
सृजनराज गौतमको चार गोलको सहयोगमा संकटा क्लब २३औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । बुटवल देवीनगरस्थित एन्फा टेक्निकल खेल मैदानमा सोमबार संकटाले जर्जियन फुटबल क्लब कालिम्पोङ भारतलाई ४–० ले हराउँदै अन्तिम चारको स्थान पक्का गरेको हो ।
१९औँ संस्करणको विजेता संकटाले फाइनल प्रवेश खेलमा एपिएफ क्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछ । एपिएफले आइतबार आयोजक रुपन्देही–११ लाई १–० ले पराजित गर्दै अन्तिम चार स्थान पक्का गरेको थियो ।
संकटाले जर्जियनविरुद्ध ४२औँ मिनेटमा १–० को अग्रता लिएको थियो । सृजनले संकटालाई अग्रता दिलाएका थिए । उनले निर्मल घिसिङको पासमा दोस्रो बारमा गोल गरेका थिए । संकटाले दोस्रो हाफमा थप तीन गोल गरेको थियो । खेलको ८६औं मिनेटमा सृजनले एकल प्रयासमा संकटालाई २–० को अग्रता दिलाए ।
यसपटक उनले सुरज थारूले मध्यभागबाट दिएको बलमा गोल गरे । सृजनले जर्जियनका गोलरक्षक अगाडि बढेको मौकामा फिल गर्दै गोल गरेका थिए । खेलको अन्तिम दुई मिनेटको इन्जुरी समयमा सृजनले दुई गोल गरी ह्याट्रिक पनि लगाए ।
इन्जुरी समयमा ह्याट्रिक गोल गर्दा जन्मजय धामीले पास उपलब्ध गराए । प्रतियोगितामा यो नै पहिलो ह्याट्रिक हो । इन्जुरी समयमै सृजनले मैदानको मध्य क्षेत्रमा जर्जियनका खेलाडीबाट बल खोस्दै उत्कृष्ट ड्रिब्लिन गर्दै गोल गरे ।
प्रतियोगिताअन्तर्गत मंगलबार ‘ए’ डिभिजन लिग उपविजेता मच्छिन्द्रले एडोर्न गडवाल स्पोर्टिङ क्लबविरुद्ध अन्तिम क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछ । यस खेलको विजेताले लिग विजेता चर्च ब्वाइज युनाइटेडविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।