
सार्वजनिक ऋणको भारबाट तत्काल अतालिनुपर्ने अवस्था नरहेको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित विकास साझेदारहरूसँगको बैठकमा अर्थमन्त्री पौडेलले दुई ठुला राजनीतिक दल मिलेर सरकार बनेपछि मुलुकमा राजनीतिक र नीतिगत स्थायित्व कायम हुँदै गएकाले अब सरकारको ध्यान आर्थिक विकासमा केन्द्रित भएको बताएका हुन् । अर्थमन्त्री पौडेलले विकास साझेदारहरूको निरन्तर सहयोग र साझेदारीमा आर्थिक विकासलाई अघि बढाउने जानकारी गराए ।
क्रेडिट रेटिङको नतिजाले लगानीका लागि नेपाल अनुकूल अवस्थामा रहेको देखाएको उल्लेख गर्दै अर्थमन्त्रीले निजी क्षेत्र र लगानीकर्ताको मनोबल बढाउनुका साथै बाह्य लगानी वृद्धि हुने विश्वास व्यक्त गरे ।
‘सरकार गठन भएसँगै मुलुकका प्रमुख आर्थिक सूचकमा सुधार हुँदै गएको छ । मुलुकको बाह्य क्षेत्र सन्तुलन र वित्तीय क्षेत्रको अवस्था अनुकूल अवस्थामा छ । चालू वर्षमा आर्थिक वृद्धिमा निरन्तर सुधार हुने अनुमान गरिएको छ, जुन यहाँहरूले गर्नुभएका कतिपय प्रक्षेपणले पनि उल्लेख गरेको छ,’ विकास साझेदारलाई सम्बोधन गर्दै उनले भने ।
नयाँ विकास सहायता परिचालन नीतिको मस्यौदा र सार्वजनिक क्षेत्रमा नवीन वित्त परिचालनसम्बन्धी नयाँ कानुन बनाउने प्रक्रिया अघि बढेको जानकारी दिँदै अर्थमन्त्री पौडेलले रचनात्मक सुझाव दिन विकास साझेदारहरूलाई अनुरोध गरे ।
कार्यक्रममा विकास साझेदारका प्रतिनिधिले नेपालको आर्थिक विकासमा थप सहयोग गर्न आफूहरू तयार रहेको बताए ।