
विद्यालय स्वास्थ्य कार्यक्रम कार्यान्वयनका लागि अभिभावक, समुदाय र स्वास्थ्यकर्मीबिच बलियो सहकार्य आवश्यक छ
विद्यालय स्वास्थ्य कार्यक्रम विद्यार्थीको शारीरिक, मानसिक, सामाजिक, भावनात्मक र शैक्षिक अवस्था विकास गर्न योजनाबद्ध स्वास्थ्यसम्बन्धी क्रियाकलाप या सेवाहरूको एकीकृत कार्यक्रम हो । यो कार्यक्रम स्वास्थ्य सेवाको पहुँचलाई विद्यालयसम्म विस्तार गर्न र विद्यार्थीसँगै विद्यालयका शिक्षक तथा कर्मचारीको स्वास्थ्य अवस्था सुधारका लागि गरिएको हो । विद्यालय स्वास्थ्य कार्यक्रमले विद्यार्थीको जीवनस्तर सुधार्न र स्वस्थ भविष्य निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्छ । कार्यक्रमले सिकाइलाई असर गर्ने स्वास्थ्य समस्याको प्रारम्भिक पहिचानका लागि स्क्रिनिङ गर्ने, आवधिक शारीरिक मूल्यांकन गर्ने, रोकथाम गर्न सकिने सरुवा रोगको जोखिम कम गर्न खोप प्रदान गर्ने, सानातिना रोगका लागि सजिलै पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने, पहिचान भएका जटिल खालका वा शंकास्पद समस्याका लागि उपयुक्त एजेन्सीलाई ‘रेफरल’ गरी विद्यालयमा स्वास्थ्य संकटको यथाशीघ्र व्यवस्थापन गर्दै स्वास्थ्य प्रवर्द्धन र रोगको रोकथामका लागि स्वास्थ्य शिक्षा प्रदान गर्ने काम गर्छ ।
नेपालको राष्ट्रिय स्वास्थ्य नीति ०७६ को रणनीतिक उद्देश्यअनुरूप प्रत्येक विद्यालयमा कम्तीमा एकजना स्वास्थ्यकर्मी परिचालन गरी विद्यालयको स्वास्थ्य अवस्था सुधार गर्ने अवधारणा स्वास्थ्य नीतिले लिएको पाइन्छ । नेपाल सरकारले विद्यालय स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउन प्रत्येक स्थानीय तहमा विद्यालय स्वास्थ्य समन्वय समिति बनाउने व्यवस्था गरेको छ । त्यसैगरी प्रत्येक विद्यालयमा यस कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न विद्यालय स्वास्थ्य एकाइ राख्नुका साथै विद्यालयमा नर्सको व्यवस्था गर्ने नीति लिइएको छ । जसअन्तर्गत विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका २०७६ हालको संशोधन २०८१ ले यस कार्यक्रमलाई संस्थागत गरेको छ । नेपालमा लागू भएको यस निर्देशिका विद्यालयमा स्वास्थ्य र नर्सिङ सेवालाई बढावा दिन, स्वास्थ्य प्रवर्द्धन, रोगको रोकथाम, स्वस्थ विद्यालय र सिकाइमैत्री वातावरण सिर्जना गर्न जोड दिने कुरामा केन्द्रित छ । नेपालको पोषणसम्बन्धी राष्ट्रिय सर्वेक्षण, २०१६ का अनुसार विद्यालयका ४० प्रतिशत विद्यार्थी पोषणसम्बन्धी समस्यामा छन् । यसले विद्यालय स्वास्थ्यको आवश्यकता थप महत्वपूर्ण बनाउँछ । नेपालमा विद्यालय स्वास्थ्य कार्यक्रमका उद्देश्य निम्नानुसार छन्:
– विद्यालयस्तरबाटै बालबालिकालाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने
– विद्यालयमा आधारित स्वास्थ्य तथा पोषण सेवा प्रदान गर्ने
– स्वास्थ्य, सफा र सिकाइमैत्री वातावरण तयार गर्ने
– व्यवहार परिवर्तनमा आधारित स्वास्थ्य शिक्षा दिने
– स्वास्थ्यसँग सम्बन्धित विद्यालय कार्यक्रम कार्यान्वयन गर्ने
– किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य प्रवर्द्धन गर्नुका साथै महिनावारी स्वास्थ्य व्यवस्थापन गर्ने
