१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o६:१४:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

ठेक्का लागेको ४५ महिनापछि मदन भण्डारी राजमार्गमा रुख कटान सुरु

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:१४:oo
  • सुनसरी–झापा खण्डको ९८.८ किलोमिटर सडकमध्ये ४६ किलोमिटरमा सात हजार ७१० वटा रुख कटान हुने
  • इलाम हुँदै मेचीनगरको पाटापुरसम्मको ५२.८ किलोमिटर क्षेत्रका ६ हजार रुख हटाउनेबारे निर्णय हुन बाँकी 

मदन भण्डारी राजमार्गअन्तर्गत सुनसरी–झापा खण्ड निर्माणका लागि ठेक्का लागेको ४५ महिनापछि रुख कटान सुरु भएको छ । सुनसरीदेखि झापाको पाटापुरसम्म ठेक्का लागेको ९८.८ किलोमिटरमध्ये सर्दु खोलादेखि दमकस्थित बेलडाँगीसम्मको ४६ किलोमिटरमा सडक क्षेत्रमा पर्ने रुख कटान सोमबारबाट सुरु भएको हो । 

झापाको दमक– २ बाट रुख कटान सुरु गरिएको छ । मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकका प्रमुख कर्णसिंह खत्रीका अनुसार ४६ किलोमिटरमा सात हजार ७१० वटा रुख कटान गर्नुपर्नेछ । ‘रुख कटान तथा भोगाधिकारसम्बन्धी मन्त्रिपरिषद्को निर्णयपछि रुख कटान सुरु भएको छ । रुख कटानको काम सकिएपछि निर्माण कार्य अघि बढाउन सहज भएको छ,’ उनले भने, ‘अब सडक निर्माणको काम एक वर्षभित्र सकिन्छ ।’ राजमार्गमा पर्ने रुख हटाउन करिब दुई महिना लाग्ने अनुमान गरिएको छ । 

सुनसरीको सर्दु–भलुवाको २४.८ किलोमिटर र भलुवा–बेलडाँगीको २८ किलोमिटर गरी दुई खण्डको ठेक्का सम्झौता २९ असार ०७८ मै भए पनि रुख कटानको अनुमति नहुँदा श्रेष्ठ–मोतीदान जेभीले काम गर्न सकेको थिएन । कतिपय ठाउँमा बिचमै रुख छाडेर निर्माण व्यवसायीले सडक कालोपत्रे गरेका थिए ।

ठेक्काको म्याद २८ पुस ०८० मै सकिएपछि गत पुस मसान्तमा म्याद थप भएको थियो । अहिले म्याद थप प्रक्रियामा रहेको खत्रीले बताए । ‘सरकारले समयमै रुख कटानको अनुमति नदिँदा ढिलाइ भएको थियो । बल्ल कटान सुरु भएको छ । रुख कटान सकिँदा जेठ लाग्छ । त्यसपछि बर्खा सुरु हुन्छ,’ श्रेष्ठ–मोतीदान जेभीका इन्जिनियर प्रह्लाद ढुंगानाले भने, ‘अब योे आर्थिक वर्षमा काम सकिँदैन । हामीले एक वर्षको म्याद थप मागेका छौँ । त्यो अवधिमा हामी काम सक्छौँ ।’

सुनसरीको सर्दु–भलुवाको २४.८ किलोमिटर सडक ९३ करोड ३३ लाखमा र भलुवा–बेलडाँगीको २८ किलोमिटर सडक एक अर्ब चार करोडमा ठेक्का लागेको हो । दुवै खण्डको काम करिब ७५ प्रतिशत सकिएको छ ।

त्यसैबिच मदन भण्डारी राजमार्गअन्तर्गत दमकदेखि इलाम हुँदै मेचीनगरको पाटापुरसम्मको ५२.८ किलोमिटर क्षेत्रको रुख हटाउनेबारे सरकारले अझै निर्णय गरेको छैन । यो खण्डमा ६ हजार रुख हटाउनुपर्ने मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकका प्रमुख कर्णसिंह खत्रीले बताए ।

‘यो खण्डमा पनि रुख हटाउनका लागि प्रक्रिया अन्तिम चरणमा छ । केही समयमा नै निर्णय भएर रुख कटान हुनेछ,’ उनले भने । दमकदेखि इलाम हुँदै मेचीनगरको पाटापुरसम्मको खण्डमा पनि रुख कटान समयमा नहुँदा कतिपय ठेक्कामा म्याद सकिँदा पनि काम सम्पन्न हुन सकेको छैन । 

५२.८ किलोमिटरमध्ये मेचीडाँगी–शान्तिपुरको १० किलोमिटर सडक ३७ करोड ९५ लाखमा श्रेष्ठ–मोतीदान जेभीले ठेक्का लिएको छ । थपिएको म्याद ०८२ असार मसान्तसम्म छ । प्रगति ६० प्रतिशत छ । 

मेचीडाँगीदेखि पाटापुरसम्मको करिब तीन किलोमिटर सडक निर्माणका लागि दुईवटा प्याकेजमा ठेक्का लगाइएको थियो । दुवै ठेक्का सम्पन्न भएको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकले जनाएको छ ।

रतुवादेखि कमल खोलासम्म १३ किलोमिटर सडक निर्माणका लागि ९ मंसिर ०७९ मा ठेक्का सम्झौता भएको थियो । ८ जेठ ०८२ मा सक्ने गरी देव एन्ड सायर–सक्षम जेभीले ५४ करोड ९७ लाखमा ठेक्का लिएकामा ३० प्रतिशत प्रगति छ । सहादतस्थलदेखि शान्तिनगरसम्मको १७ किलोमिटर निर्माणको जिम्मा भीमेश्वर ड्रिलिङ तथा निर्माण सेवाले लिएको छ । २३ कात्तिक ०७९ मा ८६ करोड ८२ लाखमा ठेक्का लिएको यो खण्ड २२ वैशाख ०८२ मा निर्माण सम्पन्न गर्नुपर्नेछ । अहिले यो सडकको भौतिक प्रगति करिब ४० प्रतिशत रहेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकले जनाएको छ ।

मदन भण्डारी रानमार्गको पूर्वीखण्डअन्तर्गत झापादेखि सुनसरीसम्म ३७ वटा पुल निर्माणका लागि ठेक्का लागेको थियो । जसमध्ये २२ वटा पुलको पूर्ण रूपमा निर्माण सम्पन्न भइसकेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकले जनाएको छ । जसमध्ये नौवटा पुल निर्माणको काम सकिए पनि रुख हटाउन नसक्दा पनि पहुँचमार्ग निर्माण हुन सकेको छैन ।