१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २५ मंगलबार
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ मङ्सिर २५ मंगलबार o७:४o:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अमेरिकी सहयोगलाई अझ  बढाउन अर्थमन्त्रीको आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ मङ्सिर २५ मंगलबार o७:४o:oo

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा अमेरिकी सहयोगलाई अझ बढाउन अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलाई आग्रह गरेका छन् । अर्थ मन्त्रालयमा सोमबार भएको भेटवार्तामा उनले नेपालमा राजनीतिक स्थायित्व भइसकेकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको उल्लेख गर्दै त्यसका लागि नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न आग्रह गरे ।  

अर्थमन्त्री र दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री लुबिचको भेटवार्तामा आर्थिक सहयोग, एमसिसी र युएसएआइडीअन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानीलगायतका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । अमेरिकी सहायक विदेशमन्त्री लुले दक्षिण एसियाका केही देश आर्थिक रूपमा समस्यामा परे पनि नेपाल आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सफल भएको भन्दै खुसी व्यक्त गरे । उनले अमेरिका आगामी दिनमा नेपालमा थप आर्थिक सहयोग गर्ने पक्षमा रहेको जानकारी गराए ।

महिलाको आर्थिक सुरक्षासम्बन्धी परियोजनाको थालनी
युएसएडको सहायतामा सञ्चालन हुने ‘हिमालय क्षेत्रका महिलाको आर्थिक सुरक्षासम्बन्धी ग्रिन एलयान्स’ परियोजना सुरु भएको छ । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र इसिमोडाका निर्देशक डा. पेमा ज्यम्त्सोले कार्यक्रमको औपचारिक सुरुवात गरेका हुन् ।

यसले हिन्दुकुश हिमालय क्षेत्रका महिला उद्यमीहरूका लागि एक क्षेत्रीय मञ्च पनि स्थापना गर्नेछ, जहाँ उनीहरूले ज्ञान आदान–प्रदान र उत्कृष्ट अभ्यास साझेदारी गर्नेछन् । त्यस्तै, लैंगिक भेदभाव, बजार पहुँच र वित्तीय अवरोधजस्ता प्रमुख चुनौतीको सामना गर्न सक्षम हुनेछन् । सरकार, नागरिक समाज, निजी क्षेत्र र शिक्षाविद्लाई एकसाथ ल्याएर सो परियोजनाले दिगो व्यवसायलाई प्रवर्द्धन गर्ने र लैंगिक समानतालाई अगाडि बढाउने लक्ष्य राखिएको छ ।

अमेरिकी सहायकमन्त्रीको नेपाल भ्रमण सकियो
दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमण पूरा भएको काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ । भ्रमणका क्रममा लुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा–माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतसँग शिष्टाचार भेट गरे । लुको भ्रमणले अमेरिका–नेपाल साझेदारीलाई सुदृढ तुल्याउँदै दिगो विकास, लैंगिक समानता र सामुदायिक सशक्तीकरणलगायतका प्रमुख क्षेत्रहरूमा निरन्तर सहकार्य र प्रगतिका लागि बाटो बनाएको काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।