
जुनिम गहतराजको निर्देशनमा बनेको फिल्म ‘ताण्डवम्’को प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फिल्म फागुन ९ गतेबाट प्रदर्शनमा आउने जनाएको हो।
सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरू क्यारेक्टर लुक्समा प्रस्तुत छन्। पोस्टरमा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अंकित खड्का, अनोज पाण्डे र जुनिम गहतराज देखिएका छन्। यो फिल्मबाट कलरिस्ट जुनिमले निर्देशनमा डेब्यु गरेका छन्। कमल कार्की र गोपाल कटुवालको पनि अभिनय रहेको छ।
महाशिवरात्रिको छेको पारेर प्रदर्शनमा आउन लागेको सिनेमाको नामजस्तै धार्मिक कनेक्सन पनि रहेको निर्माण टिमले जनाएको छ।
सिंहदेवी प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको निर्माता धनकुमारी गहतराज, सविना मगर र मनीष गौतम हुन्। हरि घले लामाले खिचेको फिल्ममा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याकग्राउन्ड म्युजिक रहेको छ। फिल्मको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन्।
निर्देशक जुनिमले ‘पानीफोटो’, ‘पशुपति प्रसाद २ : भष्मेडन’, ‘खुस्मा’, ‘चिसो मान्छे’ र ‘परस्त्री’लगायत दर्जनभन्दा बढी सिनेमामा कलरिस्टको रूपमा काम गरिसकेका छन्।