१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format o८:४o:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गण्डकीमा व्यवसाय जीवन रक्षाकोष : एक हजार ६३८ व्यवसायीले लिए एक अर्ब ८१ करोड निर्ब्याजी कर्जा सुविधा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:४o:oo

गण्डकी प्रदेश सरकारले सञ्चालनमा ल्याएको व्यवसाय जीवन रक्षाकोषमार्फत एक हजार ६ सय ३८ जना व्यवसायीले सुविधा लिएका छन् । कोरोनाबाट प्रभावित कृषि उद्यम, उत्पादनमूलक उद्योग तथा पर्यटनलगायतका सेवामूलक व्यवसायलाई जोगाउन निर्ब्याजी सुलभ कर्जा उपलब्ध गराउन प्रदेश सरकारले ०७७ सालमा कोष स्थापना गरेको हो ।

कर्जा कार्यक्रम कार्यान्वयन गर्न प्रदेश सरकारले व्यवसाय जीवन रक्षाकोष (सञ्चालन) कार्यविधि, २०७७ तयार गरी राष्ट्र बैंक, पोखरामार्फत कार्यान्वयन गर्ने गरी ६ माघ ०७७ मा सम्झौता गरेको थियो । सम्झौताअनुसार राष्ट्र बैंकलाई कर्जा प्रवाहका लागि बैंक तथा वित्तीय संस्थाहरूसँग सम्झौता गर्ने, सम्झौताबमोजिम कर्जा प्रवाहको अनुगमन तथा सुपरिवेक्षण गर्ने र बैंकहरूलाई त्रैमासिक रूपमा ब्याज अनुदान भुक्तानी गर्ने अधिकार दिइएको थियो । कर्जा प्रवाह गर्न राष्ट्र बैंकसँग १८ वाणिज्य बैंक तथा नौ विकास बैंकले सम्झौता गरेको थियो । विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबिच भएको मर्जरपश्चात् १५ वाणिज्य बैंक तथा चार विकास बैंकले कर्जा प्रवाह गरेका छन् । फागुन ०७७ बाट कार्यान्वयनमा आएको कोषको अवधि आउँदो मंसिर मसान्तसम्म रहेको छ । 

कोषमार्फत चार क्षेत्र विभाजन गरी तीन वर्षका लागि ५० हजारदेखि १५ लाखसम्म कर्जा उपलब्ध गराइएको थियो । जसअन्तर्गत लघु घरेलु तथा साना उद्यम तथा साना पर्यटन व्यवसायतर्फ एक लाखदेखि १५ लाखसम्म, साना यातायात व्यवसायतर्फ ५० हजारदेखि १० लाखसम्म र साना सेवा व्यवसायतर्फ ५० हजारदेखि १० लाखसम्म कर्जा उपलब्ध गराइएको थियो । 

राष्ट्र बैंक पोखराकी निर्देशक विना ढकाल पौडेलका अनुसार कोषमार्फत एक हजार ६ सय ३८ व्यवसायीले कर्जा सुविधा लिएका छन् । कोष सञ्चालनमा आएदेखि लगानी भएको कर्जाको ब्याजबापत प्रदेश सरकारले नेपाल राष्ट्र बैंकमार्फत बैंक तथा वित्तीय संस्थाहरूलाई गत चैत मसान्तसम्म ३२ करोड ४१ लाख ५४ हजार चार सय ५१ रुपैयाँ ब्याजबापत शोधभर्ना गरेको छ । यसैगरी कर्जा सुरक्षण शुल्कबापत दुई लाख ३६ हजार तीन सय ७७ रुपैयाँ शोधभर्ना गरेको छ ।

पर्यटन व्यवसायीलाई धेरै सुविधा  
बैंकहरूको आह्वानपछि व्यवसायीबाट प्राप्त आवेदनअनुसार सम्झौता भएका बैंकहरूबाट आठ अर्ब ४१ करोडको कर्जाको प्रस्ताव प्राप्त भएको थियो । राष्ट्र बैंकले पाँच अर्ब २१ करोड कर्जा स्वीकृत गरेकोमा बैंकहरूले एक अर्ब ८१ करोड लगानी गरेका थिए । 

जसअनुसार सबैभन्दा धेरै साना पर्यटनतर्फ ६६२ व्यवसायीले ८१ करोड २६ लाख २५ हजार, लघु, घरेलु तथा साना उद्यमतर्फ पाँच सय ७४ व्यवसायीले ६५ करोड ५१ लाख ८५ हजार, साना सेवातर्फ दुई सय ७१ व्यवसायीले २५ करोड एक लाख ३० हजार र साना यातायाततर्फ एक सय ३१ जना व्यवसायीले नौ करोड ५० लाख ३३ हजार ६ सय ७४ रुपैयाँ कर्जा लगेका छन् । लगानी गरिएको कुल रकममध्ये चैत ०८० सम्म एक अर्ब ५० करोड असुल भएको छ । दुई सय ५१ ऋणीहरूले पूर्ण रूपमा कर्जा चुक्ता गरिसकेका र एक हजार तीन सय ८७ ऋणीहरूको ३१ करोड ८८ लाख कर्जा बक्यौता रहेको निर्देशक पौडेलले जानकारी दिइन् ।