
भर्खरै युवा वयमा प्रवेश गर्दै गरेको चितुवाको एक बच्चा पहिलोपटक एक्लै सिकारमा निस्कियो । बाटामा उसलाई एउटा हाइनाले रोक्दै सोध्यो– ओई फुच्चे, एक्लै कता जाँदै छस् हँ तँ ? चितुवाले रोमाञ्चित हुँदै भन्यो– म आज पहिलोपटक आफैँ सिकार गर्न हिँडेको हुँ, काका !
चितुवाको जवाफ सुनेर हाँस्दै हाइनाले भन्यो– राम्ररी दुधे दाँत छिप्पिसकेको छैन । आमाको काखमा लुटपुटिँदै खेल्ने उमेर छ । सिकारको कुनै अनुभव छैन । अनि, तैँले कसरी सिकार गर्न सक्छस् हँ फुच्चे ? हाइनाको हप्काइले चितुवाको उत्साह एकाएक सेलायो । ऊ निराश भयो । दिनभर सिकारको खोजीमा यताउता घुम्दै बस्यो । सिकारका लागि एक–दुई प्रयास नगरेको पनि होइन, तर ऊ सफल भएन । त्यसैले, साँझ भोकै पेट घर फर्कियो । दोस्रो बिहान ऊ फेरि सिकारका लागि निस्कियो ।
केही पर पुग्दा नपुग्दै उसलाई एउटा बुढो बाँदरले देख्यो र मायालु पारामा सोध्यो– कता जाँदै छौ भान्जा ? चितुवाले उत्साहित हुँदै जवाफ दियो– म सिकार गर्न जाँदै छु, बाँदर मामा ! बाँदरले भन्यो– धेरै राम्रो विचार ! तिम्रो तागत र गतिका कारण तिमी एक कुशल सिकारी बन्न सक्छौ । जाऊ, तिमीलाई शीघ्र सफलता प्राप्त हुनेछ । बुढो बाँदरका शब्दले चितुवामा एकाएक उत्साह भरियो । ऊ सरासर जंगलको भित्री भागतिर लम्कियो । नभन्दै केहीबेरमै ऊ एउटा ससानो हरिणको सिकार गर्न सफल भयो ।