१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १६:३o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अछाममा भेटियो भुतेनी झरना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:३o:oo

अछाम जिल्लाको पूर्वी क्षेत्रमा अवस्थित ढकारी गाउँपालिकाको दाउनामोरामा भुतेनी झरना वर्षौँदेखि आफ्नो सौन्दर्यता शालिनतापूर्वक प्रदर्शन गरिरहेको छ। तर, यो झरनाबारे अहिलेसम्म कसैलाई जानकारी छैन। ढकारी गाउँपालिकाको वडा नम्बर ३ र ४ स्थित मध्य भागको खोचमा मण्डपमा सजाइएकी दुलहीझै मुस्कुराउँदै झरिरहेको भुतेनी झरना करिब दुई सय मिटरको उचाइमा देखिन्छ। जसको अध्ययनका लागि गाउँपालिकाले विस्तृत रूपमा योजना निर्माण गर्ने तयारी गरिरहेको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदले बताए। ‘यो झरना खोचमा लुकेको रहेछ,’ उनले भने, ‘यहाँ छ भन्ने भर्खरै पत्ता लाग्यो। अब हामी तत्कालै यसको व्यवस्थापनमा लाग्छौँ।’ 

झरनाको विकासका लागि कार्यपालिकाबाट आवश्यक बजेट छुट्याएर डिपिआर तयार गरिने उनले बताए। यसको प्रचारप्रसारमा समेत विशेष जोड दिइने अध्यक्ष साउदको भनाइ छ। झरना भेटिएपछि पहिलोपटक गाउँपालिकाले स्थलगत अवलोकन गरेर यसबारे स्थानीयसँग सोधपुछ गरेको छ। स्थानीयका अनुसार त्यहाँ भुतेनी झरनासँगै ठुलो चट्टानको बिचमा पोखरी, अचम्म ढंगले सानो ढुंगामाथि अडिएको विशाल ठुलो पत्थर र वन मान्छेको बस्ने ओडार पनि छ। 

स्थानीय अगुवा प्रेमबहादुर साउदका अनुसार यी सबै कुराको प्रचार गर्न सके गाउँ प्रवेशको मूल ढोकामै रहेको झरनाको विकास हुनेछ। भुतेनी झरनाको सिरानमा दाउनामोरा आउजाउ गर्ने मुख्य बाटो छ। जहाँबाट भर्खरै सडकको ट्र्याक खोलिएको छ। त्यही बाटो छेउछाउ रातको समयमा घोडा, चिल र मान्छे आकारको लटाधारी जीवजन्तु देखिने गरेका कारण यो झरनालाई भुतेनी झरना भन्ने गरिएको स्थानीय बलबहादुर साउदले बताए।

अघिल्लो पुस्ताले भुतेनी छडा (झरना) नाम दिए पनि यो ठाउँ भगवानको बासस्थान हुन सक्ने जनविश्वास रहेको उनको भनाइ छ। यो झरनादेखि माथिबाट बगेर आउने लामो खोला छैन। झरनाको सिरानदेखि करिब २/३ सय मिटरको दूरीमा पानीको सानो मुहान छ। तर, झरनासम्म पुग्दा त्यो पानी बढेर अचम्म ढंगले ठुलो देखिन्छ। वडा नम्बर ४ का वडाध्यक्ष पहलवान थापाका अनुसार यसलाई व्यवस्थापन गर्न सके अझै भुतेनी झरनालाई ठुलो आकार दिन सकिनेछ।

भुतेनी झरनादेखि करिब तीन सय मिटर तल ठुलो तलाउ छ भने झरनादेखि १५ सय मिटर हाराहारीको दूरीमा खोल्सामाथि ढुंगाले बनेको पुल छ। जुन पुललाई भुतले आफ्नो विवाहमा निर्माण गरेको भन्ने स्थानीय बुढापाकाहरूको बुझाइ छ। योसँगै दाउनामोरा गाउँदेखि डेढ घण्टाको दूरीमा रहेको स्याङ्ला वनमा वन मान्छे बस्ने गरेको ठुलो ओडार पनि छ। झरनासँगै यी सबै कुराको अध्ययनका लागि गाउँपालिकाले विशेष योजना निर्माण गर्ने तयारी गरिरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नवीन रिमालले बताए। त्यसका लागि मंसिर पहिलो सातादेखि नै काम थालिने उनले बताए।