मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:१२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छ : अध्यक्ष दाहाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:१२:oo

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले विज्ञान प्रविधि र नवप्रवर्तनको विकासले मानव जीवनलाई सहज र गतिशील तुल्याउन विभिन्न अवसर प्रदान गरिरहेको बताएका छन् ।अन्तर–व्यवस्थापिका संघको १४९औँ महासभालाई सोमबार स्विट्जरल्यान्डको जेनेभामा सम्बोधन गर्दै उनले सबै नागरिकको प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुने गरी कानुन निर्माण र प्रभावकारी कार्यान्वयनमा जोड दिएको संसद् सचिवालयले जनाएको छ । अध्यक्ष दाहालले यसले सन् २०१५ मा लागू गरिएको दिगो विकासका लक्ष्य हासिल गर्न रूपान्तरणकारी क्षमतासमेत राख्ने धारणा व्यक्त गरे। 

सूचना प्रविधिको  क्षमता विकास र पहुँचमा देशभित्र र देशहरूबिच ठुलो अन्तर रहेको बताउँदै उनले भने, ‘अझै पनि साढे दुई अर्बभन्दा बढी मानिसको सूचनामा पहुँच छैन । तसर्थ हामी एकजुट भई चुनौतीको सामना गर्न र विज्ञान प्रविधि र नवप्रवर्तनका उपलब्धिमा सबैको समान पहुँच सुनिश्चित गर्न आवश्यक छ।’

उनले विज्ञान प्रविधिको विकास र प्रयोगलाई मानव समुदायका हितमा सदुपयोग तथा यसबाट सिर्जना हुन सक्ने गोपनीयता भंग, साइबर सुरक्षा, नकारात्मक सामग्रीको प्रचारजस्ता जोखिम र चुनौतीलाई सामना गर्न कानुन निर्माण तथा सरकारका कामको अनुगमन गर्ने संवैधानिक जिम्मेवारीमा रहेका विश्वका व्यवस्थापिकाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए। 

अध्यक्ष दाहालले विज्ञान प्रविधि र नवप्रवर्तनका क्षेत्रमा अनुसन्धान, विकास, स्रोत परिचालन र युवाको सहभागिता बढाउन अन्तर्राष्ट्रिय सहयोग र सहकार्यको वातावरण सिर्जना गर्न तथा यसको आवश्यक नियमन गर्दै विश्वका सबै प्रविधिमा समान पहुँच स्थापित गर्न जरुरी रहेको धारणा व्यक्त गरे। 

विकास र विकसित देशहरूबिचको विज्ञान र प्रविधिका क्षेत्रमा देखिएको खाडल पुर्न व्यवस्थापिकाहरूबिच नीति–निर्माण र कार्यान्वयन तथा उत्कृष्ट अभ्यास आदान–प्रदान गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले संघले आफ्नो कार्ययोजनामा ‘एआई’लाई समेट्नुका साथै विज्ञान र प्रविधिसम्बन्धी कार्य समूह गठन गरी यसको सदुपयोगसम्बन्धी आचारसंहिता निर्माणको प्रयास गर्ने कार्य प्रशंसनीय रहेको बताए। 

अध्यक्ष दाहालले भने, ‘जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, भूराजनीतिक तनाव, गरिबी, असमानतालगायतका प्रमुख चुनौतीको सामनाका लागि विचार–विमर्श र योगदान गर्न अन्तर्राष्ट्रिय व्यवस्थापिका संघ एक महत्त्वपूर्ण मञ्चका रूपमा रहिआएको छ। ’