यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सर भएका बिरामीको प्रकार परीक्षण सुरु गरिएको छ । यसअघि नमुना बाहिर पठाइँदै आएकोमा उपकरण खरिद गरेर यहीँ परीक्षण सुरु गरिएको हो । अस्पतालका उपनिर्देशक डा. उमेश नेपालका अनुसार रक्त क्यान्सरका प्रकार परीक्षण गर्ने फ्लो साइटोमेट्री सेवा सुरु गरिएको हो । यसका लागि आवश्यक पर्ने उपकरण रु. एक करोड ५० लाखमा खरिद गरेर जनशक्तिलाई तालिम दिएपछि सेवा सुरु गरिएको हो ।
उनका अनुसार एकजना डाक्टर र एकजना प्राविधिकलाई भारतको टाटा मेमोरियल क्यान्सर अस्पतालमा तालिमका लागि पठाइएको थियो। तालिमप्राप्त जनशक्ति र उपकरण आएसँगै सेवा सुरु गरिएको उनले जानकारी दिए। अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार यसअघि यो परीक्षण धेरै भारत पठाउने गरिन्थ्यो । केही नमुना काठमाडौं जाने गर्दथ्यो। नतिजा आउन १५ दिनभन्दा बढी समय लाग्ने गरेकोमा अहिले पाँच दिनमा नतिजा आउने गरेको उहाँले जानकारी दिए । बाहिर पठाउँदा रु. ३० हजारभन्दा बढी खर्च हुने गरेकोमा यहाँ परीक्षण हुँदा १२ हजार रुपैयाँ मात्रै लाग्ने गर्दछ । अस्पतालमा रक्त क्यान्सरका बिरामी धेरै नै हुने भएकाले बिरामीलाई सहज भएको छ ।
उनले भने, ‘छिटो रोग पहिचान गर्न पनि सहज भएको छ।’ कार्यकारी निर्देशक डा. पौडेलले अस्पतालका सेवा विस्तार गर्ने कार्यमा आफू लागिरहेको बताए।अस्पतालमा थन्किएर बसेको सिटिस्क्यान मर्मत गरेर सञ्चालनमा ल्याइएको छ भने लामो समयदेखि रोकिएको मेमोग्राम सेवा छिट्टै सञ्चालनमा ल्याइँदै छ ।