१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format o९:o४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा अध्यक्ष दाहाल र थाई सिनेट अध्यक्ष सुरसज्जाबिच भेटवार्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:o४:oo

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र थाइल्यान्डको सिनेटका अध्यक्ष मोङकोल सुरसज्जाबिच द्विपक्षीय भेटवार्ता भएको छ। अन्तरव्यवस्थापिका संघको महासभामा सहभागी हुन जेनेभा आएका सुरसज्जासहितको थाई संसदीय टोली र दाहाल नेतृत्वको नेपाली संसदीय टोलीबिच भेटवार्ता भएको हो।भेटवार्तामा दुई देशबिचको सम्बन्ध, आपसी हितका साथै आगामी दिनमा गर्न सकिने सहकार्य र सहयोगबारे छलफल भएको थियो।

सो अवसरमा राष्ट्रिय सभा अध्यक्ष दाहालले नेपाल र थाइल्यान्डबिचको कूटनीतिक सम्बन्ध मैत्रीपूर्ण रहेको चर्चा गर्दै लुम्बिनी, गौतम बुद्ध र बौद्धधर्मले नेपाल र थाइल्यान्डका जनताबिच बलियो सम्बन्ध सेतुको काम गरेको बताए । थाई पर्यटकका लागि भगवान् बुद्धको जन्मस्थल लुम्बिनी महत्त्वपूर्ण धार्मिक एवं पर्यटकीय गन्तव्यका रूपमा रहेको बताउँदै अध्यक्ष दाहालले थाई सरकारले लुम्बिनी पवित्र बगैँचामा थाई शैलीको बिहार निर्माण गरेर थाई पर्यटकलाई नेपाल भित्र्याउन थप मद्दत गरेकोमा खुसी व्यक्त गरे । 

दुवै देशका नागरिक बर्सेनि पर्यटकको रूपमा आउने–जाने गरिरहेको भन्दै उनले उच्च शिक्षा, बौद्धधर्मसम्बन्धी अध्ययन, लगानी, व्यापार, पर्यटनलगायतका माध्यमबाट नेपाल–थाइल्यान्डबिच जनस्तरको सम्बन्ध प्रगाढ हुँदै गइरहेको बताए ।
आफूहरूले नेपाल–थाइल्यान्ड संसदीय मैत्री समूह गठन गरेको बताउँदै अध्यक्ष दाहालले मैत्री समूहमार्फत दुई देशका संसद्ले संसदीय अभ्यास, कानुन निर्माण, अनुभव आदान–प्रदान गरी लाभान्वित हुने विश्वास व्यक्त गरे । 

साझा सरोकार र आपसी हितका विषयहरूमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा दुवै देश आपसी सहयोग र सहकार्य गर्दै आएको चर्चा गर्दै अध्यक्ष दाहालले दुई देशबिचको सांस्कृतिक सम्बन्धका साथै आपसी हितका सबै आयामहरूमा थप सहकार्य गर्दै अघि बढ्नु आवश्यक रहेको बताए । 

सो अवसरमा थाइल्यान्ड सिनेटका अध्यक्ष सुरसज्जाले नेपाली संसदीय टोलीसँगको भेट र सम्मानले आफूलाई निकै खुसी लागेको भन्दै यस किसिमको भेटघाट र छलफलले द्विपक्षीय सम्बन्ध बढाउन सहयोग पुग्ने बताए । बहुसंख्यक थाई जनताले बौद्ध धर्म मान्ने गरेको उल्लेख गर्दै अध्यक्ष सुरसज्जाले बुद्ध जन्मभूमि नेपाल आफ्नो पनि सपनाको गन्तव्य भएको बताए । 

नेपालको हस्पिटालिटीमा थाइल्यान्डबाट भएको लगानीले रोजगारी सिर्जनामा राम्रो सहयोग भइरहेको भन्दै उनले आगामी दिनमा पनि दुवै देशको हितमा आर्थिक विकासका कामहरू गर्न सकिने बताए । थाई पर्यटकहरूका लागि बुद्ध जन्मभूमि लुम्बिनी निकै महत्त्वपूर्ण पर्यटकीय स्थल भएको बताउँदै सुरसज्जाले लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आए थाई पर्यटकलाई धेरै सहज हुने बताए ।