१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format o८:o१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बिपी राजमार्गको तीन ठाउँबाट डाइभर्सन सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:o१:oo

- बुधबारदेखि थप दुई स्थानबाट काम सुरु गर्ने सडक डिभिजन कार्यालय भक्तपुरको भनाइ
- राजमार्ग नियमित गर्न १५ दिनभन्दा बढी लाग्ने

अविरल वर्षापछि आएको बाढीपहिरोले क्षतविक्षत् बनेको बिपी राजमार्गको विभिन्न खण्डमा मंगलबारबाट डाइभर्सन सुरु भएको छ । राजमार्ग नियमित सञ्चालन गर्न बाढीले बगाएर पहिरोले पुरेको स्थानमा डाइभर्सन सुरु भएको हो । 

सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर दुर्गाप्रसादका अनुसार बिपी राजमार्ग सञ्चालन गर्नका लागि तीन ठाउँबाट काम भइरहेको छ । राजमार्गको चौकीडाँडामा दुईवटा हेभी इक्विपमेन्ट प्रयोग भएको छ भने डालाबेँसीमा एउटा र सिन्धुली–काभ्रेको सीमा माम्तीमा दुईवटा मेसिनबाट डाइभर्सनका लागि काम सुरु गरेको इजिनियर प्रसादले जानकारी दिए ।

दाप्चा एक नम्बर पुलमा दुई सय ५० मिटर सडक भत्किएकोमा त्यसलाई बनाएर सडक सञ्चालन भइसकेको उनले जानकारी दिए । यसपछि चौकीडाँडामा रोसीखोला र चरंगेफेदी दोभानबाट पारी मेसिन तारेर डाइभर्सनको काम भइरहेको उनले बताए । ‘हामीले बिपी राजमार्ग सञ्चालनका लागि डाइभर्सनसम्बन्धी काम सुरु गरिसकेका छौँ । चौकीडाँडाबाट, डालाबेँसीबाट र माम्तीबाट काम सुरु गरेका छौँ ।’ सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर प्रसादले भने । 

बिपी राजमार्गको डालाबेँसीमा करिब पाँच सय मिटर सडक बगाएको छ । त्यहाँ पनि सोमबार दिउँसोबाट डाइभर्सनसम्बन्धी काम सुरु भइसकेको छ । डालाबेँसीमा खटिएका सडक डिभिजन कार्यालय भक्तपुरका कर्मचारी चन्द्रबहादुर लामाका अनुसार सोमबार दिउँसोबाट दुईवटा मेसिनले सडक डाइभर्सन गरिरहेका छन् । सडक जतिसक्दो छिटो सञ्चालन गर्ने गरी दिनरात लागिपरेको लामाले जानकारी दिए । मंगलबार बेलुकी ८ बजेसम्ममा करिब आठ सय मिटरजति सडक डाइभर्सन गरेको उनको भनाइ छ ।

बिपी राजमार्गको कहाँ–कहाँ क्षति ?
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बिपी राजमार्ग दाप्चा एक नम्बर पुलदेखि माम्तीसम्म १० ठाउँमा करिब तीन किलोमिटर सडक बगाएको छ । दाप्चा एक नम्बर पुलमा २५० मिटर, चौकीडाँडामा १०० मिटर, रोसीपुलमा १०० मिटर, चार सय बेँसीमा ५० मिटर, नार्के बजारमा १५० मिटर, दाउन्नेमा १०० मिटर, चिउरीवासमा ३०० मिटर, कालढुंगामा ५०० मिटर, डाँलाबेँसीमा ५०० मिटर र माम्तीमा १०० मिटर सडक बगाएको जिल्ला प्रहरीले जानकारी दिएका छन् । बुधबारदेखि पाँच ठाउँबाट काम सुरु गर्ने इन्जिनियर दुर्गा प्रसादले जानकारी दिए । थप कालढुंगा र रोसीपुलबाट पनि सुरु गर्ने तयारी भएको उनको भनाइ छ । बिपी राजमार्ग नियमित गर्न १५ दिनभन्दा बढी लाग्ने सडक डिभिजन कार्यालय भक्तपुरले जानकारी दिए ।