१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १२ शनिबार
  • Saturday, 07 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ माघ १२ शनिबार o७:४७:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

जय नेपाल कप : दोस्रो जितका साथ लखनउ र ढाका सेमिफाइनलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ माघ १२ शनिबार o७:४७:oo

लखनउ र ढाका विश्वविद्यालयले शुक्रबार जय नेपाल कप टी–२० अन्तरविश्वविद्यालय क्रिकेट प्रतियोगितामा सेमिफाइनल स्थान पक्का गरेका छन् । ढाका र लखनउ लगातार दोस्रो जितका साथ अन्तिम चारमा पुगेका हुन् । त्रिवि मैदानमा भएको समूह ‘ए’को खेलमा ढाकाले पूर्वाञ्चल विश्वविद्यालयलाई १५२ रनको फराकिलो अन्तरले हरायो । यस समूह चरणमा पूर्वाञ्चल तीनै खेलमा हार सामना गरी प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘ए’मा त्रिभुवन विश्वविद्यालय र ढाकाले समान दुई खेलमा जित निकालेका छन् । बिहार र ढाकाबिच समूहको अन्तिम खेलपछि सेमिफाइनलमा पुग्ने दुई टोलीको टुंगो लाग्नेछ । 

समूह ‘ए’को त्रिभुवन विश्वविद्यालयले तीन खेलमा ४ अंक बनाएको छ । ढाकाले बिहारलाई हराउँदा त्रिभुवन विश्वविद्यालय सेमिफाइनलमा पुग्नेछ । समूह ‘बी’को खेलमा लखनउले काठमाडौं विश्वविद्यालयलाई ७३ रनले हरायो । जितसँगै लखनउले समूहमा मध्यपश्चिमसँग समान चार ४ अंक जोडेको छ । यससँगै समूहबाट लखनउ र मध्यपश्चिम एक खेलअगाडि नै अन्तिम चारमा पुगेका हुन् । काठमाडौं लगातार दोस्रो खेलमा पराजित भयो । समूहमा दिल्लीले पनि समान दुई खेलमा हारको सामना गरेको छ । 

ढाकाको आक्रामक ब्याटिङ
त्रिवि क्रिकेट मैदानमा ढाकाले पूर्वाञ्चलविरुद्ध आक्रामक ब्याटिङ गरेको थियो । पहिलो ब्याटिङ गरेको ढाकाले २० ओभरमा चार विकेटको नोक्सानीमा २३५ रनको विशाल योगफल खडा गर्‍यो । प्रत्युत्तरमा पूर्वाञ्चल १९.३ ओभरमा ८३ रनमा समेटियो । पूर्वाञ्चलको ब्याटिङमा ओम चौधरीले सर्वाधिक १० रनको योगदान दिए । पूर्वाञ्चलले अतिरिक्तबाट सर्वाधिक २० रन पाएको थियो । ढाकाको ब्याटिङमा मोहमद रहमानले सर्वाधिक ९६ रनको योगदान दिए । उनी शतकीय इनिङ्स खेल्नबाट चार रनले चुके ।

उनले केवल ३७ बलमा १० छक्का र तीन चौका प्रहार गरे । ढाकाले पूवाञ्चलविरुद्धको ओपनिङ ७.३ ओभरमा ७७ रन जोडेको थियो । तेस्रो विकेटका लागि ढाकाले ६८ रन जोडेको थियो । मोहमद रहमानले चौथो विकेटका लागि सेयर सकिवसँग ७६ रनको साझेदारी गर्दै टोलीको स्कोरलाई दुई सय योगफल कटाए । ओपनर सदिक खानले २४ बलमा सात चौका र दुई छक्काको सहयोगमा ५० रन जोडे । महफिजुल इस्लामले २५ बलमा चार चौका प्रहार गरी ३१ रन बनाए । 

यसैगरी, इतिखर हुसेनले २३ बलमा पाँच चौका र एक छक्काको सहयोगमा ३८ रनको योगदान दिए । २३६ रन लक्ष्य पछ्याएको पूर्वाञ्चलले फितलो ब्याटिङ प्रदर्शन गरेको थियो । ओपनर सत्यमान मलिक र कृष्ण शाहले पहिलो विकेटका लागि ६ रन जोडेका थिए ।  

लखनउको सहज जित
प्रतियोगिताको अर्को खेलमा भारतको लखनउले काठमाडौं विश्वविद्यालयमाथि सहज जित निकाल्यो । पहिलो ब्याटिङ गरेको लखनउले २० ओभरमा तीन विकेट गुमाएर १६० रनको योगफल खडा गर्‍यो । प्रत्युत्तरमा काठमाडौंले २० ओभरमा आठ विकेटको क्षतिमा ८७ रन बनाउँदा लखनउ ७३ रनले विजयी भयो । लखनउका लागि मनान काडपालले सर्वाधिक ७५ रन बनाउन ४९ बलमा पाँच चौका र चार छक्का प्रहार गरे । काठमाडौंको ब्याटिङमा संगीत केसीले नटआउट २० रन तथा प्रदीपकुमार यादवले १७ रन बनाए । ओपनर विशाल देवकोटा डकआउट भए ।