ वैशाखसम्म चलेको थियो । प्रतियोगितामा कुल नौ टिम सहभागी थिए ।