मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २३ शुक्रबार
  • Saturday, 14 December, 2024
नयाँ पत्रिका
२o८१ कार्तिक २३ शुक्रबार o७:५२:oo
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

ट्रम्पको जितलाई किन बेवास्ता गर्दै छन् पुटिन ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ कार्तिक २३ शुक्रबार o७:५२:oo

सन् २०१६ मा ट्रम्पलाई जितका लागि बधाई दिने पहिलो विश्वनेता थिए पुटिन । तर, यसपटक फ्रान्सेली राष्ट्रपति म्याक्रोँदेखि चिनियाँ राष्ट्रपति सी जिनपिङसम्मका विश्वनेताले ट्रम्पलाई बधाई दिइसक्दा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जाँगर देखाएका छैनन् । 

सन् २०१६ को चुनाव जितेर डोनाल्ड ट्रम्पले पहिलोपटक संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पद ग्रहण गर्दा मस्कोमा अर्बपतिबाट राजनीतिज्ञ बनेका ट्रम्पप्रति रुसी चासो मित्रवत् हुने आशा थियो । तर, अहिले मस्कोले ठ्याक्कै त्यस्तो अपेक्षा गरेको छैन । क्रेमलिनले ट्रम्पको पक्षमा चुनावमा प्रभाव पार्ने प्रयास गरेको आरोपबिच उनका सहयोगीले मस्कोविरुद्ध प्रतिबन्ध तीव्र पारे र जेभलिन मिसाइलका साथ युक्रेनको रक्षात्मक क्षमता बढाए ।

आठ वर्षपछि ट्रम्पले यस हप्ता उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरेर राष्ट्रपतिको दौडमा विजय हासिल गरेपछि पनि क्रेमलिन अहिलेसम्म मौन छ । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँ र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुदेखि नाटो प्रमुख मार्क रुटे र चिनियाँ राष्ट्रपति सी जिनपिङसम्म विश्वनेताले ट्रम्पलाई बधाई दिएका छन् । तर, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बधाई दिने जाँगर देखाएनन् । रुसको यो रबैया सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनको नतिजाविपरीत छ । त्यतिवेला पुटिन ट्रम्पलाई उनको चुनावी जितका लागि बधाई दिने पहिलो विश्वनेता बनेका थिए ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बुधबार बिहान पत्रकारलाई भने, ‘हामी एक अमित्र देशका बारेमा कुरा गरिरहेका छौँ, जुन हाम्रो राज्यविरुद्धको युद्धमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्न छ भन्ने कुरा नबिर्सनुहोस् ।’ पेस्कोभले पुटिनले ट्रम्पलाई बधाई दिने कुनै योजना नभएको बताए । निकट भविष्यमा रुसी प्रशासन क्रेमलिनले कसरी प्रतिक्रिया जनाउँछ भनेर हेर्न पनि बाँकी नै छ ।

‘एकपटक अमेरिकी राष्ट्रपतिको कार्यालय ओभल अफिसमा कथनहरूले कहिलेकाहीँ फरक टोन लिन सक्छन् । यसैले हामी भन्छौँ कि हामी सबै कुरा होसियारीपूर्वक विश्लेषण गर्दै छौँ । सबै कुराको अनुगमन गर्दै छौँ र हामी निश्चित शब्द र ठोस कार्यबाट निष्कर्ष निकाल्नेछौँ,’ पेस्कोभले भने । यसको विपरीत युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले तुरुन्तै ट्रम्पलाई ‘प्रभावशाली’ विजयका लागि बधाई दिए ।

मस्कोस्थित सेन्टर फर इन्टरनेसनल इन्टरेक्सन एन्ड को–अपरेसनका संस्थापक तथा डिगोरिया एक्सपर्ट क्लबका सदस्य एलेक्सी मालिनिनका अनुसार ट्रम्पको जित अमेरिकी मतदाताले विश्व राजनीतिभन्दा घरेलु समस्या समाधानमा बढी चासो राखेको प्रमाण हो । ‘तर, अवश्य पनि कसैले पनि ट्रम्पले विदेश नीतिका मुद्दा त्यागेको आशा गर्दैन,’ मालिनिनले अल जजिरालाई भने, ‘ट्रम्पले पहिले नै घोषणा गरिसकेका छन् कि उनको कार्यकालमा कुनै युद्ध हुनेछैन । यसबाट एउटा निष्कर्ष निकाल्न सकिन्छ कि उनले युक्रेन र मध्यपूर्वमा द्वन्द्व अन्त्य गर्ने योजना बनाएका छन् ।’

