अमेरिकी वैज्ञानिकद्वय डेभिड बेकर र जोन जम्पर तथा बेलायती डेमिस हसाबिसलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ । आर्टिफिसियल इन्टेलिजेन्स(एआई)को प्रयोग गरेर प्रोटिनको संरचनाको पूर्वानुमान गर्न सफल भएकोमा रसायनशास्त्री बेकर, जम्पर र हसाबिसलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको हो । बेकरले ‘कम्प्युटेसनल प्रोटिन डिजाइनका लागि’ पुरस्कारको आधा रकम पाउनेछन् भने हसाबिस र जम्परलाई ‘प्रोटिन स्ट्रक्चर प्रिडिक्सनका लागि’ बाँकी आधा रकम पुरस्कार दिइएको छ ।
यसअघि यस वर्ष चिकित्साशास्त्र तथा भौतिकशास्त्रका विजेता घोषणा भइसकका छन् । चिकित्साशास्त्र विधामा अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रभ्कनले ‘माइक्रोआरएनए’को आविष्कार र आनुवंशिक प्रणालीको नियमनमा त्यसको भूमिकाका लागि पुरस्कार घोषणा गरिएको छ ।
त्यसैगरी, भौतिक शास्त्रतर्फको पुरस्कार ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’सम्बन्धी अनुसन्धानका लागि अमेरिकी वैज्ञानिक जोन जे हप्फिल्ड र ब्रिटिस क्यानडेली कम्युटर वैज्ञानिक जेफ्री इ हिन्टनले पाउने भएका छन् । अब बिहीबार साहित्य, शुक्रबार शान्ति र आगामी साता सोमबार अर्थशास्त्रतर्फको पुरस्कार विजेता घोषणा गरिनेछ ।