१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:o५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

विपिन जोशी सम्भवतः आइतबार, नभए तीन सातापछि छुट्ने सरकारको विश्वास

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:o५:oo

इजरायल र प्यालेस्टाइनको हमास समूहबिच भएको युद्धविराम सम्झौताअनुसार आइतबार दुवैको नियन्त्रणमा रहेका बन्दी छुट्दै छन् । सम्झौताअनुसार सुरुमा छुट्ने ३४ जनाको सूचीमा थपिएर नेपाली विद्यार्थी विपिन जोशी पनि मुक्त हुन सक्ने सरकारको विश्वास छ । आइतबार छुट्ने सूचीमा नपरे त्यसको १६औँ दिनमा जोशी छुट्ने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको विश्वास छ ।

‘युद्धविराम सम्झौताअनुसार आइतबार पहिलो चरणमा, त्यसपछिको १६ दिनमा दोस्रो चरणमा बन्दीहरू छुट्ने भनिएको छ । विपिन जोशी सकभर आइतबारै छुट्नेछन् र त्यसो हुन नसकेमा दोस्रो चरणमा उनी छुट्ने पूर्ण विश्वासमा परराष्ट्रमन्त्रीज्यू हुनुहुन्छ,’ परराष्ट्रमन्त्री राणाका प्रेस सल्लाहकार एकराज पाठकले नयाँ पत्रिकासँग भने, ‘उहाँले विपिनको रिहाइका लागि आफ्नो ठाउँबाट सक्रिय भूमिका निर्वाह गर्न, सम्बद्ध अधिकारीसँग निकट सम्पर्कमा रहेर काम गर्न राजदूतहरूलाई पनि भन्नुभएको छ ।’ हमासले दोस्रो चरणमा सबै बन्दीलाई मुक्त गर्ने प्रतिबद्धता जनाएका कारण सरकार आशावादी छ । दोस्रो चरणमा बन्दीहरू छाडेको आठौँ दिनमा हमास समूहले उसको नियन्त्रणमा रहेको शव परिवारजनलाई दिने प्रतिबद्धता जनाएको छ । 

परराष्ट्रमन्त्री राणाले हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा जोशीको रिहाइका लागि मंगलबार इजरायलका विदेशमन्त्री गिडियन सार र कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अलखुलाइफीसँग बेग्लाबेग्लै फोनवार्ता गरेकी थिइन् । सरकारले कतार, इजरायल र इजिप्ट सरकारसँग निरन्तर समन्वय गरिरहेको पाठकले बताए ।

परराष्ट्रमन्त्री राणाले बिहीबार नेपाली राजदूतहरूसँग गरेको भिडियो बैठकका क्रममा इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले विपिनको रिहाइ हुनेमा आशावादी रहेको जवाफ दिएका थिए । एक सहभागी राजदूतका अनुसार पण्डितको भनाइ थियो, ‘सकभर आइतबार नै विपीन रिहा हुन्छन्, यदि त्यसो हुन सकेन भने १६औँ दिनमा उनी रिहा हुने पक्का छ । इजरायल सरकारका तर्फबाट पनि यो जानकारी प्राप्त भएको छ ।’ 

२० असोज ०८० मा हमास समूहले इजरायल प्रवेश गरेर अन्धाधुन्ध गोली चलाउँदा १० नेपाली विद्यार्थीको निधन भएको थियो । अन्य चारजना घाइते थिए । स्वदेश फर्केका विद्यार्थीले जोशीलाई आक्रमणकारी समूहले नियन्त्रणमा लिएर गएको बताएका थिए । इजरायली भूमिमा आक्रमण गरी प्यालेस्टाइनी हमास समूहले १० नेपालीसहित हजारभन्दा बढी व्यक्तिको हत्या गरेका थिए । हमासको आक्रमणमा परी कैलालीका नारायणप्रसाद न्यौपाने र आशिष चौधरी, दार्चुलाका लोकेन्द्रसिंह धामी र दीपेशराज विष्ट, बझाङका गणेशकुमार नेपाली, डोटीका राजन फुलारा र पदम थापा, सल्यानका प्रवेश भण्डारी, धनुषाका आनन्द साह र सुनसरीका राजेशकुमार स्वर्णकारको मृत्यु भएको थियो ।