तथापि, मालिनिनले कंग्रेसमा रिपब्लिकनको बहुमत भए पनि ट्रम्प वासिंटनको विदेश नीतिको दिशामा कत्तिको परिवर्तन गर्न सक्षम हुन सक्छन् भन्ने कुरामा जोड दिए । अमेरिकी सिनेटमा रिपब्लिकनले पुनः नियन्त्रण हासिल गरिसकेका छन्, तर तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ ( प्रतिनिधिसभा) को नतिजा अझै निर्णायक मानिन्छ । ‘मेरो विचारमा अहिले नै खुसी भइहाल्नु पक्कै पनि धेरै हतार हुनेछ,’ मालिनिनले भने ।

उनका अनुसार ट्रम्प एक्लैले र उनको प्रयासले मात्र युक्रेनमा युद्ध अन्त्य गर्न असम्भव छ । ‘रुसको कुनै पनि दबाबमा युद्ध अन्त्य गर्न सम्भव छैन र हामीलाई स्वीकार्य अवस्था अमेरिकी र युरोपमा युक्रेनका प्रायोजकलाई उपयुक्त नहुन सक्छ । उनीहरूले भन्नेछन्, ‘यति धेरै पैसा खर्च भइसकेको छ । के यो साँच्चै सबै व्यर्थ हो ?’ गाजा र लेबनानमा इजरायलको युद्धमा अझ बलियो बनाएर ट्रम्पले मध्यपूर्वमा शान्ति कायम गर्न सक्षम होलान् भन्नेबारे पनि उनले आशंका व्यक्त गरेका छन् ।

विश्लेषकको भनाइमा क्रेमलिनले युक्रेनलाई हतियार र आर्थिक सहयोग जारी राख्ने अपेक्षा गरिएको ह्यारिसको अधीनमा भन्दा ट्रम्पसँग अलि बढी लचिलोपनको आनन्द लिन सक्छ । ह्यारिसले आफू राष्ट्रपतिमा निर्वाचित भएमा युक्रेनलाई हतियार र आर्थिक सहयोग दिने प्रतिबद्धता जनाएकी थिइन् । अर्थात्, उनले रुसविरुद्ध युक्रेनलाई सहयोगको निरन्तरता दिने अठोट गरेकी थिइन् । यस हिसाबले उनको पराजयले मस्कोलाई केही हाइसन्चो भएको छ ।

‘ट्रम्पको एउटा गुण छ, जुन हाम्रा लागि उपयोगी छ, मुख्य रूपमा एक व्यापारीको रूपमा उनले मूर्ख सहयोगीमा, मूर्ख परोपकारी परियोजनामा र लोभी अन्तर्राष्ट्रिय संस्थामा पैसा खर्च गर्न मन पराउँदैनन्,’ आक्रामक मानिने पूर्वराष्ट्रपति दिमित्री मेदभेदेवले टेलिग्राममा लेखे । ‘विषाक्त युक्रेन त्यही पंक्तिमा उभिएको छ । प्रश्न यो छ कि उनीहरूले ट्रम्पलाई युद्धका लागि कति दिन बाध्य पार्छन् भन्ने हो । ट्रम्प जिद्दीवाल छन् तर प्रणाली बलियो छ ।’

मेदभेदेवले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीसँग गठबन्धन गरेका र अहिले युक्रेनमा नायक भएका युक्रेनी अतिराष्ट्रवादी स्टेपान बान्डेरालाई उल्लेख गर्दै थिए । राजनीतिक सल्लाहकार इल्या गाम्बासिडजेले मेदवेदेवको भनाइलाई प्रतिध्वनि गर्दै राष्ट्रपति निर्वाचित ‘उत्कृष्ट’ व्यापारीलाई युद्धमा भन्दा व्यापारमा चासो बढी भएको बताए ।

‘धेरै मानिसले ट्रम्प रुस समर्थक राष्ट्रपति वा पुटिनका साथी पनि भन्छन्,’ गाम्बासिद्जेले अल जजिरालाई भने, ‘तर हामीलाई त्यो भूमिकामा उनको आवश्यकता छैन । हामी उनी रुसको मित्र हुने आशा गर्दैनौँ ।’

अलजजिराबाट