
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले मंगलबार मलेसियाविरुद्ध एएफसी एसियन कप छनोट प्रतियोगिताको पहिलो खेलमा प्रतिस्पर्धा गर्दै छ । मलेसियाको घरेलु मैदानमा हुने खेलमा नेपाल ऐतिहासिक पहिलो जितको प्रतीक्षामा छ । ६ वर्षपछि नेपालले मलेसियासँग भिड्न लागेको हो । अहिलेसम्म नेपाल विपक्षी मलेसियाविरुद्ध जितविहीन छ । यद्यपि, नेपाली खेलाडी जितका साथ छनोट खेल सुरु गर्ने योजनामा छन् ।
गत शुक्रबार नेपालले पहिलोपटक आफूभन्दा १५ स्थानमाथि रहेको सिंगापुरविरुद्ध ऐतिहासिक जित निकालेको थियो । यसै जितको सिलसिलामा नेपाल मलेसियाविरुद्ध पनि राख्न चाहन्छ । नेपाल र मलेसियाबिच पहिलो खेल सन् १९८३ मा मर्डेका कपमा भएको थियो । जसमा मलेसियाले नेपालमाथि ७–० को सानदार जित निकालेको थियो । सन् २०१९ मा नेपाल अन्तिमपटक मलेसियासँग २–० ले हारेको थियो । नेपालले मलेसियालाई एकपटक मात्र गोलरहित बराबरीमा रोकेका छ ।
अस्ट्रेलियन नागरिक म्याट रोसको प्रशिक्षणमा रहेको नेपाली युवा खेलाडीले सिंगापुरविरुद्ध आक्रामक खेल प्रस्तुत गरेका थिए । यही आक्रामक रणनीति मलेसियासँग पनि हुने प्रशिक्षक रोसले बताए । फिफा वरीयतामा मलेसिया १३२औँ र नेपाल १७५औँ स्थानमा छ । नेपालभन्दा मलेसिया ४३ स्थानमाथि छ । नेपालका कप्तान किरणकुमार लिम्बू बलियो मलेसियासँग खेल्न तयार रहेको बताए । ‘हामी मलेसियासँग खेल्न निकै उत्साहित छौँ । यो खेलमा भरपुर मनोरञ्जन लिने प्रयासमा छौँ, यहाँ पनि नेपाली समर्थकले साथ दिने आशा लिएको छु,’ लिम्बुले भने ।
नेपालका मुख्य प्रशिक्षक रोसले तीन अंक बटुल्ने रणनीतिका साथ खेल्ने जनाए । ‘हामीभन्दा मलेसिया बलियो छ, तर नेपाल तीन अंकका लागि खेल्नेछ,’ रोसले भने, ‘नेपालको खेल आक्रामक हुनेछ ।’
वास्तवमा नेपाल र मलेसियाबिचको छनोटअन्तर्गत पहिलो खेल दशरथ रंगशालामा हुनुपर्ने थियो । तर, आयोजनाको जिम्मेवारी पाएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँग समन्वय गरेन ।
एन्फाले एसियन फुटबल महासंघलाई छनोट खेल मलेसियामा गराउन पत्र पठाएको थियो । एएफसीले सहजै रूपमा एन्फाको आग्रह स्वीकार गरी मलेसियामा गराएको हो । यससँगै रंगशालाले फेरि एकपटक अन्तर्राष्ट्रिय मान्यता गुमाएको हो ।
नेपालविरुद्ध अपराजित मलेसिया
एसियाली फुटबलमै प्रभाव जमाएको मलेसियाविरुद्ध नेपालले जित निकालेको छैन । सातमध्ये ६ खेलमा मलेसिया विजयी भएको छ । फिफा र एएफसीका आधिकारिक रूपमा यी दुई प्रतिद्वन्द्वीबिच पाँच खेल भएका छन् । दुई खेल मैत्रीपूर्ण थियो । सन् १९८५ मा भएको विश्वकप छनोटमा नेपालले मलेसियालाई गोलरहित बराबरीमा रोकेको थियो । सन् १९८५ मै भएको विश्वकप छनोटमा नेपाल मलेसियासँग ५–० ले पराजित भयो । सन् १९८९ मा नेपाल क्रमशः २–० र ३–० ले पराजित भएको थियो । सन् २००९ मा भएको मैत्रीपूर्ण खेलमा पनि नेपाल २–० ले नै पराजित भएको हो ।
आक्रामक फुटबलमै केन्द्रित
प्रशिक्षक रोसले मलेसियाविरुद्ध पनि आक्रामक खेल्ने बताए । खेलको रणनीतिअनुसार नेपालले डिफेन्सिभ खेल्दै विपक्षीलाई दबाबमा राख्न योजनामा छ । सिंगापुरविरुद्ध अट्याकमा जिलेस्पीजंग कार्की, अञ्जन विष्ट, आयुष घलान र मनीष डांगीले कमान्ड सम्हालेका थिए ।
जिलेस्पीले पछिल्लो चार खेलमा तीन गोल गरी आफू लयमा रहेको प्रमाणित गरेका छन् । हरि खड्का र निराजन रायमाझीसँगै १३ गोलको बराबरी गरेका अञ्जन कीर्तिमानी बनाउन एक गोलले पछाडि छन् । गोलरक्षक तथा कप्तान चेम्जोङले रोसको रणनीतिलाई न्याय गरेका थिए । चेम्जोङले दुई खेलमा क्लिन सिट नै राखेका थिए । उनले सिंगापुरविरुद्ध तीनपटकसँग वान भर्सेज वानमा उत्कृष्ट बचाउ गरेका थिए । रक्षापंक्तिमा डेब्यु गरेका सुमन श्रेष्ठसँगै अनुभवी रोहित चन्द, अनन्त तामाङ र सनिस श्रेष्ठ रहेका छन् ।