– विद्यालय उमेरका बालबालिकाको मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने
– प्राथमिक उपचार सेवा प्रदान गर्ने
– समयमै स्वास्थ्य समस्या पहिचान तथा रोकथाम गरी जटिलता देखिएमा सम्बन्धित अस्पतालमा प्रेषण गर्ने
– विद्यार्थीको विद्यालय छोड्ने दर घटाउने
विद्यालय स्वास्थ्य कार्यक्रमको सफल कार्यान्वयनमा विद्यालय नर्सको भूमिका अत्यन्त महत्वपूर्ण छ । विद्यालय स्वास्थ्य कार्यक्रम सञ्चालनका लागि नर्सले नेतृत्वदायी भूमिका वहन गर्छन् । विद्यालयको वातावरण सिक्न सिकाउनका लागि सुरक्षित एवं बालबालिका तथा किशोर–किशोरीमैत्री बनाउन सहयोग गर्ने, विद्यार्थीद्वारा विद्यार्थीलाई चेतनामूलक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने, अभिभावकसँग समन्वय गर्ने, विद्यार्थीलाई स्वस्थ जीवनशैलीसँग सम्बन्धित आचरण सिकाउनुका साथै सकारात्मक सोचको समेत विकास गर्न मद्दत गर्ने र स्थानीय तहसँग आवश्यक समन्वय गर्नेजस्ता विभिन्न भूमिका विद्यालय नर्सले निर्वाह गर्छन् । विद्यालय नर्सको मुख्य जिम्मेवारी प्रवर्द्धनात्मक तथा प्रतिकारात्मक परामर्श सेवा, स्वास्थ्य परीक्षण एवं प्राथमिक उपचार र प्रेषण सेवा रहेका छन् । आर्थिक वर्ष ०७९/८० को वार्षिक स्वास्थ्य प्रतिवेदनको तथ्यांकअनुसार स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा र विभिन्न प्रदेश सरकारको सहयोगमा सञ्चालित विद्यालय स्वास्थ्य कार्यक्रममा हाल १०११ विद्यालयमा नर्स कार्यरत छन् । साथै, केही निजी विद्यालयले पनि आफ्नै लागतमा यो कार्यक्रम लागू गरेका छन् ।
नेपालमा विद्यालय स्वास्थ्य कार्यक्रमका विभिन्न चुनौती छन् । धेरै विद्यालयमा स्वास्थ्यसम्बन्धी आधारभूत संरचनाको अभाव छ । जस्तै– सफा पिउने पानीको सुविधा, शौचालयको सरसफाइ र स्वास्थ्य सामग्रीको कमी आदि । अझै पनि धेरै विद्यालयमा स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवा पुर्याउन पर्याप्त साधन छैनन् । विद्यालय स्वास्थ्य नर्सको महत्व र स्वास्थ्य कार्यक्रमका लाभबारे समुदाय र अभिभावकको सचेतना अझै कम छ । यसमा सुधार गर्नका लागि व्यापक प्रचार–प्रसार र विद्यालय स्वास्थ्य कार्यक्रम कार्यान्वयनका लागि अभिभावक, समुदाय र स्वास्थ्यकर्मीको सहकार्य आवश्यक छ ।
विद्यालय स्वास्थ्य कार्यक्रम बालबालिकाको सर्वाङ्गीण विकासका लागि अत्यन्तै प्रभावकारी कार्यक्रम हो । विद्यालय स्वास्थ्य कार्यक्रमको सफल कार्यान्वयनका लागि अभिभावक र समुदायको सक्रिय सहभागिता आवश्यक छ । नेपालमा पनि विद्यालय स्वास्थ्य कार्यक्रमलाई प्राथमिकतामा राखी देशका सबै विद्यालयमा सञ्चालन गर्न सरकार र समुदायको सहकार्य हुनु जरुरी देखिन्छ । जसमा विद्यालय नर्सको भूमिका महत्वपूर्ण रहेको हुन्छ । स्वस्थ जीवन नै सिकाइको प्रमुख आधार हो । तसर्थ, विद्यालय स्वास्थ्य कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके कम स्रोतसाधन परिचालन गरी रोगहरूको जोखिम कम गर्न, स्वस्थ र सभ्य समाज निर्माण गर्न सकिन्छ ।
(शर्मा पोखरा नर्सिङ क्याम्पसकी सहप्राध्यापक हुन्)